उपत्यकासहित आसपासका क्षेत्रको लागि फोहर फाल्नका लागि नयाँ स्थान नुवाकोट र धादिङको बन्चरेडाँडा रोजिएको छ।
सो स्थानको बिहीबार शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले शिलान्यास गरेका छन्। नुवाकोटको सिसडोलबाट २ किमिमिटर टाढा सो स्थानमा फोहर ब्यवस्थापनका लागि सरकारले बन्चरेडाँडा रोजेको थियो। कार्यक्रममा मन्त्री राईले बन्चरेडाँडामा बन्ने फोहर ब्यवस्थापन केन्द्र सिसडोलको भन्दा फरक रहने बताए।
'बन्चरेडाँडामा वातावरणलाई असर नपर्ने गरी फोहर व्यवस्थापन गरिनेछ,' मन्त्री राईले भने, 'सिसडोलको जस्तै हुन्छ भनेर स्थानीय आत्तिनुपर्देन।'
फोहर फाल्नका लागि बन्चरेडाँडामा १७ सय रोपनी जग्गा उपलब्ध छ। त्यसमा केही अधिग्रहण गरिएको हो। २ महिनापछि त्यहाँ फोहर फाल्न सकिने मन्त्रालयले जनाएको छ।
फोहर फाल्नकै लागि सरकारले २ अर्ब रुपैयाँ बिनियोजन गरेको छ।
नयाँ स्थानमा अहिलेका काठमाडौंसहित आसपासका १८ नगरका फोहर २० वर्षसम्म फाल्न सकिने मन्त्रालयले जनाएको छ। 'फोहरलाई रिसाइकल गर्ने हो भने ५० वर्षसम्म फोहर फाल्न सकिन्छ,' मन्त्री राईले भने। तर सो स्थानमा फोहर फाल्नका लागि भने सडकको अवस्था निकै नाजुक छ।