सिमेन्ट उत्पादकहरुले उधारो नतिर्ने डिलर तथा वितरकहरुलाई कालो सूचीमा राख्ने निर्णय गरेका छन्।
सिमेन्ट उत्पादक सघंले सुचना जारी गर्दै केही विक्रेताहरुले सिमेन्टको रकम समयमा उद्योगहरुलाई भुक्तानी नगरी आलटाल गर्दै आएको हुँदा अब उप्रान्त यस्ता डिलर बिक्रेताहरुलाई कालोसूची राख्ने जनाएको छ।
कालो सूचीमा परेका डिलर वितरकहरु मार्फत उद्योगहरुले आफ्नो उत्पादनको बिक्री वितरण बन्द गर्ने र बक्यौता रकम नियमानुसार असुल उपर गर्ने सिमेन्ट उत्पादक सघंले निणर्य गरेको हो।
अहिलेको विषम परिस्थितीमा उद्योग र डिलर दुबैलाई जोगाउन यो निणर्य गरिएको सिमेन्ट उत्पादक सघंका अध्यक्ष ध्रुव थापाले बताए।
‘हामीले नगदमा कारोवार गर्दा डिलरले पनि उपभोक्तासँग नगदमै कारोबार गर्नुपर्ने बाध्यता हुन्छ। नगदमा कारोवार भएपछि हामीले उपझोक्तालाई पनि सस्तोमा सिमेन्ट उपलब्ध गराउन सक्छौ। यो निणर्यले सबै पक्षलाई फाइदा पुग्छ,’ उनले भने।
तर व्यापारीहरु भने लकडाउनले तहसनहस भएको व्यवसायलाई उत्पादकले सहयोग गर्नुको सट्टा झनै पेलेको बताउछन्।
नगदमै सिमेन्ट किन्न पर्दा व्यवसायनै जोखिममा परेको चितवन रत्ननगर स्थित श्रीकृष्ण हार्डवयेरका सञ्चालक शिव न्यौपानेले जानकारी दिए।
‘स्थानीय बजारमा सिमेन्ट उधारो नदिई सुखै छैन। अहिले त उद्योगलाई बैंकमा पैसा हालेर भौचर पठाएको भोलीपल्ट मात्रै सिमेन्ट आइपुग्छ। त्यही माथी सिमेन्टको बक्यौता उठाउन मागाएको सिमेन्ट भन्दा ३० प्रतिशत धेरै पैसा पठाउनु पर्छ,’ न्यौपानेले सेतोपाटीसगँ भने ‘पहिले सिमेन्ट मगाएको ६० दिनसम्म पैसा तिर्दा विभिन्न बोनस दिन्थ्यो। पैसा नभए ९० दिनसम्म तिर्न पाइन्थ्यो। लकडाउन भएपछि डिलरले समयमा पैसा तिर्न सकेनन्, यही पैसा उठाउन उद्योगहरुले यो निणर्य गरेका हुन्,।’