सरकारले पहिलो पटक धेरै कमाउनेहरूको आयकरको सीमा ३९ प्रतिशत पुर्याएको छ।
५० लाख रूपैयाँभन्दा बढी कमाउनेको कर ३९ प्रतिशत पुर्याइएको हो। यसअघि २० लाखभन्दा माथिको आयमा ३६ प्रतिशत कर लगाउने गरिएको थियो।
त्यस्तै सरकारले तारे होटलमा बस्ने ग्राहकबाट 'लक्जरी कर' लिने नीति लिएको छ। यो पहिलोपटक गरिएको अभ्यास हो। चारतारे र पाँचतारे होटलमा बस्ने ग्राहकहरूलाई दुई प्रतिशत कर लगाइएको छ।
त्यस्तै गहनामा समेत सरकारले लक्जरी कर सुरू गरेको छ। हिरा, मोती लगायत जवरात जडित सुनचाँदीमा लक्जरी कर लाग्ने व्यवस्था आर्थिक अध्यादेशले गरेको छ।
'नेगेटिभ लिस्ट' का वस्तुहरूमा कर बढाइएको छ। यसमध्ये बियरमा प्रतिलिटर ७ रूपैयाँ कर बढाइएको छ। निरन्तर बियरमा कर बढ्दै गएपछि प्रतिकार्टुन कारोबारको ६७ प्रतिशत कर तिर्नुपर्ने भएको छ।
५० देखि १०० किलोवाटका विद्युतीय गाडीको कर पनि बढेको छ। यी गाडीमा भन्सार ५ प्रतिशत र अन्तःशुल्क १० प्रतिशत पुर्याइएको छ।
खाने तेलमा पनि कर बढाइएको छ। उद्योगीहरूका अनुसार १ प्रतिशत भन्सार शुल्क रहेको सोयाबिन, सनफ्लावर र पाम आयलको भन्सार १० प्रतिशत पुर्याइएको छ।
तोरीको दानाको भन्सार महसुल १ प्रतिशतबाट ५ प्रतिशत पुर्याइएको छ।