घोराही सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ। गोग्लीस्थित घोराही सिमेन्ट उद्योगबाट उत्पादित ओपिसी सिमेन्ट ‘गुणस्तरहीन’ रहेको आरोप लागेपछि अध्ययनका लागि स्थानीय प्रशासनले उद्योगको उत्पादन बन्द गराएको हो।
उत्पादित सिमेन्ट ‘गुणस्तरहीन’ रहेको भन्दै साउन १६ गते बिक्री बितरण रोक्न आग्रह गरी बर्दिया जिल्ला प्रशासन कार्यालयले दाङलाई पत्राचार गरेको थियो। जिल्ला प्रशासन कार्यालय दाङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले तीन÷चार दिनदेखि उत्पादन रोकेको जानकारी उद्योगले दिएको सेतोपाटीलाई बताए।
गुणस्तर तथा नापतौल विभागका पदाधिकारी घोराही (सगरमाथा) सिमेन्टमा बुधवार आउने भएपछि उद्योगले मंगलबार मात्रै उत्पादन बन्द गरेको स्रोतले बताएको छ।
दाङका निमित्त प्रमुख जिल्ला अधिकारी आचार्यले आफुले साउन १६ गते नै बर्दिया बाट पत्र प्राप्त हुनासाथ घोराही सिमेन्ट उद्योगलाई पत्रचार गरेको जानकारी दिए। तर उद्योगले भने यसअघि प्रशासनको पत्र नआएको भन्दै उत्पादन जारी राखेको थियो।
उद्योगले प्रशासनलाई अटेरी गर्दै आए पनि सिमेन्टबारे ‘गुणस्तर’ अनुसन्धान गर्न गुणस्तर विभागबाटै प्राविधिक टोली आउन लागेको थाहा पाएपछि मात्रै उद्योगले उत्पादन रोकेको हो।
सिमेन्ट ‘गुणस्तरहिन’ रहेको बारे अनुसन्धान गर्न बुधवार गुणस्तर तथा नापतौल विभागका निर्देशक मनोजकुमार उपाध्याय र मेकानिक ईञ्जिनियर उमेश यादवसहितको टोली दाङ आइपुगेको दाङका निमित्त प्रजिअ आचार्यले बताए।
‘बर्दियाबाट अचानक पत्र आउँदा हामीलाई पनि आश्चर्य लाग्यो, हामीले त्यसै दिन गृह मन्त्रालयलाई प्राविधिक पठाई दिन पत्राचार ग¥यौँ’ उनले भने ‘बुधबार निर्देशक सहितको टोली आएको छ।’
उनले घोराही सिमेन्ट बाट उत्पादित ओपिसी सिमेन्टको नमुना सुरक्षित राखेको जानकारी दिँदै विभागको अनुसन्धानबाट प्राप्त नतिजाको आधारमा अगाडि बढ्ने जानकारी दिए। ‘यदी गुणस्तरमा कमजोरी पाइएमा हामी एक्सनमा उत्रन्छौँ’ उनले भने।
जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार जेठ ३१ गते बजार अनुगमनको क्रममा सगरमाथा ब्राण्डको ओपिसी सिमेन्ट नमुना परिक्षणका लागि गुणस्तर तथा नापतौल विभागमा पठाएको र विभागबाट ‘गुणस्तरहिन’ भएको प्रतिवेदन आएको थियो। सो प्रतिवेदनपछि उत्पादन रोक्न भनिइएको थियो।
यसैबीच जिल्ला प्रशासन कार्यालय दाङलाई साउन १६ गते पत्र प्राप्त भएपनि साउन १७ गते उद्योगबाट उत्पादित सिमेन्टलाई उद्योग परिसरमै परीक्षण गर्ने तयारीका लागि शिलबन्दी गरेर राखेको छ।
‘हामी सिमेन्टका विषयमा जानकार निकाय हैनौँ, बाहिर राख्दा परीक्षणमै फेरि समस्या आउन सक्ने भएकाले उद्योगमै नमुना शिलबन्दी गरेर राखेका हौँ’ निमित्त प्रजिअ आचार्यले भने।
आचार्यले सिमेन्टको स्टक उद्योगमा नहुँदा दाङको तुलसीपुर क्षेत्रबाट साउन १७ गते बजारको सिमेन्टलाई उद्योगमै ल्याएर शिलबन्दी गरेको जानकारी दिए।
यसअघि परीक्षण भएको सिमेन्ट पुरानो स्टक हुन सक्ने वा भण्डारण गर्ने स्थान उपयुक्त नहुँदा गुणस्तर खस्किएको हुन सक्ने दाबीका साथ उद्योगले आफ्नो बचाउ गर्दै आएको छ।