एसियाली विकास बैंक (एडिबी) ले रूपन्देहीका पाँच वटा नगरपालिकालाई पूर्वाधार निर्माण तथा विस्तारका लागि पहिलो चरणमा १५ अर्ब बढी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।
एडिबीले सात वटा पालिकामा ३१ अर्ब बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने गरी नेपाल सरकारसँग सम्झौता गरेको छ। यीमध्ये रूपन्देहीका मात्रै पाँच वटा पालिका छन्।
रूपन्देहीका सैनामैना, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा, देवदह र सिद्धार्थनगर नगरपालिकालाई सहुलियतपूर्ण ऋणका लागि सम्झौता गरेको हो।
यस्तै एडिबीले पोखरा महानगरपालिका र जनकपुर उपमहानगरपालिकालाई पनि पूर्वाधार विकास र विस्तारका लागि अनुदान सहायता तथा ऋणका लागि सम्झौता गरेको छ।
बिहीबार सिंहदरबारमा सातवटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले अर्थ मन्त्रालयका सचिव डा.कृष्ण हरि पुस्कर र एडिबीका कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइचले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
उक्त ऋण अनुदानबाट ठूला सडक निर्माण तथा पर्यटन प्रवर्द्धनका आयोजना संचालन हुनेछन्।
यसमा सरकारमार्फत ७५ प्रतिशत एडिबीको ऋण अनुदान, नगर विकास कोषबाट १८ प्रतिशत ऋण र नगरपालिका कार्यालयको आन्तिरक स्रोतबाट ७ प्रतिशत लगानी रहनेछ।
पहिलो चरणमा सम्झौता गरिएको बजेटबाट आयोजनाको काम पुरा गरेपछि दोस्रो चरणमा पनि सोही बराबरका आयोजनाहरू थप गरिने एडिबीले नगरपालिकाहरूसँग प्रतिबद्धता जनाएको छ।
जसअनुसार तिलोत्तमा नगरपालिकाले ३ अर्ब २५ करोड रुपैयाँ बराबरका योजनाका लागि सम्झौता भएको छ। नगरप्रमुख रामकृष्ण खाणका अनुसार एडिबीबाट प्राप्त बजेटबाट ठूला चारवटा योजना संचालन हुनेछन्।
तिलोत्तमाको वडा नम्बर १७ मा पाँच बिघा क्षेत्रफलमा बहुउद्देश्यीय सुविधायुक्त र आधुनिक चिस्यान केन्द्र, पत्थरडाँडा-तिनाउँ सडक, ड्राइभरटोल-शिवपुर सडक र मधौलिया बिहुली बरौलिया डाँडा हुँदै चिस्यान केन्द्र जोड्ने सडक निर्माण गरिने नगरप्रमुख खाणले जानकारी दिए।
त्यस्तै सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नगरपालिकालाई पहिलो चरणमा साढे २ अर्ब बराबर अनुदान र सहुलियत ऋण उपलब्ध हुने र उक्त रकमबाट फोर लेनको १४ किलोमिटर चक्रपथ निर्माण गरिने बताए।
देवदहका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले कुल ६ अर्ब रुपैयाँ उपलब्ध गराउने भएपनि पहिलो चरणमा ३ अर्ब रुपैयाँका आयोजनाको लागि सम्झौता गरिएको जानकारी दिए।
सापकोटाका अनुसार देवदहको भलुही भाटाटोल हुँदै मुखिया टोल र देवदह ४ सिगाहा हुँदै नगरपालिका कार्यालय जाने सडक, वन चौकीदेखि मायादेवी पार्क हुँदै बुद्ध सर्किट जोड्ने सडक, बुधबारे हाटबजारदेखि तिलोत्तमाको बनाह जाने सडक र सित्तलनगर भवानीपर हुँदै सोइया जाने सडक निर्माण हुने छन्।
त्यसैगरी सिद्धार्थनगर नगरपालिकाले पनि २५ किलोमिटर बढी नाला सहितको सडक निर्माण र डण्डा नदीलाई करिडोरको रूपमा विकास गर्न सम्झौता गरेको छ। सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालका अनुसार फुटपाथ, नाला, साइकल लेन, सडक निर्माण र डण्डा नदीलाई करिडोरको रूपमा विकास गरिनेछ।
नगरपालिकाका उपप्रमुख उमा अधिकारीले पहिलो चरणमा एडिबीबाट प्राप्त हुने साढे तीन करोड अनुदान र सहुलियत पूर्ण ऋणबाट हरियाली पार्क र खुला ठाउँसहित सार्वजनिक क्षेत्रसमेत सौन्दर्यीकरण गर्दै डण्डा नदीको किनारमा पूर्वाधार निर्माण गरिने जानकारी दिइन्।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि ग्लोबल पार्क, प्रशासनिक भवन, बसपार्क र सडक निर्माणसँगै ताल सौन्दर्यीकरणको लागि सम्झौता गरेको छ। यहाँ पनि पहिलो चरणमा तीन अर्ब भन्दा बढी रकम उपलब्ध गराउने छ।