सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन्।
चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। यसमा संशोधन गर्दै आर्थिक वृद्धि २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको हो।
केही समयअघि केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार दोस्रो त्रैमाशसम्ममा आर्थिक वृद्धि १.१ प्रतिशतले ऋणात्मक भएको छ। विभागले यो आर्थिक वर्ष २.१६ प्रतिशत आर्थिक वृद्धि हुने समेत बताएको थियो।
विश्व बैंकले यो वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोषले ४.४ प्रतिशतको वृद्धि हासिल हुने उल्लेख गर्दै आएको छ।
त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा मूल्यवृद्धि ६.५ सीमित पार्ने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षमा सरकारले ७ प्रतिशतमा मूल्य वृद्धि सीमित पार्ने लक्ष्य लिएको थियो। राष्ट्र बैंकको गत चैतसम्मको तथ्यांक अनुसार हाल नेपालीहरूले वार्षिक औसत ७.९ प्रतिशत मूल्य वृद्धि खेपिरहेका छन्।