'आजभोलि कुन व्यवसाय गर्ने सपना देख्दैछौ?'
एकदिन साथीले यस्तो भन्दा रचना दंगालको मन अमिलो भयो।
रचनालाई पहिल्यैदेखि व्यवसायमा रूचि थियो। उनी पढाइ सँगसँगै आफ्नै व्यवसाय गर्न चाहन्थिन्। उनको दिमागमा सधैं नयाँ नयाँ आइडिया घुमिरहन्थ्यो। उनी त्यो आइडिया साथीभाइलाई सुनाइरहन्थिन्।
तर त्यो दिन साथीको मुखबाट यस्तो प्रश्न सुनेपछि उनले उपहास ठानिन्। काम गर्ने होइन, सपना मात्र देख्छ भनेर खिल्ली उडाएको महसुस गरिन्।
कहिलेकाहीँ यस्तै घटना मान्छेको जिन्दगीमा 'टर्निङ प्वाइन्ट' बनेर आउँछ।
साथीले उपहास गरेको भए पनि, वा हल्का मजाक गरेको भए पनि रचनाले त्यसलाई गम्भीर रूपमा लिइन्।
त्यो घटनालगत्तै उनले आफ्नो अर्को साथी लीला धामीलाई भेटिन् र सोधिन्, 'हामी मिलेर केही गर्ने हो?'
लीलालाई पनि व्यवसायमा रूचि छ भन्ने रचनालाई थाहा थियो। दुवै मिलिजुली काम गरौं भन्ने उनी चाहन्थिन्।
रचनाको प्रस्ताव लीलाले तुरून्तै स्वीकार गरिन्।
भोलिपल्टै यी दुई जना सटर खोज्न निस्के।
र, यहीँबाट सुरू भयो रचना र लीलाको संयुक्त व्यावसायिक यात्रा।
रचना र लीलाको भेट 'काठमाडौं स्कुल अफ ल' मा स्नातक पढ्दा भएको थियो। दुवैले वाणिज्य कानुन विषय लिएका थिए। अहिले दुवै जना स्नातक तहको अन्तिम परीक्षा दिएर नतिजा कुरिरहेका छन्।
यही फुर्सदको समय कसरी सदुपयोग गर्ने भन्ने हुटहुटीले उनीहरू व्यवसायको पुरानो सपना पूरा गर्न अग्रसर भएका हुन्।
उनीहरू दुवैसँग व्यवसायको थोरबहुत अनुभव थियो। रचना विभिन्न किसिमका गहना हातैले बनाउँथिन् र अनलाइन बेच्ने गर्थिन्। लीला पनि किम्ची (कोरियन अचार) बनाएर अनलाइन बेच्थिन्।
उनीहरूले अर्को दुई जना साथीसँग मिलेर अनलाइन थ्रिफ्ट स्टोर पनि खोलेका थिए। त्यो स्टोर लामो समय चलेन। पढाइकै बीचमा व्यवसाय गरेकाले कसैले पनि पर्याप्त समय दिन सकेनन्।
अहिले भने यी दुई जना साथी आफ्नो व्यावसायिक योजनालाई निरन्तरता दिनेमा दृढ छन्।

मनमा दृढता भए पनि जुन दिन उनीहरू सटर खोज्न निस्केका थिए, त्यस दिन के व्यवसाय गर्ने भन्ने प्रस्ट थिएन।
उनीहरू सटर खोज्दै थिए, सँगसँगै के व्यवसाय गर्ने भनेर छलफल पनि गर्दै थिए।
आखिरमा पछिल्लो समय काठमाडौंको युवा पुस्तामाझ लोकप्रिय वाफल स्टोर खोल्ने टुंगोमा पुगे।
'अर्जेन्टिना घुम्न जाँदा मैले पहिलोपटक वाफल खाएकी थिएँ। त्यसको स्वाद जिब्रोमा झुन्डिएको थियो। म त्यही खानेकुरा काठमाडौं ल्याउन चाहन्थेँ,' उनले भनिन्, 'मैले सुरूमा यहाँ वाफल पाइने ठाउँ खासै देखेकी थिइनँ। तर हामीले सुरू गर्दासम्म धेरै खुले। युवा पुस्ताले यो खानेकुरा रूचाए पनि।'
युवा पुस्तालाई लक्ष्य गरेर वाफल स्टोर खोल्ने टुंगो लागेपछि उनीहरूले पसलको डिजाइन त्यहीअनुसार बनाए।
'सबभन्दा गाह्रो पसल डिजाइन गर्दा भयो,' रचनाले भनिन्, 'कहिले काम गर्नेहरू समयमा नआउने, कहिले आए पनि समयमा पूरा नगर्ने।'
हैरान भएर उनीहरूले भित्तामा रङ लगाउने काम आफै गरे। बिस्तारै ठाउँ सफा भएपछि र पसलले आकार लिएपछि उनीहरूको खुसीको सीमा रहेन।
पसल निर्माणको सबै काम सक्न उनीहरूलाई १५ दिन लाग्यो। रचनाले त्यसबीच भएका सबै कामको भिडिओ खिचेर आफ्नो टिकटकमा राखेकी छन्। उनी पहिल्यैदेखि टिकटकमा सक्रिय थिइन्। दैनिक जीवनका भिडिओ पोस्ट गरिरहन्थिन्। त्यही क्रममा व्यवसाय सुरू गर्दाका भिडिओ पनि पोस्ट गरिन्।
'त्यही भिडिओ हेरेर मान्छेहरूले जिज्ञासा राख्न थाले। के काम गर्न लाग्यौ भनेर सोधखोज गरिरहन्थे,' रचनाले भनिन्, 'यसले मेरो टिकटकको भ्युज मात्र बढेन, हाम्रो पसल खुल्नुभन्दा अगाडि नै लोकप्रिय भयो।'
रचना र लीलाले यो व्यवसाय आफ्नै व्यक्तिगत बचतबाट सुरू गरेका हुन्। घरपरिवार वा साथीभाइसँग एक पैसा नलिएको उनीहरू बताउँछन्। त्यही भएर एक रूपैयाँ खर्च गर्दा पनि उनीहरू धेरै सोचविचार गर्छन्। बचत गरेको पैसाभन्दा बढी लगानी नपरोस् भन्नेमा उनीहरू सुरूदेखि नै सचेत थिए। खर्च कम होस् भनेर पसल सजाउन प्रयोग गरेका कतिपय सामान घरैबाट पनि ल्याएका छन्।
पहिलेको आइडियाभन्दा अलि फरक ढंगले चलाउन उनीहरू वाफल बाहेकका परिकार पनि बेच्छन्। आफ्नो स्टोरलाई गुलियो र पिरो दुवै खालका परिकार पाइने क्याफेको रूप दिएका छन्। र, नाम राखेका छन् — वाफल एन्ड टाफल।
नामैले थाहा हुन्छ, यहाँ वाफलसँगै अरू पनि खानेकुरा पाइन्छ।

क्याफेको सुरूआत यही वैशाख १२ गतेबाट भएको हो। यो पेप्सीकोलाको बर्गर हाउसभन्दा ठिक अगाडि छ।
यहाँ वाफलसँगै लाफिङ, किम्ची नुडल्स, तोफु चिली नुडल्स लगायत परिकार पाइन्छन्। चिया पारखीहरूलाई लक्ष्य गरेर चिया पनि बेच्छन्।
'हाम्रो क्याफेको नामैले यो पिरो र गुलियो दुवै खालका परिकार पाइने ठाउँ हो भन्ने झलक दिन्छ,' रचनाले भनिन्, 'हामीकहाँ वाफल सँगसँगै किम्ची नुडल्स पनि लोकप्रिय छ। मानिसहरू गुलियोभन्दा पिरो खान बढी रूचाउँछन्।'
उनले यो पनि भनिन्, 'खासमा क्याफेको नाम हामी दुई जनाको फरक फरक व्यवहार झल्किने गरी जुराएका हौं। म सबैसँग मिठो बोल्छु, लीला अलि कडा स्वभावकी छन्।'
रचना र लीला दुवैले वाफल बनाउन युट्युब हेरेर सिकेका हुन्। नेपालमा पाइने भाँडामा बनाउन खोज्दा कहिले धेरै समय लाग्ने त कहिले नपाक्ने समस्या आएपछि क्याफे खोल्न बढी समय लागेको उनीहरू बताउँछन्।
उनीहरूले यसको निम्ति विदेशबाट मेसिन झिकाउन धेरै ठाउँमा खोजतलास गरे। दुई जना व्यावसायिक कुकसँग परामर्श पनि लिए। आखिरमा वाफल बनाउने भाँडा चीनबाट मगाए।
'सुरूमा त हामीलाई वाफलमा राख्ने चकलेट कहाँ पाइन्छ भन्ने पनि थाहा थिएन। पसलहरूमा पाइने सामान्य चकलेट नै प्रयोग गर्यौं। अहिले पेप्सीकोलाकै बेकर्स कलेक्सनबाट ल्याउन थालेका छौं,' रचनाले भनिन्।
क्याफे सञ्चालनमा आएपछि अरू विभिन्न व्यक्तिसँग उनीहरूको सम्पर्क भयो। टिकटकबाट पनि धेरैले सुझाव दिए। यसले क्याफेलाई चाहिने सामान आपूर्ति गर्न सजिलो भएको उनीहरू बताउँछन्।
उनीहरूकहाँ धेरैजसो ग्राहक टिकटकमा भिडिओ देखेर आएका छन्। टाढा टाढाबाट आउनेहरू पनि टन्नै छन्। कतिपय ग्राहक त क्याफे निर्माण भइरहेकै बेला आएका थिए। त्यही भएर उनीहरूले क्याफे पूर्णकालीन रूपमा सञ्चालन गर्नुभन्दा केही दिनअघि 'सफ्ट ओपनिङ' पनि गरे।
क्याफे सञ्चालनमा रचना र लीला सँगसँगै लीलाकी दिदी पनि जोडिएकी छन्। उनीहरू दिदीलाई पनि क्याफेका काम सिकाइरहेका छन्।
एक महिना तीन जनाले मात्र चलाएर त्यसपछि कर्मचारी राख्ने उनीहरूको सोच छ।
'भविष्यमा हामी वकालत सँगसँगै व्यवसाय पनि गर्नेछौं,' रचनाले भनिन्, 'यो व्यवसाय बढाउँदै लगेर बिस्तारै अरूमा पनि हात हाल्ने विचार छ।'
***


