बडादशैँका लागि मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगो भएको छ ।
भक्तपुरको सल्लाघारी ल्याइपुर्याइएका भेडाच्याङ्ग्रा महँगो भएपछि उपभोक्ताको चापसमेत कम भएको छ । यस वर्ष यहाँका च्याङ्ग्रा प्रतिकिलो रु ६७५ देखि रु ७०० सम्म र भेडा प्रतिकिलो रु ६०० मा बिक्री भएको छ ।
मुस्ताङमै भेडाच्याङ्ग्रा महँगो भएकाले यस वर्ष ल्याइपुर्याएको च्याङ्ग्राको मूल्य पनि महँगो भएको सिन्धुपाल्चोकका व्यापारी रमेश खड्काले बताए।
मुस्ताङको घार(बथान)मै एउटा च्याङ्ग्राको रु १५ हजारदेखि रु २२ हजारसम्म तिर्नुपरेकाले महँगो भएको उहाँको भनाइ छ । त्यसमाथि पनि जोमसोम, घासा र तातोपानीमा कर तिर्नुपरेको तथा ढुवानी खर्चसमेत बढी परेपछि महँगो भएको हो ।
सल्लाघारीमा करिब दुई हजार च्याङ्ग्रा र ७०० भेडा ल्याइएको छ । अर्का व्यापारी विष्णुभक्त श्रेष्ठले गत वर्ष प्रतिकिलो रु ६५० मा च्याङ्ग्रा र भेंडा करिब रु ५५० मा बिक्री गरिएको बताए ।
खसी र बोका भने यहाँ प्रतिकिलो रु ५०० मा बिक्री भइरहेको छ । विगतका वर्षमा भेडाच्याङ्ग्रा ल्याउनेबित्तिकै उपभोक्ताको भीड लाग्ने भए पनि यस वर्ष भने आजसम्म थोरै मात्र उपभोक्ता आएको व्यापारी श्यामभक्त श्रेष्ठले बताए।