अर्थमन्त्री प्रकाशरण महतले धेरै वस्तु तथा सेवामा भ्याट छुट दिँदा राजस्व क्षमता नै कमजोर बनेको बताएका छन्।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेट माथि उठेका प्रश्नको उत्तर दिने क्रममा उनले वैज्ञानिक कर प्रणालीको रूपमा रहेको भ्याटमा धेरै छुट दिँदा सरकारको आम्दानी क्षमता नै कमजोर भएको भन्दै यसलाई क्रमशः कम गरिँदै लैजाने बताएका हुन्।
उनले भ्याट वैज्ञानिक कर प्रणाली भएको र अन्य देशहरूले पनि नेपालको सिको गरेको बताउँदै आफ्नो सहोदर दाइको कारणले यो कर कार्यान्वयनमा सहयोग पुगेको बताए।
'मेरै दाइ डा. रामशरण महतले भ्याट लगाउँदा नेपालमा ठूलो विरोध भयो,' उनले भने, 'दक्षिण एसियामा नै पहिलो पटक भ्याट लगाइएको थियो। तर यो वैज्ञानिक कर हो भनेर उहाँ अडिग हुनुभयो। पछि भारतलगायतका देशले पनि यस्तो कर लगाउन थाले।'
भारतले हाल वस्तु तथा सेवा कर (जिएसटी) लगाइरहेको छ। शून्य प्रतिशत देखि २८ प्रतिशतसम्म जिएसटी लगाउन थालिएको छ। नेपालमा भने १३ प्रतिशत भ्याट लाग्दै आएको छ। सरकारले तोकेका केही वस्तु तथा सेवामा भने शून्य प्रतिशत भ्याट लगाउने गरिएको छ।