साधारण खर्चमा वृद्धि, तलब भक्ता, सामाजिक सुरक्षा, वित्तीय हस्तान्तरण, बढ्दो ऋण भुक्तानीको लागि मात्र १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नु परेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।
अर्थमन्त्री महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै बजेटको समस्या र चुनौतीबारे बोल्दै यस्तो बताएका हुन्।
बजेटको ठूलो हिस्सा यस्ता कामको लागि छुट्याउनु पर्दा विकास कार्यको लागि स्रोत व्यवस्थापन गर्न कठिन हुने गरेको उनले बताए।
साथै, पुँजीगत खर्चको प्रभावकारित बढ्न नसकेको, आयोजनाको प्राथमिकिकरण र पूर्व तयारी नगरी साधन स्रोत छर्ने प्रवृत्ति रहेको र कार्यान्वयन पक्ष कमजोर रहेको बताए। स्रोत साधनको समुचित प्रयोग मार्फत् उपलब्धि मुलक बनाउने चुनौती रहेको उनले बताए।
चालु आर्थिक वर्षमा राजस्व संकलन लक्ष्यभन्दा कम रहेकोले राजस्व प्रणालीमा सुधार, दायरा विस्तार र चुहावट नियन्त्रणको आवश्यकता रहेको उनले बताए।
अप्रत्यक्ष एवम् आयातमा आधारित राजस्वलाई प्रत्यक्ष र आन्तरिक उत्पादनमा आधारित बनाएर राजस्व संरचनामा परिवर्तन गर्ने चुनौती रहेको अर्थमन्त्रीले बताए। अपेक्षित विदेशी लगानी भित्र्याउन नसकिएको, सार्वजनिक प्रशासनलाई व्यवसायिक र दक्ष बनाउन समेत चुनौतीपूर्ण रहेको उनले बताएका छन्।
आर्थिक क्रियाकलापमा शिथिलता देखिएको हुँदा आर्थिक वृद्धि न्यून रहने देखिएको हो। चालु आर्थिक वर्षमा २.१६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ।
उनले कोभिड-१९ महामारी कम भएर अर्थतन्त्र पुनरोत्थान हुने क्रममा रहँदा युक्रेन-रसियाबीचको द्वन्द्वको कारण आपूर्ति श्रृखंलामा अवरोध आएको, उच्च व्याजदरको कारण लगानीमा कमि आएको, सरकारको पुँजीगत खर्च नबढेको र समग्र उपभोक्ता मागमा कमि आएकोले आर्थिक गतिविधि सुस्त भएको बताए।
मूल्य वृद्धि नियन्त्रण र विदेशी मुद्रा सञ्चिति सुधारको लागि लिएको कदमका कारण पनि आर्थिक क्रियाकलाप थप प्रभावित भएको छ। यस परिपेक्ष्यमा उच्च फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्न चुनौती देखिएको छ।
मूल्य वृद्धि घट्ने क्रममा रहेपनि अझै पनि लक्ष्यको आधारमा उच्च रहेको छ। यद्यपी सरकारले लिएको नीतिले आर्थिक वर्षको प्रथम त्रैमाशकको तुलनामा पछिल्लो त्रैमाशमा सुधार हुँदै गएको उनले बताए।