चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक लगानी बढेको देखिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि मंसिर महिनासम्म करिब चार अर्ब रूपैयाँ (तीन अर्ब ९२ करोड) को वैदेशिक लगानी नेपाल भित्रिएको छ।
गत वर्षको पहिलो पाँच महिनासम्म ६० करोड रूपैयाँ बराबरको वैदेशिक लगानी धनात्मक रहेको तथ्यांक राष्ट्र बैंकसँग छ। यो सोही वर्ष आएको लगानीबाट फिर्ता भएको लगानीबाट घटाएपछिको तथ्यांक हो।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर भने १७.२ प्रतिशतले कमी आई दुई अर्ब ८७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड भएको थियो।
चालु वर्षमा वैदेशिक लगानीको प्रतिवद्धता र लगानी आप्रवाह दुवैमा सुधार आएको देखिएको छ।