घर बनाउनुअघि निर्माण सामग्रीको लागत अनुमान गर्यौं भने बजेट छुट्ट्याउन सजिलो हुन्छ।
आज हामीले बिक्रेता र व्यवसायीहरूको सहयोगमा आवासीय घर बनाउन लाग्ने इँटाको परिमाण र लागतबारे जानकारी दिएका छौं।
यसअघि इँटाको प्रकारबारे जान्नु आवश्यक छ।
काठमाडौंमा उपत्यकामा पाइने इँटालाई विशेषगरी तीन प्रकारमा वर्गीकरण गरिएको छ। नेवारी भाषामा यिनलाई अप्पा (इँटा), डाँची अप्पा र काँची अप्पा भनिन्छ। बुझ्ने भाषामा अप्पा भनेको नर्मल (सामान्य), डाँची भनेको त्रिभुज आकारको र काँची अप्पा भनेको काँचो इँटा हो।
प्रकारसँगै यी इँटाको प्रयोग पनि फरक छ।
निर्माण कम्पनी जिरो डाय नेपालका प्रबन्ध निर्देशक आर्किटेक्ट इञ्जिनियर सन्दीप श्रेष्ठका अनुसार नर्मल इँटा सामान्य घर बनाउन प्रयोग गरिन्छ। डाँची अप्पा प्रायः डिजाइनका लागि र काँची अप्पा पूजापाठका लागि जग्गेमा प्रयोग हुन्छ।
नर्मल इँटालाई गुणस्तरका आधारमा एक, दुई र तीन नम्बर गरी छुट्ट्याइएको छ। यीबाहेक टुक्रा र डढेका इँटा पनि नर्मल इँटामै पर्छन्।
एक नम्बर इँटा घर बनाउन प्रयोग हुन्छ। दुई नम्बर इँटाको पर्खाल लगाइन्छ। तीन नम्बरको कम गुणस्तरीको इँटा हो जुन अस्थायी भवन बनाउन प्रयोग हुन्छ। त्यस्तै डढेको इँटा जग र टुक्रेइँटा सोइलिङमा प्रयोग हुने श्रेष्ठले जानकारी दिए।
'इँटाको मूल्य गुणस्तरकै आधारमा निर्धारण गरिन्छ। काठमाडौं उपत्यकाको कुरा गर्दा यहाँ धादिङको स्थानीय इँटा धेरै चल्तीमा छ। यो अरूभन्दा सस्तो पर्छ,' श्रेष्ठले भने।
काठमाडौंमा भक्तपुर, काभ्रेको पाँचखाल र मण्डनदेउपुर, नुवाकोटको सिस्नेरी र ककनी, धादिङको धुनिबेसी र तराईको सर्लाही, रौतहट र बाराबाट इँटा आउँछ। भक्तपुरे र तराईबाट आउने इँटा पनि उत्तिकै प्रयोग हुन्छ। भक्तपुरेको भाउ धादिङको इँटाकै हाराहारी पर्छ। तराईको भने अलि महँगो छ।
हाल बजारमा नर्मल इँटा प्रतिगोटा १४ रूपैयाँदेखि १६ रूपैयाँमा कारोबार भइरहेको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका सल्लाहकार अनसन साखः ले जानकारी दिए। तराईको इँटा भने ढुवानीसहित गोटाको १७ देखि १८ रूपैयाँ पर्छ।
'तर तराईको इँटाको आकार ठूलो हुने भएकाले परिमाण पनि कम लाग्छ,' उनले भने।
उनका अनुसार इँटाको भाउ ६/७ महिनादेखि स्थिर छ। निर्माण काम सुस्ताउँदा इँटाको मूल्य बढ्न नसकेको हो।
'अहिले इँटा पकाउने सिजन हो तर उद्योगीहरू पोहोरकै इँटा बेचिरहेका छन्,' उनले भने।
इँटाको गुणस्तर कसरी जाँच गर्ने?
आर्किटेक्ट इञ्जिनियर श्रेष्ठका अनुसार इँटाको गुणस्तर चिन्न कुनै प्रयोगशालामा जानु पर्दैन। किन्ने व्यक्ति आफैंले जाँच गर्न सक्छन्।
'साधारणतया इँटा दुई इन्च मोटाइ, चार इन्च चौडाइ र नौ इन्च लम्बाइको हुनुपर्ने मापदण्ड छ,' उनले भने।
एक नम्बरको इँटाको आकार मिलेको हुन्छ। रङ तिख्खर रातो हुन्छ।
'यी दुइटा इँटा एकआपसमा ठोक्काउँदा मेटालिक साउन्ड (धातुको आवाज) आउँछ,' श्रेष्ठले भने, 'यसलाई एक मिटर माथि उचाइबाट खसाल्दा टुक्रिँदैन। नङले कोतार्दा दाग बस्दैन। २४ घन्टासम्म पानीमा भिजाउँदा पनि सेतो धूलो वा कण आउँदैन।'
दुई नम्बर इँटा एकआपसमा ठोक्काउँदा धातुको आवाज आउँदैन। रङ फिक्का रातो हुन्छ।
तीन नम्बर इँटा पनि एकआपसमा ठोक्काउँदा धातुको आवाज आउँदैन। रङ पूरै पहेँलो हुन्छ।
साढे दुईतले घर बनाउँदा इँटामा कति खर्च अनुमान गर्नुपर्ला?
विगत आठ वर्षदेखि घर निर्माण गर्दै आएको जिरो डाय नेपालका प्रबन्ध निर्देशक आर्किटेक्ट इञ्जिनियर सन्दिप श्रेष्ठका अनुसार इँटाको खर्च अनुमान घरको डिजाइन र प्रयोगका आधारमा गरिन्छ।
सबभन्दा पहिले त कस्तो घर बनाउने, कतिवटा झ्याल, ढोका राख्ने भन्ने निधो गर्नुपर्छ। झ्याल, ढोका र घरको डिजाइनले इँटा कति चाहिन्छ भन्ने फरक पर्छ।
झ्याल धेरै राखियो भने इँटा कम लाग्छ, थोरै राखे बढी लाग्छ। सामान्यतया प्रत्येक कोठामा दुइटा झ्याल र एउटा ढोका हुन्छ। यस्तो डिजाइनमा साढे दुईतले घरका लागि टुक्रे इँटाबाहेक सग्ला इँटा ५५ हजारदेखि ६० हजार वटा लाग्ने श्रेष्ठले बताए। यति इँटाले बाहिर पर्खाल लगाउन पनि पुग्न सक्छ।
श्रेष्ठका अनुसार कति खर्च लाग्छ भन्ने कुरा इँटाको प्रयोगमा भर पर्छ।
जग, हात्तीपाइला र डिपिसीभन्दा माथिको संरचनामा एकै वा फरक फरक इँटा प्रयोग गर्न सकिन्छ।
'कहाँ कस्तो इँटा प्रयोग गर्ने भन्ने कुरा बजेटले निर्धारण गर्छ। पैसा धेरै भए जगमा एक वा दुई नम्बर इँटा राख्न सकिन्छ,' उनले भने, 'त्यसैले प्रायः तराईको वा डढेको इँटा राखिन्छ।'
त्यस्तै हात्तीपाइलामा दुई नम्बर इँटा प्रयोग हुन्छ। डिपिसीभन्दा माथिको संरचनामा एक नम्बर इँटा चाहिन्छ।
'एक नम्बर इँटा अन्यको तुलनामा बलियो र टिकाउ हुन्छ,' उनले भने।
डिपिसीमाथिको संरचना बनाउँदा बाहिरको गारो नौ इन्चको हुन्छ भने भित्रको चार इन्चको हुन्छ। नौ इन्चको बाक्लो गारो लगाउँदा घरको भित्री भागलाई ओसबाट जोगाउन सकिन्छ।
यसरी साढे दुईतले घर बनाउँदा बढीमा ६० हजार वटा इँटा चाहिने हिसाब गर्न सकिन्छ। अहिलेको भाउमा सामान्य इँटामा आठ लाख ४० हजारदेखि नौ लाख ६० हजार रूपैयाँ छुट्ट्याउनुपर्छ।
'तराईको इँटा चाहिँ घरको डिजाइन हेरेरै अनुमान गर्नुपर्छ। आकार ठूलो हुने भएकाले परिमाण कम लाग्छ,' श्रेष्ठले भने।
यो औसत लागत हो। आवश्यकता, घर बनाउने ठाउँको दुरी लगायतले खर्चमा थपघट हुन सक्छ। आवश्यकता अनुसार कस्तो घर बनाउने हो र निर्माण सामग्रीमा कति खर्च होला भन्नेबारे घर बनाउनुअघि नै इञ्जिनियर वा ठेकेदारसँग बुझ्नु राम्रो हुन्छ।