कंक्रिट ब्लकको उत्पादन गर्दै आएको एसियन कंक्रिटोले आफ्नो उत्पादन चालिस वर्षभन्दा बढी टिक्ने दाबी गरेको छ।
डेढ अर्ब रुपैयाँ लगानीमा ३ वर्ष अघि पश्चिम नवलपरासीमा स्थापना भएको एसियन कंक्रिटोले सडक, फुटपाथ लगायतका लागि आवश्यक कंक्रिट ब्लकहरू उत्पादन गर्दै आएको छ।
चितवनको सौराहामा भएको प्राविधिक कार्यशालामा बोल्दै एसियन कंक्रिटोका उपाध्यक्ष श्यामल झाले नेपालमै सबभन्दा ठूलो लगानीमा निर्माण भएको प्लाण्टबाट तयार भएका उत्पादनले सडक तथा फुटपाथलाई आकर्षक, गुणस्तरीय र टिकाउ बनाउने दाबी गरे।
रामग्राम नगरपालिकाको हकुईमा रहेको जर्मन प्रविधिको प्लाण्टबाटमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन भैरहेको ब्लकबाट तयार भएका संरचना चालिस वर्ष भन्दा बढी टिक्ने ग्यारेन्टी दिने गरेको उनले बताए।
यहाँ इँटा, कंक्रिट ब्लक, होलो ब्लक, कंक्रिट स्ल्याव, टाइल्स, पेवर्स, कर्वस्टोन, रंगीन स्ल्याब जस्ता निर्माण सामाग्री उत्पादन हुने गर्छन्।
फुटपाथमा प्रयोग गहुने एक दर्जन डिजाइनका निर्माण सामग्री यहाँ तयार हुन्छन्। १५० मेट्रिक टनको प्रेसर दिएर ७० हर्जको भाइब्रेसन दिई निर्माण सामग्री तयार हुने भएकाले धेरै वर्ष टिकाउ हुने उनको दाबी छ।
‘विदेशकै झल्को दिने गरी फुटपाथ बनाउने कामले गति लिन थालेको छ,’ उनले भने, ‘हामीले हाम्रो उत्पादन बेच्नेमात्र नभई संरचना निर्माणका क्रममा स्थानीय जनशक्तिलाई रोजगारी दिई सीप हस्तान्तरण पनि गर्दै आएका छौं।’
झाले विगतमा बनेका फुटपाथहरूमा स्तरीय सामग्री र सीपको प्रयोग नहुँदा केही वर्षमै बिग्रिएर काम नलाग्ने भएको भन्दै एसियन कंक्रिटोले त्यसको विकल्प बनेर अपाङमैत्री–वातावरणमैत्री आकर्षक फुटपाथ बनाउने क्रम सुरू गरेको बताए।
‘सडक बनाउँदा बटुवाका लागि सोचेको कमै देखिन्थ्यो, बिस्तारै स्थानीय तहहरूले लक्जरी फुटपाथ निर्माणमा ध्यान दिन थालेका छन्,’ झाले भने, ‘यसले सुन्दर र आकर्षक सहर निर्माणमा भूमिका खेल्नेछ।’
उनकाअनुसार एसियन कंक्रिटोसँग एकै दिनमा १० किलोमिटर सडक निर्माण गर्न पुग्ने सामग्री उत्पादन गर्ने क्षमता छ।
‘देशको आवश्यकतालाई मध्यनजर गरेर ठूलो लगानीमा ठूलो क्षमताको प्लाण्ट स्थापना गरिए पनि अहिलेसम्म कुल क्षमताको ३५ प्रतिशतमात्र उत्पादन भइरहेको छ,’ झाले भने।
उक्त उत्पादनको ७० प्रतिशत खपत सरकारी काममा र बाँकी निजी क्षेत्रमा भइरहेको उनले बताए।
प्राविधिक कार्यशालामा सहभागी ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले वर्षेनि मर्मतसम्भार गर्नुपर्ने बाध्यताबाट छुटकारा दिने भएकाले एसियन कंक्रिटो उपयोगी भएको अनुभव सुनाए।
‘छोटो समयमै ब्लक खुस्किने, पानी लिकेज हुने, खिइने जस्ता समस्याले फुटपाथ कुरुप हुन्थे। हामीले ललितपुर महानगरमा स्तरीय उत्पादन रोजेर स्तरीय काम गर्न थालेपछि अवस्थामा सुधार आएको छ,’ उनले भने, ‘अहिले विदेशका सहरको जस्तो मनै लोभ्याउने फुटपाथहरू देखिन थालेका छन्, बाँकी कार्यकालमा महानगर अझै व्यवस्थित बन्नेछ।’
उनले स्मार्ट सहर बनाउनका लागि सबभन्दा पहिले सडक र फुटपाथहरू स्मार्ट हुनुपर्ने भएकाले गुणस्तरमा कहिल्यै सम्झौता गर्न नहुने बताए।
निर्देशक अनिल जटियाकाअनुसार एसियन कंक्रिटोले देशका १० वटा सहरहरूमा रहेका आधिकारिक बिक्रेतामार्फत् सेवा दिँदै आएको छ।
पोखरा महानगरमा तयार भएको ४ किमी, काठमाडौंको अनामनगर–हनुमानथान–भाटभटेनीसम्मको १४ सय मिटर, ललितपुर महानगरमा हरिहरभवन चोकदेखि कुपण्डोलसम्म २२५ मिटर फुटपाथ, भरतपुर महानगर भित्र तयार करिब ५ किमि फुटपाथले धेरैलाई लोभ्याएको उनको दाबी छ।
ललितपुरको एकान्तकुनामा ५ मिटर चौडाइ रहेको करिब साढे ४ सय मिटर लामो आकर्षक सडक बनाइएको उनले बताए।
विगतमा फुटपाथ निर्माण गर्दा माटो माथि कंक्रिट बिछ्याउने गरिए पनि अचेल बेसनै तयार गरी कार्पेट, गलैंचा बिछ्याएजस्तो गरी आकर्षक फुटपाथ बनाउने कामलाई तीव्र पारिएको उनले बताए।
सडक निर्माणमा जस्तै मेहनत र लगानी फुटपाथका लागि पनि गरिए स्तरीय फुटपाथ बन्ने र यसले सडकको स्वरुपनै बदलिने उपाध्यक्ष झा बताउँछन्।
उनले सडक, अस्पताल, होटल तथा रिर्सोट लगायतका ठाउँमा पनि एसियन कंक्रिटोका उत्पादनको प्रयोग बढेको बताए।
एसियन कंक्रिटोको आधिकारिक बिक्रेता ओम सञ्जिवनी कंक्रिटो चितवनका प्रवन्ध निर्देशक निरञ्जन न्यौपानेले भरतपुर, गैडाकोटका धेरै ठाउँमा यसका सामाग्री प्रयोगमा आएको बताए।
उनकाअनुसार नारायणी नदीको किनारमा वाकिङ स्ट्रिट, पटिहानीको अम्व्रेला स्ट्रिट, भरतपुर महानगरको वडा नम्बर १० र ७ का विभिन्न स्थानमा सडक तथा फुटपाथ, लंकुको जेम्स फनपार्क, भरतपुर अस्पताल, भरतपुर औधोगिक प्रदर्शनी स्थलको परिसर, क्षेत्रपुरको तरकारी मण्डी, गैंडाकोटको कृषि हाट बजार, निजी घरहरुमा एसियन कंक्रिटोको उत्पादन प्रयोग भएको छ।