नेपाल जग्गा तथा आवास विकास महासंघले नेपाल बैंकर्स संघसँग घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्ने विषयमा छलफल गरेको छ।
बिहीबार भएको भेटघाटमा उनीहरूले विशेषगरी पाँच विषयमा बैंकर्स संघसँग छलफल गरेकोे हो।
धितो र कर्जाको अनुपात, जग्गा तथा घरको बजार मूल्य निर्धारणका सूत्रहरू, घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दाको प्रिमियम, डिपोजिटको ब्याजदर र जग्गाको हदबन्दी गरी पाँच वटा विषयमा छलफल भएको छ।
छलफलमा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषबहादुर लोहनीले कर्जा र धितोको अनुपात (लोन टु भ्यालु रेसियो) ७० प्रतिशत पुर्याउनु पर्ने, घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दा तोकिने प्रिमियम दर कम हुनुपर्ने, निक्षेपको ब्याजदर तोक्दा बैंकहरूबीच प्रतिष्पर्धा नगरी सहमति गरेर ब्याजदर तोकिनुपर्ने र मान्यताप्राप्त घरजग्गा व्यवसायका हकमा हदबन्दी छुट हुनुपर्ने लगायतका धारणा व्यक्त गरे।
महासंघको धारणालाई सकारात्मक रूपमा लिँदै बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसीले यसबारे थप अध्ययन गरी घरजग्गाको कारोबारबाट अर्थतन्त्रलाई चलायमान गर्नमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
छलफल कार्यक्रममा महासंघ र संघका कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।