बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि २ अर्ब ३६ करोड ५४ लाखको बजेट प्रस्ताव गरेको छ।
बुटवल उपमहानगरपालिकाको १३ औं अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन्। यो बजेट चालु आर्थिकवर्षको भन्दा जम्मा १ करोड बढि हो। चालु आर्थिक वर्षका लागि बुटवलले २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको थियो। चालुवर्षका लागि बुटवलले २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको थियो।
नगर उपप्रमुख सावित्रादेवी अर्यालले नगरबासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिनेगरि बजेट प्रस्ताव गरिएको बताईन्। समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर नारा सहित सार्वजनिक बजेटले उद्यमशिलता, शिक्षा, स्वास्थ्य, रोजगारी, पुर्वधार विकासमा जोड दिएको छ।
बुटवल वडा नं. १३ र १७ मा १५-१५ शय्याका अस्पताल संचालन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पताल ‘आम्दा’ मा आमा सुरक्षा कार्यक्रम संचालन गर्ने र नगरवाशीलाई रगत र रगत जन्य पदार्थ निशुल्क गर्ने भन्दै बजेट विनियोजन गरिएको छ।
९१ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको बुटवलले शिक्षामा विद्यालय सुधार कार्यक्रमको प्रस्ताव पेश गरेको छ।
उपप्रमुख अर्यालले शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, समावेशीकरणतर्फ २७ करोड ४९ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ४१ करोड १८ लाख, वडास्तरीय योजनाहरुको लागि १६ करोड ५० लाख, कृषि, पशुपंक्षी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ ४ करोड ४० लाख, फोहोरमैला व्यवस्थापन तथा वातावरणतर्फ १ करोड ८३ लाख विनियोजन गरिएको बताइन्।
नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधारका लागि स्वस्थ शिशु सुत्केरी पोषण कार्यक्रमका लागि १ करोड रुपैयाँ छुट्याइएको छ। यस्तै, १८ वर्षमुनिका एचआइभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक ३ हजार उपलब्ध गराउने र स्तनपान गराउने आमाहरूका लागि उपप्रमुख दुग्धवर्धक जडिबुटी वितरणका लागि बजेट विनियोजन गरेको छ।
आगामी वर्षपनि जटिल रोगहरू (मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया) को उपचारमा जनही १७ हजार रुपैयाँका दरले राहत अनुदानका लागि बजेट विनियोजन गरिएको छ।
विद्यालयहरूको स्तरोन्नति तथा भौतिक सुधारका लागि २ करोड रुपैयाँ विनियोजन गरेको बुटवलले आम्दा अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट (बिटीआइ)मा डिप्लोमा तहको इन्जिनियरिङ र अटो भिलेजमा स्नातक तहको अटो इन्जिनियरिङको अध्ययनका लागि बजेट विनियोजन गरेको छ।
उज्यालो बुटवल कार्यक्रमअन्तरगत मुख्य मुख्य चोकहरूमा हाइमास्ट लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइट र सौन्दर्यीकरणका लागि ४ करोड २५ लाख रुपैयाँ छुट्याएको छ।
बुटवलभित्रका सबै गृहिणी महिलाहरूलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न गृहिणी महिला रोजगार कार्यक्रम अगाडी सारिएको र त्यसको लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख अर्यालले बताइन्।
एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिले रिक्सा र टेम्पो को सवारी धनी भई स्वयं चालक भएकाहरूलाई प्रोत्साहन गर्न नविकरणमा २५ प्रतिशत र स्वरोजगार महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नविकरणमा १५ प्रतिशत छुट दिइने उपप्रमुख अर्यालले बताइन्। साथै उनले सम्पत्ती कर र भुमिकर ०८० कार्तिक मसान्त सम्म बुझाउँदा निर्धारित खुद करमा १० प्रतिशत छुट दिने बताइन्।