भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले अप्पर अरूण जलविद्युत् परियोजनाको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ६० लाख अमेरिकी डलर बराबर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) वडापत्र अनुमोदनका लागि संघीय संसदमा पेस गर्ने निर्णय मन्त्रिपरिषदले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ। चालु आर्थिक वर्षको बजेटमा सरकारले यस्तो समिति गठन गर्ने व्यवस्था राखेको थियो। त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिनेसम्बन्धी सूचना प्रकाशन गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषदले गरेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष पदमा बाबुराम पन्तलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ।
दसैं, तिहारलगायत चाडवाडका लागि चिनी आपूर्तिई सहज बनाउन भन्सार छुटमा चिनी आयात गर्ने निर्णय पनि सरकारले गरेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट समान १० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको हो।