घरजग्गा व्यवसायीहरूले एकल अंकको ब्याजदर कायम गर्न सरकारसँग माग गरेका छन्।
नेपाल जग्गा तथा आवास विकास महासंघले आयोजना गरेको पत्रकार भेटघाटमा उनीहरूले एकल अंकको ब्याजदर कायम गरिदिन माग गरेका हुन्।
कोभिडकालीन समयमा दिएको विभिन्न राहतको कारण सो समय न्यून ब्याजदरमा कर्जा पाइरहेका ऋणीहरूले अहिले उच्च ब्याजमा कर्जा पाइरहेका छन्।
औसत ८ प्रतिशत हाराहारी रहेको कर्जाको ब्याजदर हाल बढेर १३ प्रतिशत पुगेको छ।
त्यस्तै, व्यवसायीहरूले जग्गाको धितोमा दिइने कर्जाको लागि तोकिएको मूल्यको तुलनामा कर्जा अनुपात बढाउन पनि माग गरेका छन्।
चालु आर्थिक वर्षदेखि काठमाडौं उपत्यकाको जग्गा धितो राख्दा त्यसको मूल्यको ३० प्रतिशत बराबर मात्रै बैंकहरूले ऋण लगानी गर्ने गरेका छन्।
त्यस्तै, उपत्यका बाहिरको जग्गा धितो राख्दा त्यसको मूल्यको ४० प्रतिशत बराबर मात्रै बैंकहरूले ऋण लगानी गर्ने गरेका छन्।
'पहिले ८० प्रतिशतसम्म ऋण दिनेको गरेको थियो,' महासंघका अध्यक्ष भेषराज लोहनीले भने, 'सरकारले मूल्यांकन बढाउने हो भने रियलस्टेटको कारोबार वृद्धि हुन्छ।'
उनले अनुमति लिएर रियलस्टेटको कारोबार गर्नेको हकमा ७० प्रतिशतसम्म ऋण प्रवाह गर्नुपर्ने बताए।
सरकारबाट लाइसेन्स प्राप्त ब्रोकरहरूमार्फत् मात्रै घरजग्गा किनबेच गरिनु पर्ने उनीहरूको माग छ।