फोनपेले नेपाल व्यवसायिक शिखर सम्मेलन २०२५ को दोस्रो संस्करणको लागि 'इम्पावर्ड बाई'को रूपमा साझेदारी गर्ने भएको छ।
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्बर अर्फ कमर्स (एनसिसी) र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई )को संयुक्त आयोजनामा आगामी जेठको तेस्रो हप्ता आयोजना हुने शिखर सम्मेलनमा फोन पेलेले यो साझेदारीमार्फत सहकार्य गरेको हो।
सम्मेलनमा साझेदारीबारे फोनपेका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पारस कुँवर र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई) का तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरे।
समझदारी कार्यक्रममा फोनपेका प्रमुख सञ्चालन अधिकृत पारस कुँवरले विश्वास र असीमित सम्भावनाहरूका साथ डिजिटल भुक्तानीको भविष्यलाई पुनः परिभाषित गर्दै, स्टार्टअप, इनोभसन र सूचना, प्रविधिको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताए।
राष्ट्रियस्तरमा आयोजना हुने यो सम्मेलनले सरकारको नीति निर्माणमा सहजीकरण र निजीक्षेत्रमैत्री वातावरण निमार्णमा सहयोग पुग्ने उनको भनाइ छ।
त्यसैगरी नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई ) का कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटीका संयोजक बिशाल गैरेले सम्मेलनमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्वगण, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष–सञ्चालक तथा उच्च अधिकारी, लब्धप्रतिष्ठित उद्योगी एवं व्यवसायी, उदयीमान युवा तथा महिला, नवप्रवर्तनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आइटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्केको जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीहरूसहित करिब ५ सयभन्दा बढीको सहभागिता रहने जानकारी दिए।
'सस्टेनेबल एण्ड रिजेलियन्ट इकोनोमी' भन्ने मूल नाराका साथ आयोजना हुने यो वर्षको सम्मेलनमा आर्थिक, बैंकिङ, उद्यौगिक–व्यवसायिक तथा अधिक संभावना बोकेका क्षेत्रहरूमा देखिएका जल्दाबल्दा विषयहरूमा केन्द्रित रहेर सम्बन्धित विषयक्षेत्रका स्वदेशी तथा विदेशी प्राज्ञ–विज्ञ, उदीयमान युवा तथा महिला उद्यमीबीचमा सघन छलफल, बहस तथा अन्तर्क्रिया गरिने र उक्त बहस सत्रहरूबाट प्राप्त हुने दुरगामी महत्त्वका बहुपयोगी सुझावहरू समावेश भएको निष्कर्ष प्रतिवेदन बनाई उचित कार्यान्वयनका लागि तीनै तहका सरकारहरुलाई हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ।