मेडिकल व्यवसायी दुर्गा प्रसाईंले 'नागरिक मुक्ति' का नाममा बिहीबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन्।
बैंक तथा लघुवित्तका ऋण मिनाहा गरिदिने आश्वासन दिँदै प्रसाईंले देशका विभिन्न क्षेत्रका मानिसहरूलाई काठमाडौं ल्याएका छन्।
२० लाख रूपैयाँभन्दा सानो सबै ऋण माफ गर्नुपर्ने उनको माग छ। प्रसाईं आफैंले गत चैतदेखि बैंकको साँवा-ब्याज तिरेका छैनन्। प्रसाईंले आठ वटा बैंकबाट साढे पाँच अर्ब रूपैयाँभन्दा धेरै ऋण लिएका छन्। सो ऋणको साँवा-ब्याज बुझाउन गाह्रो परेदेखि उनी सडकमा उत्रिन थालेका हुन्। उनले समयमै ऋण तिर्न नसकेका ऋणीहरूलाई आकर्षक नारा दिएर आफ्नो अभियानमा तानेका छन्।
बिहीबार यो अभियानमा सहभागी हुन आएकाहरूलाई सेतोपाटी बिजनेस टिमले उनीहरू आन्दोलनमा सहभागी हुन किन आए, कहाँबाट आए, उनीहरूका व्यक्तिगत समस्या के हुन्, उनीहरूले ऋण किन लिएका थिए र किन तिर्न सकेनन्? लगायत प्रश्न सोधेको छ।
हेर्नुस् उनीहरूको जवाफ जस्ताको तस्तै:
१. अनुराग सिंह, सर्लाही जिल्ला (हाल ललितपुर)
म राष्ट्रवादी नागरिक हो। राष्ट्रको हित हुन्छ भनेर म यो आन्दोलनमा आएको हुँ। ऋण मिनाहा गर्नुपर्छ, ब्याज मिनाहा गर्नुपर्छ भन्ने मेरो कुनै माग छैन। ऋण लिएपछि तिर्नुपर्छ। म आफैं व्यवसायी पनि हो। मैले मोबिल डिलर चलाएको छ। तर आफ्नै पुँजीमा छ। बैंक ऋण छैन। दुर्गा प्रसाईंले राष्ट्रको हितमा आन्दोलन भन्नुभएको छ। त्यसैको समर्थनमा आएको हुँ।
२. फूलकुमारी देवीदास, पर्सा
म लघुवित्तबाट लिएको ऋण माफी हुन्छ भनेर आन्दोलनमा आएकी हुँ। हुने हो कि होइन थाहा छैन। साथीहरूले हुन्छ भनेका छन्। 'मेरो छिमेकी' लघुवित्तमा ऋण छ मेरो। समयमा किस्ता तिर्न सकिएन। त्यसपछि ब्याजको स्याज समेत गणना गरेर फेरि साँवा बढाएको छ। अरू मागको विषयमा मलाई केही थाहा छैन। ऋण माफ हुन्छ आन्दोलनमा जानुपर्छ भनेर आएको हो।
३. सविता खातुन, बारा
दुर्गा प्रसाईंले आयोजना गरेको आन्दोलमा आएकी हुँ। यो आन्दोलनमा आएपछि ऋण माफी हुन्छ भनेका छन्। 'मेरो छिमेकी' र 'डिप्रोक्स लघुवित्त' बाट मैले ऋण लिएको छु। लकडाउनको बेला ऋण लिएको हो। ६०/७० हजार ऋण छ। तिर्न नसकिने भएकोले माफी हुन्छ भनेर आएको हो। यो ऋण मैले लकडाउनको बेला लिएकी थिएँ।
४. सहव जान, बारा
म राजावादी मान्छे हुँ। राजा आओस् देश बचाओस् भनेर आएको हुँ। दुर्गा प्रसाईंले उठाएको सबै माग ठिक छन्। उहाँलाई साथ दिनुपर्छ भनेर आन्दोलनमा आएको हुँ। दुर्गा प्रसाईंले लिएको ऋण पनि मिनाहा गरिदिन्छु भन्नुभएको छ। मेरो ऋण त छैन। मेरा छिमेकको ऋण छ। लघुवित्तले गाउँलेलाई अन्याय गरेको छ। पाँच लाख रुपैयाँ ऋण दिने सम्झौता गरेर चार लाख १० हजार मात्रै दिइएको छ। त्यसको पनि महँगो ब्याज लिइएको छ। देश बचाउन र जनता बचाउनको लागि यो आन्दोलनमा आएको हुँ। यहाँ नेताका मान्छे जे गल्ती गरे पनि हुन्छ। देशमा अनुशासन नै छैन। राजा आउनुहुन्छ। सबै ठिक हुन्छ। त्यसैले आन्दोलनमा आएको हो।
५. भक्तबहादुर तामाङ, रामेछाप
यो आन्दोलनमा जानुपर्छ भन्ने भएर आएको हुँ। के-के माग छ भन्ने मलाई थाहा छैन। मैले ऋण लिएको पनि छैन। ब्याज मिनाहा पनि खोजेको होइन। साथीहरूले जाऊँ भन्नुभयो, त्यसैले आएको हो।
६. कृष्णहरि घिमिरे, काभ्रे
म कृषि व्यवसायी हुँ। यो आन्दोलनबाट जनताले सुविधा पाउँछ, किसानलाई राहत हुन्छ भनेर आएको हुँ। अहिले बैंकको ऋणको ब्याज कृषि व्यवसाय गर्छु। दुर्गा प्रसाईंले ब्याज मिनाहा, सहुलियत ब्याजका कुरा पनि उठाउनु भएको छ। मैले पनि एनआइसी बैंकबाट ऋण लिएको छु।
'कृषि कर्जा लिएको हो?'
-होइन यहाँ फटाहा छन्। टाठा बाठाले मात्रै सहुलियत कृषि कर्जा पाउँछन्। कृषि कर्जा लिँदा योजना माग्छ, कृषि फर्म हेर्छ। मैले त्यसैले व्यक्तिगत कर्जा लिएको हुँ। एनआइसी बैंकबाट एक करोड ऋण लिएको छ। त्यस पहिले सांग्रिला बैंकबाट ऋण लिएको थिएँ। एनआइसी बैंकबाट लिएको ऋणबाट त्यो तिरियो। पहिलो लघुवित्तबाट लिएको ऋण सांग्रिलाबाट लिएर तिरिएको थियो।
किसानलाई सहुलियत ब्याज चाहिन्छ। त्यसैले दुर्गा प्रसाईंको आन्दोलन ठिक छ।
७. जालासा खातुन, वीरगञ्ज
सरहरूले हाम्रो किस्ता माफ गर्ने भन्नुभएको छ। सात लाखभन्दा थोरै भएको सबै ऋणले माफ पाउने भन्नुभएको छ। मैले डिप्रोक्स, निर्धन, सारथी लघुवित्त (हाल विजय लघुवित्त) बाट ऋण लिएको हो। हामीले ऋण लकडाउनको समयमा लिएको हो। पुरानो ऋणलाई ब्याज जोडेर ब्याज गणना गर्छ। ऋण तिर्न गाह्रो भयो। कमाउने मान्छे छैन किस्ता तिर्न बीचमा सकिएन। मान्छेको ऋण थियो त्यो तिर्यो। अहिले लघुवित्तमा ऋण छ।
८. प्रतिज्ञा केसी, वर्ष २९, कीर्तिपुर
देशमा राजा ल्याउन आन्दोलनमा आएकी हुँ। हामीलाई राजा चाहिन्छ। म आन्दोलनमा आउनुको मुख्य कारण त्यही नै हो। राजा पहिला पनि हुनुहुन्थ्यो। अहिले पनि हुनुहुन्छ। पार्टीहरूका लागि मात्र त हो नि राजा नभएको। हामीलाई गणतन्त्र चाहिएन, किनकि गरिब गरिब नै भइराख्यो, धनी धनी नै। पार्टीहरू मिलेर आफूआफू खाए। पार्टीका नजिकका मान्छेलाई मात्रै फाइदा भयो। पहुँचवालाको मात्रै काम हुने भयो। हामी अहिले पनि अरूकै अधिनमा बाँच्नुपर्ने जस्तो भयो। खै के छ त हामी पहुँच नहुनेलाई? आफूले लिएको ऋण नै मिनाहा गरिदिनुपर्छ भन्ने चाहिँ मेरो विचार होइन, लिएको ऋण त तिर्नुपर्छ। तर राजा ल्याउनुपर्छ भनेर मात्रै आएकी हुँ।
९. गगन शाही, वर्ष २८, मुगु
मुगुबाट आएको एक हप्ता भयो। अरू काम पनि थियो। यही बेला आन्दोलनको कार्यक्रम पनि भयो। उनी दुर्गा प्रसाईंको आन्दोलनमा मिसिए। चित्त नबुझेको कुरामा सपोर्ट गरौं भनेर आएको। सबै कुरामा मेरो पनि सहमति छैन। राजा ल्याउने विषयमा म सहमत छैन। हाम्रो लागि गणतन्त्र नै ठीक छ। तर नेतृत्वमा राम्रो मान्छे भएर हामीले दुःख पाइरहेका छौं। नेताका आफ्ना मान्छेहरूले मात्रै अवसर पाउँछन्। हामीले अवसर पाउन सकेका छैनौं। देशमा केही गर्छु भन्नेलाई कतैबाट सपोर्ट छैन। अनुदान, ऋण माग्यो भने कसैले पत्याउँदैन। म रत्नपार्कमा होटल चलाउँछु। व्यवसाय विस्तारका लागि मैले अनुदानका लागि कति ठाउँ गुहारें। कति ठाउँमा प्रपोजल लगेर छाडेको छु। तर कसैले पत्याउँदैन। म त आन्दोलनमा आएपछि सजिलै ऋण पाइन्छ कि भनेर आएको। लिएको ऋण मिनाहा हुन्छ भन्ने कुरा पनि छ। मैले त ऋण नै पाएको छैन।
१०. रामकुमारी यादव, वर्ष ४०, धनुषा
रामकुमारी यादव दुर्गा प्रसाईंको आन्दोलनका लागि बुधबार बेलुका धनुषाबाट काठमाडौं आइपुगेकी छन्। प्रसाईंले आन्दोलन गरेर देशमा राजा ल्याउने भनेकाले आफू घरको काम छाडेरै आन्दोलनका लागि आएको उनले बताइन्।
‘हामीलाई राजा चाहिएको छ। देशमा राजा ल्याउनुपर्छ भनेर हामी आएका हौं,’ उनले भनिन्।
दुर्गा प्रसाईंको आन्दोनलका लागि धनुषाबाट आएकी ४५ वर्षीया चन्द्रकला महतो सानेपामा भेटिइन्। उनीसँग धनुषाबाट अरू पनि थुप्रै आएका थिए। प्रसाईं पक्षले के के माग राखेर आन्दोलन गरिएको विषयमा उनी जानकार थिइनन्। देशमा राजा आउनुपर्छ भन्ने उनको आवाज थियो।
११. आशिष कार्की, वर्ष ३७, सिन्धुली
देश बचाऊ अभियानमा आएको हुँ। कसैले ललाइफकाइ गरेर आएको होइन। यो देशप्रति मेरो पनि कर्तव्यबोध भएर स्वत:स्फूर्त आएको हुँ। दुर्गा प्रसाईंको अभियान राम्रो छ। देशमा युवाहरूलाई बाँच्ने अवस्था रहेनछ। गणतन्त्रले के गर्यो। अब राजसंस्था चाहिन्छ। अब यो देशको रक्षाको लागि राजा चाहिन्छ। भन्छन्,‘राजा आऊ, देश बचाऊ।’
१२. विनोद हुमागाईं, ५६ वर्ष, काभ्रे
म भारतमा आइटी कम्पनीमा काम गर्छु। मेरो परिवार नै यता छ। भारतबाट फर्किएको थिएँ। दुर्गा प्रसाईंको आन्दोलन रहेछ। प्रसाईंका एजेन्डाहरू मन पर्यो त्यही भएर सपोर्ट गर्न म पनि आएको हुँ।
म कुनै पार्टीमा आबद्ध छैन। तर अहिले गणतन्त्र आएदेखिको राजनीति हेर्दा पनि खै त हामीले के पायौं त? केही पाएनौं। राजाले केही गरेन अब गणतन्त्र आएपछि त केही होला कि भनेको केही गर्न सकेनन्। अझ हामीमाथि ऋण थापिँदै गयो। हामी युवाहरू कामका लागि विदेशै जानुपर्ने बाध्यता भयो। देशमै केही गर्छुभन्दा कसले पत्याउँछ हामीलाई? कसैले ऋण पनि पत्याउँदैन। पत्याइहाले पनि डुबियो भने कसले बेहोर्छ?
१३. सागर घिमिरे, ३२ वर्ष, हरिसिद्धि ललितपुर
मलाई दुर्गा प्रसाईंका केही कुराहरू मन परेर आन्दोलनमा आएको हुँ। अब यो देशका युवाहरू बाहिर जाने नफर्कने, देशमा भ्रष्टाचारीहरू मात्रै बस्ने, विकास नगर्ने अवस्था दिग्दार छ। म पनि खानेपानी व्यवसाय गर्छु। हरेक ठाउँमा समस्या छ। हामीले राज्यलाई कर तिरेर काम गर्दा पनि सजिलो छैन। व्यवस्थापन केही छैन। प्रशासनदेखि लिएर हरेक क्षेत्रमा दुःख मात्रै छ। केही काम गराउनका लागि घुस नै दिनुपर्ने अवस्था छ। दुर्गा प्रसाईंले उठाइरहेको ऋण मिनाहा नै हुनुपर्छ भन्ने कुरा चाहिँ असम्भव हो। जायज पनि होइन। हामीले वर्षौं लडेर ल्याएको गणतन्त्रको विरोध गरेर राजा चाहिन्छ भन्नु पनि गलत हो। राजतन्त्रभन्दा गणतन्त्र ठिक हो। तर व्यवस्था परिवर्तन हुनुपर्यो। जनतालाई सहज हुनुपर्यो भन्ने कुरामा चाहिँ म सहमत छु।
१४. गोरखकुमार श्रेष्ठ, ३० वर्ष, सिन्धुली
गाडी चलाउने काम गर्छु। तर नियमित तलब पाइँदैन। काम गरेर परिवार पाल्न पनि धौधौ छ। म त विदेशिने तरखर गर्दैछु। रातदिन नभनि मरीमरी काम गर्दा पनि खानै नपुग्ने अवस्था आउँछ अनि कसरी यो देशमा बस्न सकिन्छ र? गाउँ रित्तिँदो छ। बुढाबुढी र केटाकेटी मात्रै छन्। हामी युवा देशमा टिक्नसक्ने वातावरण हुनुपर्यो भन्ने हो। म पहिला राजा हुँदा सानै थिएँ। मलाई राजतन्त्रको अनुभव छैन। तर राजा भयो भने एक जना मात्रै हुन्छ खाने। बाँकी पैसाले त देश विकास हुन्छ कि! हामी विदेश जान पर्दैन कि भन्ने हो। त्यही भएर म सिन्धुलीदेखि आन्दोलनमा आएको हुँ।
१५. राजु तिमल्सिना, ललितपुर हरिसिद्धि
राजनीतिक हिसाबमा कसैलाई समर्थन गरेर आन्दोलनमा आएको होइन। भ्रष्टाचार र बेथितिको विरूद्धमा आएको हो। दुर्गा प्रसाईंले नागरिकले चाहेको कुरा बोलेको भएर बल्खुमा आएको। हामी युवाले यहाँ काम नपाउने भएका छौं। विदेश गएपछि फर्कन सक्ने अवस्था छैन। यहाँ मैले सानो फर्निचर व्यवसाय गरेको छु, तर यसको भविष्य छैन। यो देशको विकास गरेर भावी सन्ततिलाई यहीँ रोजगारी दिलाउन हाम्रो समर्थन छ।
विदेशीहरू नेपालमा विकास गर्ने ठाउँ धेरै भन्छन् तर हाम्रो नेताहरू देश विकासमा ध्यान नै दिँदैनन्। खाली आफ्नो कुर्सी जोगाउन व्यस्त छन्। अब यसरी देश चल्दैन। ऋण मिनाहा गर्ने कुरामा मेरो सहमत छैन। ब्याजदर स्थिर हुनुपर्छ भन्ने हो। राजसंस्थामा पनि मेरो समर्थन होइन। व्यवस्था जुनसुकै भए पनि देशको अवस्था फेर्नुपर्छ। हाम्रो आन्दोलन देशको अवस्था फेर्न हो।
१६. राम सुन्दर कार्की, गोदावरी
आज म एमाले, माओवादी, कांग्रेस, दुर्गा प्रसाईं वा महेश बस्नेत कुनैको पनि समर्थन गरेर आएको होइन। नेपाली जनतालाई पीडा परेको छ। तीन दलले गरेको कार्यको विरोधमा निस्किएको हो। जनतालाई शिक्षा, स्वास्थ्यमा खेलवाड गरिएको छ। गणतन्त्र आए पनि हामी रोजगारीविहीन भएका छौं। हाम्रा बाल बच्चा दिनहुँ विदेश पलायन हुनुपर्ने बाध्यता छ।
अहिलेको नेतृत्वकर्तामा अनुशासन छैन। देश बचाउने हो भने राजसंस्था चाहिन्छ। राजा भनेको राजा नै हो। हामीले त यी नेताहरूलाई नै राजा मानेका थियौं तर राक्षस बनेर निस्किए।
१७. सालमा खातुन, बारा–कलैया
ऋण मिनाहा गरिदिन्छ भनेर जुलुसमा आएको हुँ। गाउँका मान्छेहरूसँग हामी आजै बिहान आएको। १० वर्ष अघि सहकारीबाट चार लाख लिएको। हामीले एक लाख तिरिसक्यौं। अब तीन लाख तिर्न बाँकी छ। ब्याज महिनामा एक हजार तिर्नुपर्छ। कमाएको पैसा ऋण तिर्दै ठिक छ। ऋण मिनाहा भयो भने हामीलाई सजिलो हुन्छ।