लकडाउनको सदुपयोग गर्दै विभिन्न स्थानका सडक किनारामा ट्राफिक आइल्याण्ड निर्माण गरिरहेको काठमाडौं महानगरपालिकालाई इँटा अभाव भएको छ।
यस अवधिमा कामपाले हालसम्म सुन्धारामा चार वटा ट्राफिक आइल्याण्ड निर्माण गरिसकेको छ। अब निर्माण गर्न लागिएको अन्य स्थानका लागि भने निर्माण सामग्री अभाव भएको कामपाले बताएको छ।
लकडाउनको शुरुआती समयदेखि नै सडक सौन्दर्यकरणमा जुटेको कामपालाई अहिले निर्माण सामग्री अभाव भएकाले काम रोक्नुपर्ने बाध्यता रहेको छ।
निर्माणका लागि आवश्यक पर्ने अन्य सामग्री पाइए पनि कोराना भाइरसको जोखिमका कारण इँटा उद्योग बन्द हुँदा त्यसको अभाव भएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।
‘सडकमा सवारी साधन आवतजावत कम भएकाले काम गर्न सहज भएको थियो। निर्माण सामग्री अभावका कारण अब काम नै रोक्नुपर्ने अवस्था आएको छ’, उनले भने।
निर्माण सामग्री प्राप्त भए तत्काल त्रिपुरेश्वर, दरबारमार्ग, अनामनगर र वीर अस्पताल अगाडि निर्माणको तयारीमा कामपा रहेको छ।
यससँगै कामपाले वन तथा वातावरण मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा वृक्षारोपण गर्ने तयारी रहेको पनि जानकारी गराएको छ।
यससँगै सडकको दायाँबायाँ किनारामा रोपिएका बोटबिरुवाको हाँगा काँटछाँट गर्ने र झार उखेलेर सडकलाई चिटिक्क बनाउने अभियान पनि झण्डै ४० नगर प्रहरी जुटेका छन्।
शहर सौन्दर्य पार्नका लागि कामपाले यसअघि शहरलाई नै कुरुप बनाउने गरी जथाभावीरूपमा राखिएका १३ हजारभन्दा बढी साना बोर्ड ४४ वटा ठूला होर्डिङबोर्ड पनि हटाइसकेको छ।