उद्योगी व्यापारीले निकै चासो दिएको चालु पुँजी कर्जा मार्ग दर्शनमा नेपाल राष्ट्र बैंक लचक बन्ने संकेत गरेको छ।
'बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने छ,' आइतबार जारी गरिएको मौद्रिक नीतिको बुँदा नम्बर ९३ मा भनिएको छ।
चालु पुँजी मार्गदर्शनमा उद्योगी व्यवसायी तथा बैंकहरूको सुझावलाई समेट्ने संकेत गरेको राष्ट्र बैंकले ठूला ऋणको सुपरिवेक्षण गर्न छिट्टै र छुट्टै मार्गदर्शन कार्यन्वयनमा ल्याउने संकेत गरेको छ।
'ठूला ऋणीहरूको सुपरिवेक्षणलाई प्रभावकारी बनाउन छुट्टै मार्गदर्शन जारी हुने क्रममा रहेको छ,' मौद्रिक नीतिमा भनिएको छ।
कतिपय उद्योगी व्यवसायीले भने यो व्यवस्थाले राष्ट्र बैंकले ठूला उद्योग माथि निगरानी बढाउँदै कर्जाको लागि असहज वातावरण सिर्जना गर्न खोजेको हो कि भन्ने आशंका गरेका छन्।
'राष्ट्र बैंक निजी क्षेत्रसँग खासै सकारात्मक देखिँदैन कस्तो मार्गदर्शन ल्याउन खोजेको हो? यसबाट के उद्देश्य प्राप्ति गर्ने हो? मार्गदर्शन जारी भएपछि भन्न सकिएला,' नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारीले भने, 'नियमन र सुपरिवक्षेणलाई नराम्रो त भन्न मिलेन तर राष्ट्र बैंक व्यवहारिक नदेखिएकोले असहज वातावरण बनाउने हो कि भन्ने शंका छ।'
नेपाल राष्ट्र बैंकका अधिकारीहरूले ऋणको सही प्रयोग गर्ने सवालमा केन्द्रीय बैंकले आफ्नो सुपरिवेक्षण बलियो बनाउनको लागि यस्तो मार्गदर्शन आवश्यक परेको बताएका छन्।
गत आर्थिक वर्षको मौद्रिक नीतिमा पनि बैंक तथा वित्तीय संस्थाबाट धेरै कर्जा उपभोग गर्दै आएका ऋणको पहिचान गर्न 'लार्ज एक्सपोजर फ्रेमवर्क' तयार गर्ने उल्लेख गरिएको थियो।
चालु वर्षको लागि जारी मौद्रिक नीतिको पृष्ठभूमिमा यही फ्रेमवर्क तयार गर्दै गरेको विषयमा जानकारी गराइएको हो। तर कार्यान्वयन भने चालु वर्षबाट गर्ने संकेत राष्ट्र बैंकले गरेको छ।
विज्ञहरूले ठूला ऋणको नियमन र अनुगमनमा कडाइ गर्न राष्ट्र बैंकलाई सुझाव दिँदै आएका छन्। ठूला ऋणहरूले अधिकतम कर्जा लिने गरेको र त्यसको उपयुक्त नियमन नभएको कारणले सुपरिवेक्षण आवश्यक रहेको पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्री बताउँछन्।
'ठूला ऋणीमा गएको कर्जा बढी छ, यसको उपयुक्त नियमन र अनुगमन आवश्यकता नै हो,' कुँवरले सेतोपाटीसँग भने, 'यदि अनुगमन र नियमनका लागि यस्तो मार्गदर्शनको तयारी गरिएको हो भने यो स्वागतयोग्य विषय हो।'
एक हिसाबले ठूलो ऋणको प्रयोगमा राष्ट्र बैंक सचेत हुनुपर्ने र निगरानी गर्नुपर्ने उनको भनाइ छ।
रेटिङ कम्पनी प्रतिवेदनअनुसार बैंकहरूले प्रवाह गर्ने जम्मा ऋणमा २० प्रतिशत २० जना ठूला ऋणीले मात्रै उपयोग गर्ने गरेका छन्। आर्थिक वर्ष २०७७/७८ मा क्रेडिट रेटिङ (साख मूल्यांकन) गराएका २५ वाणिज्य बैंकहरूले कुल कर्जाको औसत २० प्रतिशत बराबर कर्जा लगानी ठूला २० ऋणीहरूमा गरिरहेको पाइएको थियो।
सौरभ ग्रुपका अध्यक्ष तथा निर्माण सामग्री उद्योगी विष्णु न्यौपाने राष्ट्र बैंकले व्यवहारिक ढंगले मार्गदर्शन ल्याए कर्जा उपयोगमा समस्या नपर्ने तर्क गर्छन्।
'राष्ट्र बैंकले कर्जाको दुरुपयोग भएको छ कि छैन, उत्पादन कति छ, ऋण कति लिएको छ लगायत विषयमा हेर्नुपर्छ। नियामकीय निकायले नियमन गर्न आफैंमा नराम्रो होइन। कतिपय अवस्थामा राष्ट्र बैंक व्यावहारिक बन्नु पनि पर्ने हुन्छ तर तोकिएको क्षेत्रमा तोकिए बराबरकै ऋण लिन तथा उपयोग गर्न असहज हुने छैन भन्ने बुझाइ हो,' न्यौपानेले भने।
के गर्न खोजिएको हो?
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट सुपरिवेक्षणलाई यथोचित बनाउन र अनुगमनलाई प्रभावकारी बनाउन यस्तो मार्गदर्शनको तयारी गरिएको बताए।
उनले राष्ट्र बैंकले गत आर्थिक वर्षको लागि ल्याइएको मौद्रिक नीति कार्यान्वयन गर्ने क्रममा फ्रेमवर्क तयार गरिँदै गरेको बताए। यसले अनुगमन र नियमनमा सहज हुने प्रतिक्रिया दिएका छन्।
अहिले कतिसम्म ऋण लिने ऋणीलाई ठूला ऋण भन्ने सवालमा समेत अन्योल रहेकोमा ठूलो ऋणको विश्लेषण गर्न ऋण व्यवस्थित गर्न सहयोग पुग्ने बताइएको छ। कस्ता ऋणलाई ठूला ऋण भन्ने लगायत विषय स्पष्ट गर्नका साथै नियमनको पाटोमा पनि केही विषयहरू हेरिने बताइएको छ।
कर्जा कहाँ उपयोग गरेका छन्, अन्तरआवद्धता क–कसको छ लगायतका विषयमा ठूला ऋणी सुपरिवेक्षण मार्गदर्शनबाट हेरिने छ।