गर्भ अवस्थादेखि मृत्युसम्मका सबै चरणमा सामाजिक सुरक्षा प्रदान गर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।
सोमबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन्।
उनले सामाजिक सुरक्षाको दायरा समेत बढाउँदै लैजाने बताएका छन्। उमेरका आधारमा पाइने सामाजिक सुरक्षा भत्ता यथावत् राखिएको छ। ६८ वर्ष माथिका वृद्धवृद्धालाई सरकारले मासिक ४ हजार रूपैयाँ वृद्ध भत्ता दिँदै आएको छ।
सामाजिक सुरक्षा कार्यक्रमको लागि एक खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरिएको छ। अर्थमन्त्री महतले गत वर्षको भन्दा २३ अब बढी रकम यो शीर्षकमा छुट्ट्याएका छन् ।
चालू आर्थिक वर्षमा सामाजिक सुरक्षा र औषधि उपचार तथा आर्थिक सहायताका लागि एक खर्ब ३४ अर्ब १ करोड रूपैयाँ विनियोजन गरिएको थियो। उक्त रकम पनि अपुग भएपछि सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन दिन अतिरिक्त स्रोत खोज्नुपरेको थियो।
सरकारले सामाजिक सुरक्षा कार्यक्रममा रहेको दोहोरोपना हटाएर थप प्रभावकारी बनाएर लैजाने भएको छ। भत्ता सोझै बैंक खातामा जाने व्यवस्था गरिने भएको छ। स्रोतको विस्तारसँगै दायरा र सुविधा बढाउँदै जाने अर्थमन्त्री महतले बताए।