नेपालको धेरै जनसंख्या कहाँ बस्छ? कतिलाई सहरमा भन्ने लाग्छ र कतिलाई गाउँमा।
विगतका जनगणनामा ग्रामीण जनसंख्या र सहरी जनसंख्या गरी विभाजन गर्ने गरेकोमा जनगणना २०७८ ले यसरी विभाजन गरेको थिएन। यस कारण ग्रामीण वा सहरी जनसंख्या कति हो, आधिकारिक तथ्यांक प्रस्तुत गरिएन।
स्थानीय तहको पुनर्संरचना अनुसार महानगर र उपमहानगरसहित २९३ नगरपालिकामा बस्ने जनसंख्यालाई सहरी क्षेत्रको जनसंख्या र ४६० गाउँपालिकामा बस्ने जनसंख्यालाई ग्रामीण जनसंख्याको रूपमा व्याख्या गरिएको थियो।
जसअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये ६६.१७ प्रतिशत जनसंख्या नगरपालिकामा र ३३.८३ प्रतिशत जनसंख्या गाउँपालिकामा बस्ने गरेका थिए।
अब भने राष्ट्रिय तथ्यांक कार्यालयले सहरी, अर्धसहरी वा सहरउन्मुख र ग्रामीण जनसंख्या गरेर तीन भागमा विभाजन गरेको छ। कार्यालयको तथ्यांक अनुसार सहरी क्षेत्रको जनसंख्या २७.७ प्रतिशत, सहरोन्मुख क्षेत्रको ३९.७५ र ग्रामीण क्षेत्रको ३३.१९ प्रतिशत छ।
पछिल्लो दस वर्षमा ग्रामीण क्षेत्रको जनसंख्या करिब ५.१३ प्रतिशतले घट्दा सहरोन्मुख क्षेत्रको ०.५६ प्रतिशत र सहरी क्षेत्रको जनसंख्या ४.७६ प्रतिशतले बढेको देखिएको छ।
महानगर, उपमहानगर तथा नगरपालिकाभित्र पनि ग्रामीण चरित्रका बस्ती प्रशस्त मात्रामा रहेका तथा गाउँपालिकाका बजार तथा केन्द्रहरू स–साना सहरका रूपमा विस्तार हुँदै गइरहेको परिप्रेक्ष्यमा नयाँ ढंगले जनसंख्यालाई विभाजन गरिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
नेपालमा मात्रै नभई विश्वका अन्य देशहरूमा पनि यसरी नै जनसंख्या विभाजन गर्न सुरू गरिएको तथ्यांक कार्यालयका अधिकारीहरूले बताएका छन्।
'नयाँ विभाजन अनुसार अब महानगरपालिकाभित्र पनि गाउँ भेटिन्छ र गाउँपालिकाभित्र पनि सहर भेटिन्छ, यसले सरकारी योजना निर्माणमा सहयोग पुर्याउने छ,' तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले सेतोपाटीसँग भने।
कार्यालयले संयुक्त राष्ट्र संघीय तथ्यांक आयोगको बैठकले अनुमोदन गरेको विधिमा रहेर यसरी जनसंख्या सहरी, सहरोन्मुख र ग्रामीण क्षेत्रको जनसंख्या विभाजन गरेको कार्यालयले जनाएको छ। २०७८ सालको जनगणनालाई आधार लिएर सरोकारवालाहरूसँगको छलफल तथा राय सुझावका आधारमा विभाजन गरिएको उल्लेख गरिएको छ।
भौगोलिक क्षेत्रका आधारमा ग्रामीण जनसंख्या पहाडमा ६६ प्रतिशत र हिमालमा १६ प्रतिशत देखाइएको छ।
सहरोन्मुख जनसंख्या तराई क्षेत्रमा ८५ प्रतिशत, पहाडमा ५३ प्रतिशत र तराईमा ३९ प्रतिशत छ। पहाडमा नै ५३ प्रतिशत सहरोन्मुख देखिनुको कारण काठमाडौं महानगर र पोखरा महानगरपालिकाको जनसंख्यालाई देखाइएको छ।
स्थानीय तह अनुसारको वर्गीकरणमा गाउँपालिकाको दुई हजार ४१२ वडाहरूमा ५८ प्रतिशतमात्रै ग्रामीण क्षेत्रमा देखिएका छन्। जबकि यसअघि सबै जनसंख्या ग्रामीण जनसंख्यामा गणना गरिएको थियो। ३६.१ प्रतिशत सहरोन्मुख र ५.९ प्रतिशत सहरी क्षेत्रमा देखिएको छ।
त्यस्तै नगरपालिकाको जनसंख्यामध्ये २८.४ प्रतिशत सहरी क्षेत्र, ४६ प्रतिशत सहरोन्मुख र २५.४ प्रतिशत सहरी क्षेत्रको जनसंख्या देखिएको छ।
उपमहानगरपालिकाको जनसंख्यामध्ये ३९ प्रतिशत सहरोन्मुख र ५३ प्रतिशत सहरी जनसंख्या देखिएको छ।
महानगरपालिकाको जनसंख्यामा २.३ प्रतिशत ग्रामीण, १७ प्रतिशत सहरोन्मुख र ८०.७ प्रतिशत सहरी जनसंख्या देखाएको छ।
यो तथ्यांकले नगरपालिका भए पनि बसोबास क्षेत्रको मुख्य विशेषता सहरोन्मुख र उल्लेख्य जनसंख्या ग्रामीण परिदृश्यमा देखिएको तथ्यांक कार्यालयले औंल्याएको छ। यसले धेरै जनसंख्या पूर्ण सहरी विकासको प्रतीक्षामा रहेको देखिएको छ।