भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा एक खर्ब ५५ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य पाएको थियो। तर ७६ अर्ब ५५ करोड रूपैयाँ मात्रै उठायो।
योभन्दा अघिल्लो वर्ष, २०७८/७९ मा कार्यालयले एक खर्ब १५ अर्ब रूपैयाँ उठाएको थियो। यसमा ४५ प्रतिशत हिस्सा, अर्थात् ५२ अर्ब रूपैयाँभन्दा बढी राजस्व सवारीसाधन आयातबाट उठेको थियो।
२०७९/८० मा भने सवारीसाधन आयातबाट उठ्ने राजस्वको योगदान २३ प्रतिशतमा खुम्चिएर करिब १७ अर्ब रूपैयाँ मात्रै उठेको छ। २०७८/७९ मा भन्दा ३५ अर्ब रूपैयाँ राजस्व कम भएको हो।
सवारीसाधनबाट उठ्ने राजस्व कम हुनुमा मुख्य दुई कारण देखिन्छन्।
पहिलो, धेरै राजस्व आउने महँगा गाडीहरू भन्सार जाँच पास नभएर भैरहवा कार्यालय परिसरको पार्किङमा थन्किएका छन्।
अर्को, भन्सार पास भइरहेका गाडीहरू भने धेरैजसो विद्युतीय छन्। बिजुलीबाट चल्ने गाडीको भन्सार पेट्रोलियम गाडीको तुलनामा धेरै कम भएकाले यसबाट उठ्ने राजस्व पनि धेरै नै कम छ।
सबभन्दा धेरै गाडी यही कार्यालयबाट आयात हुन्छ। तर यहाँ अहिले जाँचपास हुन नसकेका करिब १८ सय पेट्रोलियम गाडी थन्किएका छन्। मागमा आएको कमीका कारण आयातकर्ताले गाडी पास नगरेको बताएका छन्।
पेट्रोलियम गाडीमा करिब ३०० प्रतिशतसम्म विभिन्न शीर्षकमा कर र शुल्क लाग्छ। त्यसैले आयात मूल्यको तीन गुणासम्म बढी राजस्व उठ्छ।
आर्थिक वर्ष २०७९/८० मा भैरहवा भन्सारबाट करिब दुई अर्ब रूपैयाँ बराबरका पेट्रोलबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन्। १६ सय वटाभन्दा धेरै गाडी जाँचपास भए। राजस्व झन्डै पाँच अर्ब रूपैयाँ उठेको छ।
त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा साढे आठ अर्ब रूपैयाँभन्दा धेरै मूल्यका गाडी भित्रिएका थिए। नौ हजार ६ सयभन्दा धेरै वटा जाँचपास भए। राजस्व झन्डै २२ अर्ब रूपैयाँ थियो।
परिमाणको हिसाबले आयातमा ८४ प्रतिशतले गिरावट आएको छ। आयात मूल्य र राजस्वको हिसाबले ७८ प्रतिशत कमी छ। जिप, कार र भ्यान आयातमा करिब १७ अर्ब रूपैयाँ राजस्व कम भएको छ।
त्यस्तै ट्रक, टिपर, पिकअप, डेलिभरी भ्यान र मोटरसाइकल (स्कुटर समेत) को आयात पनि कम छ। मोटरसाइकल आयातमा आएको कमीले ११ अर्ब ६३ करोड रूपैयाँ राजस्व घटेको छ।
२०७८/७९ मा करिब १८ अर्ब ६९ करोड रूपैयाँ बराबरका एक लाख ८१ हजार ६५१ वटा मोटरसाइकल आयात भएका थिए। २०७९/८० मा भने सात अर्ब ६० करोड २९ लाख रूपैयाँका ७१ हजार ७५७ वटा मात्र आए।
भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलले जिप, कार र भ्यानका साथै मोटरसाइकल आयात कम हुँदा मात्रै करिब २८ अर्ब रूपैयाँ राजस्व घटेको बताए।
'पेट्रोलियम गाडी तथा मोटरसाइकलमा सबभन्दा बढी राजस्व उठ्ने हो। यिनकै आयात कम हुँदा ठूलो मात्रामा राजस्व कम भयो,' उनले भने।