डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबिआई बैंकबीच विद्युतीय कारोबार सम्बन्धी साझेदारी भएको छ।
यस साझेदारीपछि अब इसेवा प्रयोगकर्ता तथा नेपाल एसबिआई बैंकका ग्राहकहरूले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्नेछन्।
दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यका साथ गएको हप्ता एउटा औपचारिक कार्यक्रमकाबीच दुवै संस्थाका प्रतिनिधिहरूले सम्झौता पत्रमा हस्ताक्षर गरी यस सेवाको प्रारम्भ गरेका हुन्।
यस साझेदारीपछि अब नेपाल एसबिआई बैंकको ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन् भने इसेवा प्रयोगकर्ताहरूले आफ्नो इसेवा वालेटमा भएको रकम नेपाल एसबिआई बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन्।
यसै साथ अब इसेवामा आबद्ध बैंक तथा वित्तीय संस्थाको संख्या ५१ पुगेको छ। नेपाल एसबिआई बैंक पनि इसेवामा आवद्ध भएपछि नेपालको डिजिटल वित्तीय सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले इसेवा र नेपाल एसबिआई बैंकबीच भएको यस सम्झौताप्रति खुशी व्यक्त गर्दै यस सहकार्यले दुवै संस्थाबीच हुने रकम ट्रान्सफरको अनुभवलाई सहजता र सरलता प्रदान गर्ने विषयमा जोड दिएका छन्।
साथै यस सम्झौताले ग्राहकहरूको अमूल्य समय बचाउने र डिजिटल कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउने कुरा समेत उनले उल्लेख गरेका छन्।
खड्काले आउने दिनहरूमा ग्राहकहरूको हित तथा सहजताका लागि आवश्यकता अनुसार थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन्।
नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायकको रूपमा सन् २००९ मा इसेवा स्थापना भएको हो।
हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको इसेवा सहरी केन्द्रमा मात्र सीमित नभएर हाल उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरू स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ।