पुनर्निमार्णको काम असरल्ल बाँकी नै रहँदा हेभी इक्युप्मेन्टको आयात घटेको छ। आर्थिक वर्ष २०७४/७५ मा हेभी इक्युप्मेन्टको आयातमा गिरावट आएको हो।
यातायात व्यवस्था विभागको तथ्याङ्क अनुसार सो आर्थिक वर्ष क्रेन, डोजर, एक्सकाभेटर र ट्रक जस्ता हेभी इक्युप्मेन्ट अघिल्लो आव २०७३/७४ मा भन्दा ५ सय ५८ वटा कम दर्ता भएका छन्।
विभागका अनुसार आव २०७३÷७४ मा १२ हजार ७ सय १२ वटा दर्ता भएका थिए भने गत आवमा १२ हजार १ सय ५४ वटा मात्रै दर्ता भएका छन्।
विगतका वर्षमा जुनसुकै व्यवसाय गर्नेहरुले पनि हेभी इक्युप्मेन्टमा लगानी गरेकाले यसको आयात ह्वात्तै बढेको र पछिल्लो समय कामै पाउन छोडेपछि आयात घटेको हेभी इक्युप्मेन्ट व्यवसायी महासंघका अध्यक्ष तारा बाहादुर कुँवरले जानकारी दिए।
‘पहिला धेरै नाफा हुन्छ भनेर जे काम गर्नेले पनि हेभी इक्युप्मेन्ट किने, कामै पाउन छाडेपछि यो वर्ष आयात नै घट्यो’ उनले भने। धेरैले यो व्यवसायमा लगानी गरेपछि यसमा मात्र निर्भर व्यवसायीहरु मारमा परेको उनले गुनासो पोखे।
आर्थिक वर्ष २०७२/७३ पछि नेपालका हेभी इक्युप्मेन्टको आयात ह्वात्तै बढेको थियो। भूकम्पपछि अत्याधिक माग रहेको हेभी इक्युप्मेन्ट आर्थिक वर्ष २०७२/७३ मा ८ हजार ३ सय २८, आव २०७३/७४ मा १२ हजार ७ सय १२ र आव २०७४÷७५ मा १२ हजार १ सय ५४ वटा दर्ता भएका छन्।
यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०४६/४७ देखि हालसम्म ९० हजार ४ सय ११ वटा क्रेन, डोजर, एक्साभेटर र ट्रक जस्ता हेभी इक्युप्केन्ट दर्ता भएका छन्।
जसमध्ये ३३ हजार १ सय ९४ वटा आर्थिक वर्ष २०७२/७३ पछि दर्ता भएका हुन्। यो आर्थिक वर्ष २०४६/४७ देखि कुल आयातको ३६.७१ प्रतिशत हो। यस अघि आर्थिक वर्ष २०७०/७१ मा मात्र हेभी इक्युप्मेन्टको आयात घटेको थियो।