आवास निर्माणबारे एकैथलोमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी ‘विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो’ को दोस्रो दिन ४० हजार जनाले मेला अबलोकन गरेका छन्।
सहआयोजक ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले मेलामा आकर्षण बढीरहेको जानकारी दिए।
मंसिर ९ गतेसम्म सञ्चालन हुने मेलाको पहिलो दिन बिहीबार २५ हजार जनाले अबलोकन गरेका थिए । दुई दिनमा अवलोकनकर्ताको संख्या ६५ हजार नाघेको छ । मेलामा निर्माण सामग्रीका नविनतम प्रविधि, उत्पादनहरु, पेन्टस्, सिमेन्ट, फर्निचर, पाइप एन्ड फिटिंग्स्का स्टलहरुमा घर निर्माण गर्न चाहने अबलोकनकर्ताको भिड लागेको थियो ।
मेलामा क्षमादेवी विल्डिंग मेटेरियल्स्ले प्रिफ्याबका घरहरु सस्तोमा बनाइ दिने योजना ल्याएको छ । कम्पनीले एउटा कोठा ३ लाख रुपैयाँमै निर्माण गरिदिने निर्देशक जयराम अर्यालले दावी गरे ।
‘हामीले वातावरणमैत्री सामग्रीबाट सस्तोमा घर बनाइ दिने योजना ल्याएका छौं’ उनले भने, ’घर बनाउन नसक्नेलाई प्रिफ्याबका घर गुणस्तरीय र सस्तोमा बनाइ दिने छौं ।’