झिलिमिलीको मात्रै होइन मिठाईको पर्व पनि हो तिहार।
त्यसैले यतिबेला राजधानीका विभिन्न मिष्ठान्न भण्डारहरुलाई मिठाई उत्पादन गर्न भ्याईनभ्याई छ। दिदीबहिनीले आफ्ना दाजुभाइलाई टिका लगाएर मिठो खुवाउने मान्यताअनुरुप मिठाईको प्रयोग बढ्दै गएको छ।
अर्कोतर्फ आफैले रोटी तथा मिष्ठान्न परिकारहरु बनाउने भन्दा पनि व्यस्त जीवनशैलीसँगै पसलबाटै किनेर ल्याउने परिपाटी बढेको छ।
‘पहिले पो गाउँमा हुँदा धेरै प्रकारका रोटीहरु बनाइन्थ्यो, तर यतै तिहार मनाउन थालेपछि रोटीहरु बनाउन भ्याइँदैन’ शान्तिनगरमा बसोबास गर्दै आएकी पूर्णिमा पौडेलले भनिन् ‘पसलबाट मिठाई ल्याएर दाजुभाइलाई त्यही दिने हो।’
२-३ वर्षअघिसम्म आफैले सेलरोटी बनाउने गरेकी उनले हालका दिनमा सेलरोटी पनि किनेर ल्याउने गरेको बताइन्। ‘किन्न पाइहालिन्छ, चिल्लो रोटी धेरै खाइने पनि होइन, त्यसैले घरमा बनाउन छोडियो’ उनले भनिन्।
तर बजारमा पाइने मिठाई खान कति योग्य छन् भन्ने सम्वन्धमा न उपभोक्ता नै सचेत छन् न त सरकारी निकायहरुले नै प्रभावकारी रुपमा अनुगमन तथा कारबाही गर्न सकेका छन्।
असोज २४ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको टोलीले कालिमाटीस्थित मंगलसिद्धी मिष्ठान्न भण्डारको अनुगमन गर्यो। अनुगमनका क्रममा मिठाई बनाउने भान्सा अव्यवस्थित भएको र दुषित पदार्थको प्रयोग भएको पाइएपछि टोलीले उक्त भण्डारनलाई उत्पादन बन्द गर्न निर्देशन दियो।
भान्सामा सरसफाई तथा व्यवस्थित गरेपछि पुनः अनुगमन गरेर मात्रै उत्पादन दिने गरी बन्द गरिएको विभागका सहप्रवक्ता तथा अनुसन्धान अधिकृत मदन चापागाईंले बताए। असोज २४ गतेयता विभागले राजधानीका दुई दर्जन मिष्ठान्न भण्डारको अनुगमन गरेको छ।
अनुगमनका क्रममा अधिकांशको भान्सा अव्यवस्थित भएको पाइएको चापागाईंले बताए। कतिपय उद्योगले मिठाईमा एक पटक प्रयोग गरेको घ्यू तथा तेल धेरै दिनसम्म पुनः प्रयोग गर्ने गरेको, अनावश्यक रङ मिसाउने गरेको, कर्मचारीले हात नधोईकन काम गर्ने गरेको जस्ता कैफियत टोलीले भेटाएको छ।
बेलाबेलामा आफू पनि अनुगमनमा जाने गरेको बताउँदै उनले धेरै मिठाई पसलहरु हालका दिनमा व्यवस्थित हुँदै गएको बताए। ‘अनुगमन हुन थालेपछि पछिल्ला दिनमा मिष्ठान्न भन्डारको उत्पादन कक्षमा सरसफाई र व्यवस्थित हुँदै गएको पाइएको छ, कतिपयलाई सुधारका लागि समय दिएका छौँ।’
पाटनस्थित पशुपति फुड्स उद्योग, थापाथलीस्थित रामण्डार लगायतका मिठाइ उत्पादकहरुले भने अहिले भान्सालाई सरसफाई तथा व्यवस्थित गरेको उनले जानकारी दिए। यसअघि गत वर्षको अनुगमनमा दुवै पसल कारबाहीमा परेका थिए।
मिष्ठान्न भण्डार र उत्पादन कक्षमा पनि अनुगमनको खाँचो औंल्याउँदै टोलीले हालका दिनहरुमा अनुगमनलाई केही तिव्रता दिएको छ।
पछिल्ला केही दिनमा राजधानीका मिठाई पसलहरुमा अनुगमन बढाइको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
चापागाईंका अनुसार अनुगमन कार्य तिहारसम्म तिव्र गतिमा अघि बढ्नेछ।