धरानका मेयर हर्क साम्पाङले निरन्तर उठाउँदै आएको धरानको खानेपानी समस्याको हल खोज्ने प्रतिबद्धता सरकारले बजेटमार्फत गरेको छ।
धराने जनतालाई खानेपानीको सुविधा दिने घोषणा बजेटमार्फत नगरे सिंहदरबार घेर्ने बताउँदै आएका मेयर साम्पाङको माग बजेटले सम्बोधन गरेको छ।
'धरानमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुरू गरिनेछ,' अर्थमन्त्री प्रकाशशरण महतले बजेट वक्तव्यमा भनेका छन्, 'सुनसरीको झुम्का र भोजपुर बजार, संखुवासभाको चैनपुर, मोरङको टंकी सिनुवारी खानेपानी आयोजना सम्पन्न गरिनेछ।'
त्यसैगरी झापा दमकको ढल निर्माण तथा प्रशोधन आयोजना सम्पन्न गरिने बजेटमा उल्लेख छ।
सुनसरीको इटहरी कभर्ड हल निर्माण गरिने समेत बजेटमा उल्लेख छ।
सुनसरी मोरङ सिँचाइ आयोजना पूर्ण क्षमतामा संचालन गर्न तथा कोशी, त्रियुगा, सुनसरी, कन्काई, रतुवा, मावा लगायतका खोला नियन्त्रणका लागि रकम विनियोजन गरिएको उल्लेख छ।
तल्लो अरूण जलविद्युत आयोजना सम्झौता गरी निर्माण कार्य अगाडि बढाउन तथा माथिल्लो अरूण जलविद्युत आयोजना संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा निर्माण गरिने जनाइएको छ।
चार सय केभी इनरूवा, पूर्णीया अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिने र अरूण करिडोर प्रसारण लाइनको निर्माण कार्य गरिने बजेटमा उल्लेख छ।