'महिला भएर रातको ९-१० बजेसम्म घरबाहिर बस्नु हुँदैन भन्ने म विश्वास गर्दिनँ। महिला होस् वा पुरूष, आफ्नो इच्छाअनुसार काम गर्न स्वतन्त्र हुन्छ र हुनुपर्छ। मान्छेलाई काममा व्यस्त रहन र मिहिनेत गर्न विवाहले छेकबार लगाउन हुँदैन।'
यो भनाइले नै सुस्मिता अर्यालको व्यक्तित्व झल्काउँछ।
३५ वर्षकी सुस्मिता विवाहित हुन्। एउटी छोरी छे। कानुनमा स्नातक गरेकी उनलाई पत्रकारिता र सामाजिक कामको अनुभव पनि छ। उनको अहिलेको दैनिकी यस प्रकार छ —
उनी बिहान घरको काम सकेर छोरीलाई स्कुल पुर्याउँछिन्। त्यसपछि १० बज्दा–नबज्दै काठमाडौं महानगरपालिकाको १४ नम्बर वडा कार्यालय जान्छिन्। उनी उक्त वडाकी न्यायिक सहजकर्ता हुन्।
घरेलु हिंसादेखि जग्गा विवाद, छरछिमेकीको झगडा, पारिवारिक कलह लगायतका मुद्दामामिला लिएर आउने स्थानीयसँग छलफल गर्नु र कानुनी परामर्श दिनु उनको रोजको काम हो। त्यसरी आउने सेवाग्राही जनतालाई मुद्दा कसरी अघि बढाउने भनी सल्लाह दिनुका साथै उनीहरूका लागि चिठीपत्र लेखिदिनु सुस्मिताको जिम्मेवारीमा पर्छ।
कार्यालय समयभरि न्यायिक सहजकर्ताको भूमिका निर्वाह गरेपछि जसै साँझ ५ बज्छ, उनको भूमिका फेरिन्छ।
उनी १४ नम्बर वडा कार्यालय कलंकीबाट हतार हतार सीतापाइला चोक पुग्छिन् र 'सेल्सबेरी' डिपार्टमेन्ट स्टोर सँगैको एउटा क्याफेमा पस्छिन्।
'कफी ब्रेक' नामको यो क्याफेमा छिरेपछि सुस्मिताको नयाँ जिम्मेवारी सुरू हुन्छ।

बिहान घरको काम र दिउँसो वडा कार्यालयको काम सकेपछि उनको साँझ यही क्याफेको निम्ति हो। लगभग रातको ९ बजेसम्म उनी क्याफेमै हुन्छिन् र भान्सादेखि काउन्टरसम्म सबै सम्हाल्छिन्।
घरमा कसैकी पत्नी, कसैकी आमा र कसैकी बुहारी सुस्मिताले वडा कार्यालयको न्यायिक जिम्मेवारी सँगसँगै क्याफेको व्यावसायिक जिम्मेवारी पनि दक्षतापूर्वक निर्वाह गरिरहेकी छन्।
क्याफेको व्यस्तताले छोरीलाई दिनुपर्ने समय नगुमोस् भन्नेमा उनी सचेत छिन्। त्यसैले स्कुलबाट सोझै क्याफेमा ल्याउँछिन्। स्कुलको होमवर्क गराउनेदेखि छोरीलाई पढाउने–लेखाउने र छोरीसँग ममतामयी समय बिताउने काम क्याफेमै हुन्छ।
सुस्मिताले आजभन्दा आठ वर्षअघि यो क्याफे सुरू गर्दा उनकी छोरी जम्मा दुई वर्षकी थिइन्। त्यति बेला छोरीलाई पिँठ्यूमा बोकेर उनले क्याफे धानेकी थिइन्। अहिले १० वर्षकी छोरी पनि आमाको दैनिकी र क्याफेसँग अभ्यस्त भइसकिन्। बेला बेला सुस्मिता बेफुर्सदी भएका बेला उनी आफै अघि सरेर ग्राहकसँग गफ गरिरहेकी हुन्छिन्।
चितवनकी सुस्मिताको निम्ति वडा कार्यालयको न्यायिक काम जति स्वाभाविक हो, क्याफे सञ्चालन उति नै अस्वाभाविक। उनले जिन्दगीमा व्यवसाय गर्छु भनेर कहिल्यै सोचेकी थिइनन्।
उनी सानैदेखि न्याय क्षेत्रमा लाग्न चाहन्थिन्। त्यसैले प्लस–टूमा पत्रकारिता पढेपछि कानुनमा स्नातक गरिन्। केही समय एफएफ रेडियोमा पत्रकारिता पनि गरिन्। मानव सेवा आश्रममा काम गरेको अनुभव पनि उनीसँग छ।
यसरी विभिन्न काम गरेको अनुभव संगाल्ने क्रममा एकदिन भिनाजुमार्फत् क्याफे चलाउने कुरा आयो।
'भिनाजु मलेसियाको रेस्टुरेन्टमा काम गर्नुहुन्थ्यो। उहाँलाई नेपालमा व्यवसाय सुरू गर्न मन थियो,' सुस्मिताले भनिन्, 'त्यसैबाट प्रेरित भएर मैले र दिदी सुष्मा अर्यालले यो क्याफे खोल्ने निधो गर्यौं।'
सुष्मा अर्याल
मान्छेहरू उनलाई कति काम गर्न सकेको भनेर प्रश्न गर्छन्। कोही कोही त कति धेरै व्यस्त भएको भनेर जिस्क्याउँछन् पनि। तर सुस्मिताको निम्ति व्यस्त रहनु बाध्यता होइन, रहर हो।
'काम जतिसुकै धेरै भए पनि मलाई डर लाग्दैन। डर त त्यतिखेर लाग्छ, जब मसँग काम हुँदैन, हात खाली हुन्छ। काम नभए कसरी बाँच्न सकिएला भनेर म त्यसै आत्तिन्छु,' सुस्मिताले भनिन्, 'मलाई समयले बाँधेर राख्दैन। महिलाले यो–यो काम गर्नुपर्छ, यो–यो गर्न हुँदैन भनेर सीमा तोकेको मलाई मन पर्दैन। म आफूलाई जे ठिक लाग्छ त्यही गर्छु। म आफ्नो कामको नियमबाहेक पारम्परिक नियममा विश्वास गर्दिनँ।'
उनले हाँस्दै अगाडि भनिन्, 'मलाई आफू 'मल्टी-टास्कर' (एकै समयमा धेरै काम गर्न सक्ने) हुँ जस्तो लाग्छ।'
हुन पनि बिहानदेखि बेलुकीसम्म एकछिन हात खाली नराखी बस्न 'मल्टी-टास्कर' ले बाहेक अरू कसले सक्छ!
सीतापाइलाको 'कफी ब्रेक' क्याफेमा सुस्मिता र उनकी दिदी सुष्माले बराबर लगानी गरेका छन्। उनीहरूले सात लाख रूपैयाँमा यो क्याफे सुरू गरेका हुन्। क्याफे चलाउने कुरा उठेपछि उनी कफी बनाउने तालिम लिन गएकी थिइन्। त्यही तालिम केन्द्रबाट किस्ताबन्दीमा कफी मेसिन ल्याएर काम थालेको उनी सम्झन्छिन्।
'हामीले सामान्य ढंगमा यो क्याफे सुरू गरेका थियौं। कमाउँदै गएपछि लगानी थप्दै गयौं,' उनले भनिन्, 'मलाई क्याफे चलाउने खासै आइडिया केही थिएन। तर चलाउन सक्छु भन्ने आँट चाहिँ थियो।'
दिदी–बहिनीको त्यही आँट र मिहिनेतले नै कफी ब्रेक क्याफे आज सीतापाइलादेखि रामकोट, छाउनीदेखि बाफलसम्म परिचित ब्रान्ड बनेको छ। मान्छेहरू साथीभाइ भेट्न होस् वा फुर्सतको समय काट्न; कफी ब्रेक नै रोज्ने गरेका छन्।
क्याफेको निम्ति दिदी–बहिनीले समय पनि छुट्टयाएका छन्। सुस्मिता साँझ ५ देखि राति ९ बजेसम्म बस्छिन् भने बिहानभरि सुष्मा हुन्छिन्। सुष्माको दुई जना बच्चा भएकाले उनको घरायसी जिम्मेवारी बढी छ। त्यसैले क्याफेको निम्ति सरसामग्री किन्नेदेखि हिसाबकिताबको काम सुस्मिताले नै हेर्छिन्। दिदी–बहिनीबाहेक दुई जना कर्मचारी पनि क्याफे सञ्चालनमा बराबर सहभागी छन्।
'मलाई त यो क्याफे दोस्रो घरजस्तै लाग्छ,' सुस्मिताले भनिन्, 'हुन पनि म घरमा भन्दा बढी क्याफेमै हुन्छु।'

यो क्याफेमा सबै उमेरका ग्राहक आउँछन्। व्यावसायिक भेटघाटदेखि साथीभाइको जमघटसम्म यहीँ हुन्छ। आठ वर्षदेखि नियमित आइरहने ग्राहक पनि टन्नै छन्। त्यस्ता नियमित ग्राहकले अर्डर दिन पर्दैन। उनीहरू के खान्छन् भन्ने सुस्मिता र उनका कर्मचारीलाई पहिल्यै थाहा हुन्छ। कहिलेकाहीँ नियमितभन्दा फरक चिज खान मन भए मात्र उनीहरू आफ्नो अर्डर दिने गर्छन्। क्याफेमै आउने ग्राहकबाहेक वरपरका अफिस वा पसलमा डेलिभरीको सुविधा पनि छ।
'हामीकहाँ बढी बिक्ने दूधको चिया र अमेरिकानो कफी हो। कोही कोही त एकै बसाइमा सात–आठ कप चिया वा कफी पनि खान्छन्,' उनले भनिन्, 'दिनको कम्तिमा आठ–दस हजार रूपैयाँको व्यापार हुन्छ।'
यहाँ चियाको मूल्य ६५ रूपैयाँबाट सुरू हुन्छ भने कफीको मूल्य १२० बाट सुरू हुन्छ। चिया–कफीबाहेक लस्सी, मोजितो लगायतका पेय पदार्थ र बेकरी आइटम पनि पाइन्छन्। बेकरीको मूल्य १५० बाट सुरू हुन्छ। बेकरी आइटम उनीहरू क्याफे सोमाबाट ल्याउँछन्। बासी नहोस् भनेर हरेक दिन बिराएर बेकरी ल्याउने गरेको सुस्मिताले बताइन्।
उनका अनुसार क्याफेमा बिहान र साँझको समय धेरै ग्राहक आउँछन्। दिउँसो पनि खाली चाहिँ कहिल्यै हुन्न। अझ पानी परेको बेला त बस्ने ठाउँ नपाएर उभिएरै पनि खान्छन्। सेल्सबेरी डिपार्टमेन्ट स्टोरी नजिकै भएकाले सामान सकियो भनेर ग्राहक फर्काउन नपरेको सुस्मिताको भनाइ छ।
'दूध, चिनीदेखि कफी र चियापत्तीसम्म हरेक सामान सेल्सबेरीबाट ल्याउँछौं,' उनले भनिन्, 'अहिलेसम्म आएका ग्राहक फर्काउनुपरेको छैन।'

सुस्मिता बिहानदेखि बेलुकीसम्मको आफ्नो दैनिकीबाट मात्र होइन, क्याफेको कमाइबाट पनि सन्तुष्ट छिन्। यसले दिदी र आफ्नो परिवार आरामले चलिरहेको उनको भनाइ छ।
त्योभन्दा ठूलो कुरा त, बिहानदेखि बेलुकीसम्म व्यस्त रहन पाउँदा जिन्दगी नै ऊर्जावान् लाग्ने उनी बताउँछिन्।
'म जति ऊर्जाका साथ बिहान घरबाट निस्कन्छु, त्यति नै ऊर्जा लिएर साँझ क्याफेमा आउँछु। यहाँ आएपछि त ऊर्जा झन् दोब्बर हुन्छ,' उनले भनिन्।
'बिहानदेखि बेलुकीसम्म घरबाहिर बस्दा परिवारले केही भन्दैनन् त?'
मेरो यो प्रश्नको जबाफमा सुस्मिताले भनिन्, 'महिला भएर रातको ९-१० बजेसम्म घरबाहिर बस्नु हुँदैन भन्ने म विश्वास गर्दिनँ। महिला होस् वा पुरूष, आफ्नो इच्छाअनुसार काम गर्न स्वतन्त्र हुन्छ र हुनुपर्छ। मान्छेलाई काममा व्यस्त रहन र मिहिनेत गर्न विवाहले छेकबार लगाउन हुँदैन।'
यति भन्दा भन्दै आफूलाई व्यवसायीका रूपमा सफल बनाउन घरपरिवार र खासगरी श्रीमान प्रकाश घिमिरेको ठूलो साथ र सहयोग रहेको उनी बताउँछिन्।
क्याफेको साजसज्जादेखि कस्ता खालका कप-प्लेट प्रयोग गर्ने र क्याफेको आउटलुक कसरी राम्रो बनाउने भन्नेमा समेत प्रकाशको ठूलो भूमिका रहेको उनको भनाइ छ। अहिले पनि उनी क्याफे सजाउन गमलादेखि फूल खोज्नेसम्म काम गरिरहन्छन्।
'महिलाले आफ्नो बाटो आफै कोर्ने हो। त्यसमा घरपरिवारको साथ रह्यो भने यात्रा सहज हुन्छ,' उनले भनिन्, 'मेरो जीवनको यात्रामा मेरो श्रीमान साथी बनेर हरपल मसँगै रहनुभयो। मैले आफ्नो हरेक निर्णयमा उहाँको भरपुर साथ र सहयोग पाइरहेको छु।'
उनले अगाडि भनिन्, 'म त यो व्यवसायलाई अझ विस्तार गर्दै लैजाने सोचमा छु।'
यही सोचअनुसार केही समययता टोखामा पनि 'कफी ब्रेक' को शाखा विस्तार गरेको उनले जानकारी दिइन्।
***

