बैंकहरुले सिमेन्ट उद्योगमा लगानी बढाउँदै गर्दा सिमेन्टको आयात भने बढ्दै गएको देखिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष (२०७४/७५) मा विभिन्न बैंकहरुले सिमेन्टमा ६५ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन्।
त्यस्तै अघिल्लो आव (२०७३/७४) सम्म बैंकहरुले ४७ अर्ब २६ करोड रुपैयाँ लगानी गरेका थिए। यसअघि सोमबार मात्रै होङ्सी शिवम् सिमेन्टमा विभिन्न पाँच बैंकले १६ अर्ब लगानीको प्रतिबद्धता जनाएका छन्।
यसले सिमेन्ट उद्योगमा बैंकहरु लगानीका लागि आकर्षित भएको देखिन्छ। एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले स्वदेशी उत्पादन बढाई आयात प्रतिस्थापन गर्ने उद्देश्यअनुरुप बैंकहरुले सिमेन्ट उद्योगमा लगानी गरेको बताए।
‘पाँच वटा बैंकले मात्रै एउटा सिमेन्ट उद्योगमा १६ अर्ब लगानी गर्नुले पनि बैंकहरु लगानीका लागि उत्साहित रहेको देखिन्छ’ उनले भने। सिमेन्ट उद्योगमा बैंकहरुको लगानी बढ्दै जाँदा स्वदेशको माग धान्नका लागि आयातित सिमेन्टमा बाहिरिने रकम वर्षेनि बढ्दै गएको छ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्रै ३१ अर्ब १७ करोड रुपैयाँको सिमेन्ट भारतबाट आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा २४ अर्ब ३ करोड रुपैयाँको सिमेन्ट भारतबाट आएको थियो।
अघिल्लो वर्षको तुलनामा गत आवमा २९ प्रतिशतले सिमेन्ट आयात बढेको छ। अघिल्लो वर्ष १०५ प्रतिशतले सिमेन्टको आयात बढेको तथ्याङ्कले देखाउँछ।
भूकम्पपछिको पुर्ननिर्माणमा देश अघि बढ्दै गर्दा आत्मनिर्भर उन्मुख भनिएको सिमेन्टसहित निर्माण सामाग्रीको आयातमा ठूलो रकम बाहिरिरहेको छ।
देशभित्र धेरै ब्रान्डका सिमेन्ट उद्योग भए पनि तिनले माग धान्न सकेको अवस्था देखिँदैन। उद्योगीहरुका अनुसार करिब ५० सिमेन्ट उद्योगहरु यहाँ संचालनमा छन्।
यहीबीचमा सबैभन्दा ठूलो क्षमताको होङ्सी शिवम् सिमेन्ट पूर्ण क्षमतामा संचालनमा आउँदैछ। हाल थोरै परिमाणमा मात्रै सिमेन्ट उत्पादन थालेको यसको पूर्ण क्षमता भने प्रतिदिन ६ हजार टन अर्थात १ लाख २० हजार बोरा रहेको छ। यो क्षमता नेपालमा संचालित उद्योगमध्येको सबैभन्दा धेरै हो। यसलाई बढाएर १२ हजार टन पुर्याइने उद्योगले जनाएको छ।
यसको कुल अनुमानित लागत ३७ अर्ब रुपैयाँ छ।