आजभन्दा ४० वर्षअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक बस्ने ठाउँ भनेको भेडी गोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडी नै हुन् । अन्नपूर्ण पदयात्रा मार्गका स्थानीय समाजसेवी एवम् संरक्षण उपसमिति भनुवाका उपाध्यक्ष जंगबहादुर गुरुङको मानसपटलमा यो सम्झना ताजै छ ।
पछिल्लो तीन दशकयता भने पर्याप्त होटल नरहे पनि पदयात्रा मार्गमा रहेका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छे आधार शिविर र अन्नपूर्ण आधार शिविरमा जम्मा २६ वटा होटेल सञ्चालनमा रहेको उनले जानकारी दिए।
अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको हालसम्मको निर्धारित मापदण्डअनुसार प्रत्येक होटलमा छवटा कोठाका दरले १५६ वटा कोठा रहेका छन् ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो ।
समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलता पछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।
अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।
समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्रा पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको स्थानीय समाजसेवी एवम् अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव–२०७४ का संयोजक ललित गुरुङले बताए ।
“विश्वका उत्कृष्ट पदयात्रा मार्ग मध्येको अन्नपूर्ण आधार शिविरसम्मको पदमार्गमा बढिरहेको स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षणलाई कायम राख्न अझै धेरै काम बाँकी छन्,” उनले भने , “परम्परागत भेडी गोठबाट पर्यटकलाई आतिथ्यता प्रदान गरेका यस क्षेत्रका स्थानीयवासीले पछिल्ला समयमा केही सुविधासम्पन्न होटेल सञ्चालन गरे पनि त्यो पर्याप्त हुन सकेको छैन ।”
घान्द्रुकबाट पदयात्रा गर्दै आधार शिविरसम्म पुग्न विदेशी पर्यटकले सामान्यतः चार दिनको समय छुट्याउने गरेका छन् भने स्वदेशी पर्यटकले तीन दिन । पदमार्ग क्षेत्रमा बनेका २६ होटेलका १५६ वटा कोठाले पर्यटकको चापलाई थेग्न नसक्ने वास्तविकतालाई दृष्टिगत गरी होटेलको क्षमता अभिवृद्धि गराउने लगायतका विषयलाई अन्नपूर्ण गाउँपालिकाले अत्यन्त गम्भीरताका साथ लिएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताए ।
सिनुवादेखि अन्नपूर्ण आधार शिविरसम्म विगत ४० वर्षअघिदेखि होटेलहरूले चर्चेका जग्गाको भोगाधिकार विषयका समस्यालाई पनि वैज्ञानिक ढंगले समाधान गरिने उनले जानकारी दिए । विगतमा पदयात्रामा आउने विदेशी पर्यटकले स्थानीय दातभात, ढिँडो जस्ता लेकाली खाना खानुपर्ने बाध्यता रहेकामा पछिल्ला वर्षमा यहाँका होटेलले विदेशी परिकार पनि तयार गर्न थालेको अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले बताए ।
“अहिले पदयात्रा आउने पर्यटकले जस्तो भने त्यस्तै परिकार खान पाउँछन्,” उनले भने , “२०४३ सालमा एक्याप स्थापना भएयता स्थानीयवासीले विभिन्न समयमा तालीमसमेत पाएका छन् भने विभिन्न परिकार बनाउन सक्ने तालीम प्राप्त व्यक्तिहरूलाई होटेलले राख्न थालेका छन् ।”
भेडी गोठबाट शुरु पदमार्ग क्षेत्रको पर्यटन आधुनिकतामा प्रवेश गरे पनि यहाँ विद्युतीकरण लगायतका थुप्रै्र समस्याबाट आफूहरू मुक्त नभएको माछापुच्छे आधार शिविरस्थित फिष्टेल होटल एण्ड लजका सञ्चालक दिलीप गुरुङले बताए ।
परम्परागत होटेलहरू तिनै भेडी गोठका साथै चित्रा र भकारीले बारेका झुपडी भएका कारण हालै अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका अवसरमा आउने पर्यटकलाई परम्परागत आवासमा बस्ने व्यवस्था मिलाइएको महोत्सव आयोजक मूल समितिका महासचिवसमेत रहेका गुरुङले बताए।
अन्नपूर्ण पदमार्ग क्षेत्रको समग्र विकासका लागि बृहत् गुरुयोजनासहित अघि बढ्नु अपरिहार्य भएको पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङका अध्यक्ष इन्द्रमणि शर्माको भनाइ छ । उनका अनुसार पदमार्ग क्षेत्रमा रहेका देउरालीको पूर्वतर्फको पहाडमा अवस्थित बुद्धाकृति, दोभान र हिमालको बीचमा अवस्थित अति प्राचीन पूजनीयम् बराह र उक्त मन्दिर परिसरबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातो पानीको कुण्ड जस्ता स्थललाई थप व्यवस्थित गर्दै त्यसको प्रचारप्रसार गर्नु अपरिहार्य छ ।
विद्युतीकरण नहुँदा यहाँका होटेलमा पर्यटकलाई अपेक्षित सेवासुविधा दिन सकिएको छैन । त्यसकारण यहाँ तत्काल विद्युतीकरणको व्यवस्था गरिनुपर्ने व्यवसायीहरुको माग छ ।