पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले प्रणालीको आवश्यकतालाई हरेर फेरवदल गरिएको करको दरका विषयमा उठेका प्रश्नको सामना गर्न अर्थमन्त्री प्रकाशशरण महतलाई आग्रह गरेका छन्।
उनले दर चलाइएका विषय अर्थतन्त्रको आवश्यकता हो भन्ने कुरा पुष्टि गर्न अर्थमन्त्रीले सक्नुपर्ने बताएका हुन्।
'करका दर हरेक आर्थिक अद्यादेशमा हेरफेर हुन्छ। त्यो दुई प्रकारको आवश्यकताले हुन्छ। एउटा–प्रणालीको आवश्यकताले, अर्को–व्यवसायीको आवश्यकताले। त्यसकारण भोलि प्रश्न उठ्यो भने जवाफदेही त अर्थमन्त्री हुनैपर्छ' मंगलबार नेपाल आर्थिक पत्रकार समाज सेजनले राखेको छलफल कार्यक्रममा खतिवडाले भने।
करका दरलाई लिएर पदको बाजी नराख्न पनि खतिवडाको सुझाव छ। यसअघि मंगलबार अर्थमन्त्री प्रकाशशरण महतले कसैको दबाबमा परेर करका दर फेरवदल भएको प्रमाणित भए राजिनामा दिने बताएका थिए।
करका दरको सूचना बाहिर जादा शंका उठ्नु स्वभाविक भएको भन्दै यस विषयमा सबै इमान्दार बन्नुपर्ने उनको भनाइ छ।
अर्थमन्त्री मात्र इमान्दार भएर नहुने भन्दै उनले कर्मचारीतन्त्र पनि इमान्दार हुनुपर्ने बताए।
हरेक पटक दर हेरफेर गर्दा शंका गर्ने हो भने आर्थिक अद्यादेश नै नल्याए हुने भन्दै उनले प्रणालीको आवश्यकताले गरेको भए शंका गर्न नहुने बताए।