वीरगन्ज र भैरहवा भन्सार कार्यालयबाट हुने अन्तर्राष्ट्रिय व्यापार घटेपछि समग्र भन्सारको राजस्वमा असर देखिएको छ।
यी भन्सार कार्यालयबाट हुने अन्तर्राष्ट्रिय व्यापारमा ३५ प्रतिशत र राजस्वमा ४० प्रतिशतले कमी आएको छ।
'भन्सार राजस्वमा मुख्य योगदान वीरगन्ज र भैरहवा कार्यालयको छ। यहाँबाट संकलन हुने राजस्व घटेपछि समग्र राजस्वमै असर गरेको छ,' भन्सार विभागका उपमहानिर्देशक सेवन्तक पोखरेलले भने।
भैरहवा कार्यालयबाट गत वर्ष जेठसम्म एक खर्ब ८ अर्ब रूपैयाँ राजस्व उठेको थियो। यो वर्ष ६९ अर्ब ६४ करोड रूपैयाँमा सीमित छ।
त्यस्तै वीरगन्ज कार्यालयबाट गत वर्ष जेठसम्म एक खर्ब ८८ अर्ब रूपैयाँ संकलन भएको थियो। यो वर्ष जम्मा एक खर्ब ४२ अर्ब रूपैयाँ संकलन भएको छ।
वीरगन्ज कार्यालय अन्तर्गत एकीकृत जाँच चौकीबाट गत वर्षभन्दा २३ प्रतिशत र लक्ष्यको तुलनामा ४१ प्रतिशत कम राजस्व उठेको छ। वीरगन्ज सुख्खा बन्दरगाहबाट उठ्ने राजस्व पनि लक्ष्यको ३६ प्रतिशत कम छ। भैरहवा भन्सारबाट लक्ष्यको ५० प्रतशित कम राजस्व उठेको छ।
नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भैरहवा र वीरगन्जमा रहेका दुई भन्सार नाकाको योगदान ६७ प्रतिशत छ। यो वर्ष तीन खर्ब ४४ अर्ब रूपैयाँ राजस्व उठेकामा यी तीन कार्यालयबाट मात्रै दुई खर्ब ५१ अर्ब रूपैयाँ उठेको छ।
हाल २७ वटा भन्सार कार्यालय सञ्चालन छन्। वीरगन्जका दुइटा र भैरहवाबाहेक २४ वटा भन्सार कार्यालयको योगदान करिब ३३ प्रतिशत मात्रै छ।
कहाँ घट्यो राजस्व?
यी नाकाबाट प्रमुख रूपमा आयात हुने सामग्री भनेको यातायातका साधन र पेट्रोलियम पदार्थ हो। यी दुवैको आयात कम भएपछि राजस्व घटेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक डिलाराम पन्थीले बताए।
'चोरीपैठारीका कारण पनि राजस्व घटेको विश्लेषण गरेको देखिन्छ। यथार्थमा वीरगन्ज भन्सारबाट सवारीसाधन, पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थको आयात सबभन्दा धेरै हुन्छ। यी सामान चोरीपैठारी हुन सम्भव नै छैन,' पन्थीले भने।
यस्तो छ वीरगन्ज र भैरहवा भन्सार नाकाको आयात परिमाण
वीरगन्ज भन्सार कार्यालय | आयात परिमाण |
सामान | एकाइ | गत वर्ष | यो वर्ष | आएको कमी |
डिजेल | किलोलिटर | १२०४७४२ | ८८४२८६ | -३२०४५६ |
पेट्रोल | किलोलिटर | ३५६२७६ | ३२७४७१ | -२८८०५ |
एलपी ग्यास | किलोग्राम | २४२८९८६८० | २४६९७५६६२ | ४०७६९८२ |
जिप, कार र भ्यान | वटा | ५६०५ | १०३९ | -४५६६ |
भटमासको तेल कच्चा | लिटर | ९८१६५१३५२ | ९५७३६९७० | -८८५९१४३८३ |
अन्य कोइला | किलोग्राम | ९४९०९४५५५ | ४८३०८६४३१ | -४६६००८१२४ |
एच.आर.सिट | किलोग्राम | १७७६४५८०४ | १३६६३१३९६ | -४१०१४४०९ |
हल्का पेय पदार्थका कन्सन्ट्रेड | किलोग्राम | १०२९६४०४ | ८९९३४८६ | -१३०२९१७ |
सुर्ति | किलोग्राम | ५३३१९४० | ४७८२३९६ | -५४९५४४ |
तयारी कपडा | पिस | ३७८५९४०४ | १६५६५४०८ | -२१२९३९९६ |
भैरहवा भन्सार कार्यालय | परिमाण |
जिप, कार र भ्यानहरू | वटा | ९५७९ | १५०४ | -८०७५ |
मोटरसाइकलहरू | वटा | १६७८८९ | ६६९७२ | -१००९१७ |
पिकअप तथा डेलिभरी भ्यान | वटा | ४९०७ | ८६२ | -४०४५ |
एम. एस. बिलेट | मेट्रिक टन | २५८८९९ | ११६१८९ | -१४२७१० |
पेट्रोल | किलोलिटर | ६५९१६ | ५८३८० | -७५३६ |
ग्लेज टाइल | वर्गफिट | ११७९८४९९ | ७९३२२९१ | -३८६६२०८ |
हाइस्पिड डिजेल | किलोलिटर | ६८८५२ | ५५२८४ | -१३५६८ |
एलपी ग्यास | मेट्रिक टन | ८६८०७ | ६८०६१ | -१८७४६ |
किन घट्यो राजस्व?
भन्सारका अधिकारीहरूले राजस्व घट्नुका मुख्य ४ कारण देखाएका छन्।
पहिलो, सरकारी नीतिको प्रभाव।
दोस्रो बैंकले लगानी नगर्नु।
र, तेस्रो, मागमा कमी आउनु।
सरकारले लिएको राजस्व र आयात सम्बन्धी नीतिका कारण आयात धेरै घटेको र यसले राजस्वमा प्रतिकूल प्रभाव पारेको भन्सार अधिकारीहरूको भनाइ छ।
गत मंसिर मसान्तसम्म जिप, कार, भ्यान, मदिरा लगायत वस्तुको आयात रोक तथा तयारी कपडा लगायत बढी आयात हुने वस्तुमा नगद मार्जिन व्यवस्था थियो। यसले गर्दा आयात घटेको भन्सार अधिकारीहरूको भनाइ छ। त्यस्तै मार्जिन सहितको एलसी (प्रतीतपत्र) अनिवार्य हुँदा पनि राजस्व संकलन अपेक्षित हुन नसकेको उनीहरूले बताएका छ।
'उधारोमा सामान ल्याउन एलसी गरिएको हुन्छ। तर पहिल्यै बैंकमा रकम जम्मा गर्नुपर्ने व्यवस्था भएपछि आयात कमीम हुने भयो र राजस्वमा प्रभाव पर्यो,' वीरगन्ज भन्सार कार्यालयका एक अधिकारीले भने।
एलसी अनिवार्य गर्दा पैठारीकर्ताले साफ्टा (दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र) सुविधा लिन आकर्षित भएको र यसले पनि राजस्वमा प्रतिकूल प्रभाव पारेको उनीहरूको भनाइ छ।
गत मंसिरपछि आयात प्रतिबन्ध तथा नगद मार्जिन हटेपछि पुस-माघमा आयात वृद्धि भएको थियो। तर बिस्तारै फेरि घट्दै गएको छ। बैंकले लगानी नगर्दा र मागमा कमी आउँदा धेरै राजस्व गुमेको भन्सार अधिकारीहरू बताउँछन्।
भन्सार परिसरमा भएका गाडीहरू मात्रै जाँपास हुन सके १० अर्ब रूपैयाँभन्दा धेरै राजस्व आउनेछ। अहिले भैरहवा र वीरगन्ज भन्सार कार्यालयमा ३१ सय वटाभन्दा धेरै गाडी जाँचपास नगरी रोकिएका छन्। मूल्यको डेढ सय प्रतिशतसम्म राजस्व उठ्ने यस्ता गाडी रोकिँदा राजस्व गुमेको भन्सार अधिकारीहरूले बताएका छन्।
जाँचपास हुन बाँकी गाडी | संख्या |
बस तथा बसको च्यासिस | ३४१ |
जिप/कार/भ्यान/एम्बुलेन्स | ८९० |
पिकअप | १११३ |
अन्य मालवाहक साधन तथा च्यासिस | ७३५ |