बुटवलको सुप्रिम सहकारीले बचतकर्ताको १ अर्ब बढी रकम ठगेको भन्दै प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा निवेदन परेको छ।
निवेदनमा सहकारी संस्थाका संचालक र पदाधिकारीलाई नियमानुसार कारबाहीको माग गरिएको छ। सुप्रिम सहकारी संस्थाले एकै जना बचतकर्ताको साढे तीन करोड रूपैयाँसम्म ठगी गरेको उजुरी परेको कार्यालयले जनाएको छ। सहकारी संस्थाबाट बचतकर्ताको एक अर्बभन्दा बढी निक्षेप जोखिममा परेको भन्दै रकम फिर्ताको माग राख्दै सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका देउखुरीमा उजुरी परेको हो।
सुप्रिम सहकारी संस्थाका दुई सयभन्दा बढी सदस्यले आफूहरूको एक अर्ब बढी बचत रकम ठगी गरेको भन्दै उजुरी दिएको लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार भिमप्रसाद तिवारीले जानकारी दिए।
‘एउटै सदस्यको साढे तीन करोडसम्म ठगी गरेको उजुरी परेको छ, सहकारीले एक अर्ब बढी ठगी गरेको भन्दै दुई सयभन्दा बढी व्यक्तिले उजुरी दिनुभएको छ,’ तिवारीले भने।
बचतकर्ताको रकम जोखिममा परेपछि प्रदेशका अधिकांश सहकारी संस्थामा आफैं पुगेर सुधार गर्न निर्देशन दिएपनि सहकारी संस्थाका संचालक र व्यवस्थापकहरूले बेवास्ता गरेपछि झनै समस्यामा परेको तिवारीले बताए।
‘गत वर्षदेखि नै सहकारीहरू संकटमा पर्न थालेको थाहा पाएपछि धेरैजसोको कार्यालयमा म आफैं पुगेर सुधार गर्न निर्देशन दिएको छु तर सञ्चालक र व्यवस्थापकहरू सम्पर्कमा आएर सुधार गर्नुको सट्टा भाग्ने काम गर्नुभयो,’ उनी भन्छन्।
बचतकर्ताले रकम झिक्न नपाएपछि सुप्रिमसँगै बुटवलका अन्य केही सहकारीहरू संकटमा परेको गत वर्षको असारदेखि नै गाईंगुईं चल्न थालेको थियो।
बुटवलमा सहकारी स्थापना गरेर काठमाडौंमा कारोबार गर्ने मिटरब्याजीहरूलाई लगानी गर्दै आएका सहकारीहरू संकटग्रस्त हुँदै गएका थिए। सरकारले मिटरब्याजीलाई कारबाही गर्न थालेपछि समस्याग्रस्त देखिन थालेका थिए।
बचतकर्ताको रकम फिर्ता गर्न नसकेको र कार्यालय बन्द गर्ने अवस्थामा पुगेको सूचना पाए लगत्तै जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ र राष्ट्रिय सहकारी बैंकले समन्वय गरी ऋण सहयोग गरेर सुप्रिम लगायतका सहकारीलाई प्राणदान दिएको थियो।
त्यसपछि सुप्रिमले ५ लाख जम्मा गरेका बचतकर्तालाई ५ हजार रुपैयाँ दिएर थामथुम पारेको थियो। तर उसले आफूलाई सुधार्नेतर्फ भने प्रयत्नै गरेन।
कार्यालय बुटवलमा रहेपनि सुप्रिम सहकारीका अधिकांश लगानीकर्ता बुटवल बाहिरका थिए। सहकारीका संस्थापक अध्यक्ष डिबी राई हुन्। हर्वो नेचर नामक नेटवर्किङ शैलीको व्यवसायका सञ्चालक राई अहिले संरक्षक छन्। सहकारीका सचिव पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन हुन्।
प्रदेश सहकारी रजिष्ट्रार तिवारीका अनुसार पछिल्लो एक वर्ष यता लुम्बिनी प्रदेशका एक दर्जन बढी सहकारीविरूद्ध बचतकर्ताले ताला लगाउने र प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा उजुरी दिने गरेका छन्।
संकटग्रस्त देखिएका धेरै जसो रूपन्देहीका सहकारी छन्। सुप्रिमसँगै शाईन, सुनौलो, सार्थक, आयाम, आगन्तुक, उपदेश, उपकार, जनप्रिय, सुसन्देश, शुभश्री लगायतका सहकारी ऐन विपरित मर्ज हुन खोजेपछि संघले बचतकर्ताहरूको समस्या सम्बोधन गरेर मात्र मर्ज हुन निर्देशन दिएको थियो।
गएको मंसिर यता बुटवलमा केन्द्रीय कार्यालय रहेका सुनौलो बहुउदेश्यीय, श्री लुम्बिनी, उपकार, आगन्तुक, विश्व विराट, आगमन, पारदर्शी, सुनौलो, शाईन बहुउदेश्यीय बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेर भाग्ने सहकारी मध्येमा पर्छन्। बचतकर्ताहरू ती सहकारीका अध्यक्ष लगायत सञ्चालक समितिको खोजीमा कहिले प्रहरी कार्यालय, कहिले जिल्ला प्रशासन कार्यालय त कहिले सहकारी रजिष्ट्रारको कार्यालयमा धाइरहेका छन्।
उजुरी परेका सहकारी सञ्चालकलाई बोलाएर छिटोभन्दा छिटो समस्या समाधान गर्न भन्दै कागज गरेर पठाए पनि अधिकांशले बेवास्ता गर्ने गरेको तिवारीले बताए।
‘कार्यालयमा उजुरी आएका सहकारीका संचालक र व्यवस्थपाकलाई बोलाएर छिटो संकट समाधान गर्न आग्रह गरी कागजै गराएर पठाउने गरिएको छ। शाईन सहकारीले त कारोबार सुधार गर्दै लगेको पनि छ,’ तिवारीले भने, 'तर धेरैजसोले बेवास्ता गर्ने गरेका छन्।'
अहिले सम्पर्कमा नरहेका सहकारी सञ्चालकलाई पक्राउ गर्न प्रशासनमा पनि आग्रह गरिएको उनले बताए।
यति धेरै सहकारीमा समस्या आउँदा पनि सरकार सर्वसाधारणको रकम फिर्ता दिलाउन उदासीन देखिएको सहकारी संघका केन्द्रीय सदस्य सन्दीप सापकोटाको गुनासो छ। अहिले एक पालिका कार्यक्षेत्र भएका सहकारी स्थानीय तह मातहत, एकभन्दा बढी पालिका कार्यक्षेत्र भएकाहरू प्रदेश सरकार र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएका संस्था सहकारी विभाग मातहत छन्। ५० करोडभन्दा बढी बचत रहेका सहकारीलाई पनि विभागले नियमन गर्ने व्यवस्था छ।
गरिब किसानको आर्थिक हैसियत सुधार गर्न सुरूआत गरिएको सहकारी सिमिति व्यक्तिको लुट्ने साधन बन्दै जानु दुःखद भएको तिवारी बताउँछन्। उनका अनुसार अधिकांश सहकारी संचालकको मनोमानीले समस्यामा पुगेका छन्। उत्पादनमुलक क्षेत्रमा भन्दै एकलौटी घरजग्गामा लगानी गर्दा सहकारीहरू डुब्ने गरेका छन्।
समस्यामा परेका सहकारीहरूको अनुगमन गरी फरारहरूको खोजी र पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको उनले बताए।
‘सत्यदीप, सार्थक, आगन्तुक लगायत सहकारीको कार्यालयमा म आफैं पुगेर बचतकर्ताको भुक्तानीका लागि पहल थालेको थिएँ,’ तिवारीले भने, ‘सहकारीमाथि प्रदेशलाई पूर्ण अधिकार नहुँदा एक्लैले केही एक्सन लिन सकिँदैन, केन्द्रबाटै समस्याग्रस्त सहकारी घोषणा गरी अगाडि बढनुपर्ने देखिन्छ,’ तिवारी भन्छन्।
प्रदेश सरकारी रजिष्ट्रार तिवारीका अनुसार लुम्बिनी प्रदेशमा ४ हजार ६ सय सहकारी छन्। तीमध्ये सातसय ८७ वटा सहकारी लुम्बिनी प्रदेशको कार्यक्षेत्र भित्र रहेका छन्। एक सय २५ वटा सहकारी त प्रदेश सरकार गठन भएपछि मात्रै दर्ता भएका छन्।
‘संकटग्रस्त देखिएका ९० प्रतिशत सहकारी संस्था प्रदेश सरकार गठन भएपछि प्रदेशमै दर्ता भएका हुन्,’ तिवारीले भने, ‘प्रदेशमा दर्ता हुन थालेपछि जसले पायो उसैले ह्वारहुर सहकारी दर्ता गर्ने क्रम बढ्यो, जसको असर अहिले देखिएको छ।’
प्रदेशमा सहकारी दर्तालाई खुकुलो बनाइएकाले जसले पायो उसले सहकारी दर्ता गर्दा समस्या देखिएको तिवारीको भनाई छ।
काठमाडौंको भक्तपुरमा केन्द्रीय कार्यालय भई बुटवलमा ग्रिनमार्ट डिपार्टमेन्टल स्टोर्स समेत सञ्चालन गर्दै आएको शिव शिखर बहुउदेश्यीय सहकारी यस क्षेत्रमा सबैभन्दी बढी उपभोक्ताको बचत अपचलन गरेर भाग्ने मध्येमा परेको छ। शिवशिखर बन्द भएपछि उक्त सहकारीमा बचत संकलन गरेका ५ हजार बढी बचतकर्ता समस्यामा परेका छन्।
तिवारीका अनुसार कतिपय सहकारीले मूल्यमान्यता पालना नगर्दा र गतल लेखा परीक्षण गरि चलाउँदा समस्या देखिएका छन् भने अधिकांशले उत्पादनमुलक काम गर्नु साटो पैसाको किनबेचमा लागेकोले समस्यामा परेका छन्।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार शिवशिखर सहकारीले रकम ठगी गरि फरार भन्दै बुटवलमा मात्रै साढे तीन सय बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन्। त्यस्तै बुटवलमै शाखा कार्यालय रहेको सार्थक बहुउद्देश्यीय सहकारी संस्थामा नियमित बचत संकलन गर्दै आएका साढे दुई सय बचतकर्ताले पनि प्रहरीमा उजुरी दिएका छन्।
‘सहकारीहरूले रकम ठगी गरेर फरार भएका समाचार सार्वजनिक हुन थालेपछि त्यसरी ठगी गरेर भाग्ने विरूद्ध उजुरी गर्न कार्यालयबाट सूचना जारी गरिएको थियो। त्यसपछि उजुरी आउने क्रम सुरू भएको हो, अहिलेसम्म दुईवटा सहकारीका ६ सय बढी बचतकर्ताले आफुहरू ठगिएको भन्दै कार्यालयमा उजुरी दिनुभएको छ,’ ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले सेतोपाटीसँग भने। थापाले सहकारीका विरूद्ध उजुरी आउने क्रम अहिले पनि जारी रहेको बताए।
लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालले समुदायमा आधारित रहेका सहकारी भने समस्यामा नपरेको बताउँछन्। कारोबारी मात्रै सदस्य बनाएका सहकारीहरूमा समस्या रहेको उनको भनाइ छ।
‘कारोबारी सदस्य बनाएर खोलिएका सहकारीहरूले समस्या निम्त्याएका छन्, वित्तीय अनुशासन पालना नगर्ने, बचत संकलन र ऋण लगानीको अनुपात नमिल्ने तथा एकल रूपमा ऋण लगानी गर्दा सहकारीहरू धरापमा पर्न थालेका हुन्,’ नेपालले भने।
सहकारी संघका केन्द्रीय सदस्य समेत रहेका अभियान्ता सन्दीप सापकोटा सामूहिक रूपमाभन्दा व्यक्तिगत सम्बन्धका आधारमा बिना धितो लगानी गर्ने र पारिवारका सदस्यहरूको हस्ताक्षरमा डमी समिति खडा गरेर दर्ता गरेका अधिकांश सहकारी समस्यामा परेको बताउँछन्।
यस्ता सहकारीहरूले दर्ता गर्दा न धितो राखेका छन् न त सदस्यहरूबाट रकम संकलन गरेर सहकारीको विधि अनुसार चलेका छन्।
‘तिनीहरू केवल दैनिक बचतकर्ताहरूको रकम संकलन गर्ने र त्यही रकम अन्यत्र लगानी गरेर ब्याज खाने गरेका छन्, त्यस्ता सहकारीले गरेको लगानी उठाउन नसक्दा बचतकर्ताहरूको रकम फिर्ता गर्न सकेनन्,’ सापकोटाले भने।
बुटवलमा अहिलेसम्म ६ वटा सहकारी पूर्णरूपमा समस्यामा परेपछि बन्द भएका छन्। बचत तथा ऋण केन्द्रीय संघका अनुसार ती सहकारीमा झण्डै १० हजारभन्दा बढी बचतकर्ताको ४० करोड रूपैयाँ बचत रहेको छ।
‘सहकारी दर्ता गर्ने बचत संकलन गर्न अनुमती दिने तर त्यसको नियमित अनुगमन गरि नियमन गर्न नसक्दा सिंगो सहकारी क्षेत्र नै बदनाम बन्न पुगेको छ,’ सापकोटा भन्छन्।