गत वर्ष सिमेन्ट व्यापारको सिजन बल्ल सुरू हुँदै थियो। कोरोना महामारी पनि त्यही बेला फैलियो। सिजनको मुखमै सिमेन्ट उद्योगहरू बन्द हुन बाध्य भए।
'सिमेन्टको सिजन भनेको चैतदेखि सुरू भएर वैशाख, जेठ र असारसम्म चल्छ। अघिल्लो वर्ष ठ्याक्कै सिजनमै कोरोनाले गाँज्यो,' सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा भन्छन्, 'त्यसपछि पनि लामो समय उद्योगहरू थला परे। यो वर्ष पनि सिजनमै कोरोनाको दोस्रो लहर सुरू भइदियो।'
अघिल्लो वर्ष लकडाउन र कोरोना मारमा परेका सिमेन्ट उद्योग बल्ल उठ्ने तरखरमा थिए। गत चैतदेखि सिजन सुरू भयो। कोरोना मत्थर भएकाले निर्माण कामले गति लिन थालिसकेको थियो। असारसम्ममा राम्रो व्यापार गर्ने सोच उद्योगीहरूको थियो। यो वर्ष आम्दानी राम्रो भए अघिल्लो वर्षको घाटा टालटुल हुने आश उनीहरूले राखेका थिए।
'चैतदेखि मानिसहरूले नयाँ घर बनाउने सिजन सुरू हुँदै थियो। सरकारको बजेट खर्च हुने सिजन पनि यही हो। यतिबेला व्यापार राम्रो होला र अघिल्लो वर्षको घाटा कभर गर्ला भनेको सोचेका थियौं,' थापाले भने।
तर सोचेजस्तो भएन।
उनी थप्छन्, 'बल्ल माग आउन थालेको थियो। निषेधाज्ञा भयो। यो वर्ष पनि व्यापार राम्रो हुन सकेन। सरकारको बजेट पनि खर्च भएको छैन। अधिकांश बजेट निर्माण काममा नै खर्च हुने हो। बजेट नै खर्च नभएपछि सिमेन्ट व्यापार पनि हुँदैन।'
सरकारले असारसम्म बजेट खर्च गर्ने हुँदा सोही समयमा निर्माणका काम अघि बढ्ने र सिमेन्टको राम्रो माग हुने गरेको उनी बताउँछन्। कोभिड महामारीको दोस्रो लहरका कारण माग घटे पनि उद्योगहरू भने सञ्चालनमै रहेको उनले बताए।
'अहिलेसम्म त उद्योगहरू चलिरहेका छन्। अब यस्तै अवस्था भइरहे चलाउन सकिँदैन,' उनले सेतोपाटीसँग भने।
उनका अनुसार हाल नेपालभर साना तथा ठूला ६४ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन्। ती उद्योगले अहिले ४० प्रतिशत सिमेन्ट मात्रै उत्पादन गरिरहेका छन्। माग नभएपछि सिमेन्ट उत्पादन गरेर राख्ने अवस्था हुँदैन। लामो समय भण्डारण गरेर राख्न पनि मिल्दैन। त्यसैले अहिले ६० प्रतिशत उत्पादन घटेको अध्यक्ष थापाले जानकारी दिए।
उत्पादन घटे पनि हालको अवस्थामा उद्योगहरूले श्रमिक भने कटौती नगरेको उनको भनाइ छ।
'उद्योगहरूमा श्रमिकहरू अहिलेसम्म काम गरिराख्नुभएको छ,' उनले भने, 'हामीले पारिश्रमिक र सेवासुविधा कटौती गरेका छैनौं। अहिल्लो वर्ष केही समस्या भयो, त्यो समस्या अहिले भइसकेको छैन। तर फेरि उद्योग चल्न सकेन भने समस्या आउँदैन भन्न सकिँदैन।'
सिमेन्ट माग नहुँदा कर्मचारी व्यवस्थापन, ढुवानी लगायत सबै खर्च उठाउन उद्योगीलाई मुश्किल परिरहेको उनी बताउँछन्।
त्यस्तै गत वर्षदेखि अधिकांश सिमेन्ट उद्योग टामा रहेको पनि उनले बताए।
'हामीले सिमेन्ट उद्योगहरूमा यति नै घाटा लाग्यो भनेर लेखाजोखा त गरेका छैनौं। तर अधिकांश उद्योग घाटामै छन्,' उनले थपे।
अब आइपर्ने समस्यासँग जुध्न आफूहरूसँग कुनै त्यस्तो ठोस योजना नभएको उनी बताउँछन्।
'हामीले आफैंले माग बढाउने कुरा हुँदैन। माग बढ्यो भने उत्पादन गर्ने हो। उत्पादन गरेर सिमेन्ट राख्ने कुरा पनि हुँदैन,' उनले भने।
सामान्य अवस्थामा हाम्रा सिमेन्ट उद्योगको अवस्था निकै राम्रो हुँदै थियो। सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर भइसकेको उद्योगीहरू बताउँछन्। त्यस्तै नेपाली सिमेन्ट उद्योगमा विदेशी लगानी भित्रिने क्रम पनि बढेको थियो।
थापाका अनुसार आत्मनिर्भर भइसकेपछि उद्योगीहरूले सिमेन्ट निर्यात गर्ने योजना बुनिरहेका थिए। तर कोरोनाे उनीहरूको योजना बीचमै थलियो। अब अवस्था यस्तै रहे धेरै सिमेन्ट उद्योगहरू पलायन हुने सम्भावना रहेको अध्यक्ष थापाको भनाइ छ।
'एक त मागभन्दा पनि उत्पादन क्षमता बढी भइसकेको छ हाम्रो। त्यसमाथि माग घट्दा अझ अप्ठ्यारो पर्छ,' उनी भन्छन्, 'यस्तै अवस्था लामो समय रहने हो भने सिमेन्ट उद्योगहरू पलायन हुने अवस्था आउँछ।'
कोरोनाका कारण समस्यामा परेका उद्योगीलाई सरकारबाट पनि उचित सहयोग नभएको सिमेन्ट उत्पादक संघका अध्यक्ष थापाले बताउँछन्।
'सरकारबाट हामीलाई उचित सहयोग छैन। पुनर्कर्जा दिने भनेर सरकारले कार्यक्रम त ल्याएको थियो तर ठूलो लगानी भएको सिमेन्ट उद्योगमा सरकारले दिने १०/१५ लाखको पुनर्कर्जाले कुनै अर्थ राख्दैन,' उनले भने।
यो पनि पढ्नुस्ः
हामीकहाँ ओपिसी र पिपिसी गरी दुई प्रकारका सिमेन्ट निर्माण क्षेत्रमा प्रयोग गरिन्छ। घर बनाउन प्रयोग गरिने सिमेन्टबारे जान्नुअघि ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) ले कसरी काम गर्छ बुझ्न आवश्यक छ।
निजी आवास निर्माण कम्पनी 'मेरो घर' का सिइओ तथा इञ्जिनियर विपीन गैरेका अनुसार कुनै पनि सिमेन्टले पानीको सम्पर्कमा आएपछि यसको वास्तविक गुण देखाउँछ।
'ओपिसी निर्माणमा छिटो सेट हुने सिमेन्ट हो,' इञ्जिनियर गैरेले भने, 'जुन निर्माणलाई छिटो सक्नुपर्ने हुन्छ वा छिटो फर्मा खोल्नुपर्ने हुन्छ, त्यहाँ यो सिमेन्ट प्रयोग गरिन्छ।'
ओपिसी स्ल्याब, पिलर, पुल ढलान आदि काममा प्रयोग हुन्छ। तर ढलानका लागि ओपिसी मात्रै प्रयोग हुँदैन। निर्माण समय लामो राखिएको छ भने पिपिसी पनि प्रयोग गर्न सकिने उनको भनाइ छ।
'ढलानका लागि ओपिसी नै चाहिने होइन,' उनले भने, 'कुनै ढलान लामो समय (फर्मा नखोली) राख्न सकिन्छ भने पिपिसी पनि प्रयोग गर्न सकिन्छ।'
सामान्यतया ओपिसी ढलानको 'क्योरिङ' (ढलान बस्न दिइने समय) २० दिनसम्म हुन्छ। स्ट्यान्डर्ड क्योरिङ समय भने २८ दिनसम्म हुने गैरेले जानकारी दिए। ओपिसी ३३, ४३ र ५३ ग्रेडमा पाइन्छ। ग्रेड भन्नाले सिमेन्टको मजबुती हो। छिटो सुक्ने र छिट्टै चर्किने भएकाले भित्ता प्लास्टरमा यो सिमेन्ट प्रयोग नगर्न इञ्जिनियर गैरेको सुझाव छ।
पिपिसी भने ओपिसीभन्दा मसिनो हुन्छ। यो ओपिसीभन्दा प्रतिबोरा १०० रूपैयाँसम्म सस्तो हुन्छ। गैरेका अनुसार सस्तो हुनुको मतलब कमसल हुनु भने होइन।
'पिपिसी हतार नगरी निर्माण सम्पन्न गर्ने, लामो समय पानी राख्न सकिने निर्माणमा प्रयोग गर्न सकिन्छ,' गैरेले भने, 'सस्तो हुनु भनेको कमसल हुनु होइन। पिपिसीको पनि ढलान गरी निर्माण बन्न सक्छ।'
पर्खाल वा गारोको मसला, प्लास्टर, भुइँ ढलान आदिमा लामो समय पानी राख्न सकिन्छ। त्यसैले यस्ता ठाउँमा पिपिसीको उपयोगिता धेरै हुने उनले बताए।
कहिलेकाहीँ ओपिसी बढी बलियो मानेर सबै निर्माणमा यही सिमेन्ट प्रयोग गर्न उपभोक्ता तत्पर हुने गैरेको अनुभव छ। तर प्लास्टरमा ओपिसी प्रयोग गर्दा छिटै चर्किने सम्भावना हुन्छ। साथै संरचना नराम्रो देखिने गैरे बताउँछन्।
सिमेन्ट किन्दा ध्यान दिनुपर्नेः
सामान्यतया सिमेन्ट बनेको मितिबाट ३ महिनाभित्र प्रयोग गर्नु उपयुक्त हुन्छ। सिमेन्टको मिति हेर्न अरू उत्पादनभन्दा अलि फरक छ। यसमा हप्ताअनुसार मिति लेखिएको हुन्छ।
यदि सिमेन्ट २०७७ साल वैशाख पहिलो हप्तामा बनेको छ भने यसमा २०७७ र १ लेखिएको हुन्छ। त्यस्तै जेठको पहिलो हप्तामा बनेको भए २०७७ र ५ लेखिएको हुन्छ। यसको अर्थ यो सिमेन्ट २०७७ सालको ५ औं हप्तामा बनेको हो।
त्यसैगरी सिमेन्टको बोरा ठीक छ कि छैन, त्यो पनि हेर्नुपर्छ। बोरा प्वाल परेको भए सिमेन्ट कम हुन पनि सक्छ। त्यसैगरी संरचना निर्माण गर्दा स्थलमा ल्याएको सिमेन्ट ओस नपर्ने ठाउँमा भण्डारण गर्नुपर्छ।सिमेन्ट भण्डारण गर्दा भुइँमा काठको फलेक वा चिसो रोक्ने सामान ओछ्याउनुपर्छ।
त्यस्तै पानी पर्दा भण्डारण गरिएको कोठामा पानी पस्छ कि पस्दैन भनेर पनि चनाखो हुनुपर्छ। पानी पसेमा सिमेन्टको गुणस्तरमा ह्रास आउनुका साथै प्रयोग गर्नै नमिल्न सक्छ। यस्तो सिमेन्ट प्रयोग गरेमा उप्किने वा संरचना नै कमजोर हुन्छ।