नागढुंगा सुरुङ मार्ग निर्माण सुरू भएको छ। मंगलबार काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य सडकबाट सुरूङ खन्ने काम सुरू भएको हो।
आयोजनाका अनुसार नारायणघाट–मुग्लिन–नौबिसेको काठमाडौं खण्डमा सुरुङ निर्माण गरेर सडक सुधार गर्ने उद्देश्यले काम सुरू भएको हो।
आयोजनका अनुसार सुरुङ मार्गको कुल लम्बाइ २.३८ किलोमिटर छ। यसमा ३.५ मिटर चौडाइका दुई लेन हुनेछन्। अहिले धादिङ खण्डमा माटो खन्ने, पर्खाल लगाउने, सडक चौडा पार्ने लगायत काम भइरहेको छ।
नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागले २०६९ साल माघदेखि २०७२ सालसम्ममा विभिन्न चरणको सर्वेक्षणको आधारमा सुरुङ मार्ग निर्माण आयोजना प्रस्ताव गरेको थियो।
प्रस्तावित सुरुङमार्ग निर्माण भएपछि नागढुंगा भञ्ज्याङको सडकको अवस्था सुधारिने र देशका अन्य स्थानहरूसँग यातायत सम्पर्क भरपर्दो हुने र यात्रा सुरक्षित हुने अपेक्षा गरिएको छ।
सन् २०२३ अप्रिलसम्म निर्माण कार्य सकिसक्नुपर्ने गरी कामको जिम्मा जापानको ठेकेदार कम्पनी हाजमा एन्डो करपोरेसनलाई दिइएको छ।
प्रस्तावित नागढुंगा सुरुङ मार्गको निर्माणका निम्ति नेपाल सरकार र जापान सरकारको बीच चार वर्षअघि नै ऋण सम्झौता भइसकेको छ।