चिटिक्क परेका लुगा लगाएर हिँड्ने रहर कसलाई नहोला!
अझ कलाकारले त चिटिक्क परेर हिँड्नु पेसागत रूपमा अनिवार्यजस्तै मानिन्छ। उनीहरूले कुन बेला, कुन ठाउँमा जाँदा कस्तो लुगा लगाउनेमा ध्यान दिन्छन्।
उनीहरूको यही काममा मद्दत गर्ने व्यक्ति हुन् विश्व गौतम।
फेसन डिजाइनर विश्व कलाकारहरूले उपस्थिति जनाउने कार्यक्रमको प्रकृति बुझेर लुगा तयार पारिदिन्छन्। उनले डिजाइन गरेका लुगाका ग्राहक नेपालदेखि अमेरिकासम्म छन्।
उनी विगत १९ वर्षदेखि फेसन डिजाइनिङ गरिरहेका छन्। उनले प्रियंका कार्की, करिश्मा मानन्धर, रेखा थापा, श्वेता खड्का, वर्षा सिवाकोटी, केकी अधिकारी, आँचल शर्मा, सदिक्षा श्रेष्ठ लगायत थुप्रै कलाकार र मोडलका लुगा डिजाइन गरिसकेका छन्।
'पहिले नेपालमा आधुनिक पहिरन धेरै रूचाइन्थ्यो। कलाकारहरू ड्रेस, वान पिस नै लगाउन खोज्थे,' विश्वले भने, 'अचेल यो ट्रेन्ड फेरिएको छ। उनीहरू सारी, लेहेंगा र गाउन लगाउन खोज्छन्। त्यसमा पनि हातले परम्परागत बुट्टा भरेका डिजाइन रूचाउँछन्।'
उनका अनुसार फेसनका मामिलामा पुरूषको तुलनामा महिला धेरै अगाडि छन्। त्यसैले उनी महिलाकै लुगाको काम बढी गर्छन्।
विश्व आफै पनि सानैदेखि चिटिक्क परेर हिँड्न रूचाउँथे। चितवनमा हुर्किएका उनी स्कुले पढाइ सकेपछि काठमाडौं आए। यहाँ कुन विषय पढ्ने अन्योल भयो।
'मलाई फेसनमा रूचि थियो। तर औपचारिक रूपमा पढ्न पाइन्छ भन्ने थाहा थिएन,' उनले भने।
एक दिन पत्रिका हेर्दै जाँदा नमूना कलेज अफ फेसन टेक्नोलोजी कलेजको विज्ञापन देखे। तुरून्तै फोन गरेर कलेजबारे थप जानकारी लिए। उनले यही कलेजबाट फेसन टेक्नोलोजीमा स्नातक पढेर सके।
पढ्ने बेलामा, हरेक ६ महिनाको अन्तरालमा कलेजले 'र्याम्प शो' गर्थ्यो। त्यसमा हरेक विद्यार्थीको फेसन डिजाइन प्रदर्शन गरिन्थ्यो।
'पत्रिकामा समाचार आउँदा मैले डिजाइन गरेको पहिरनको फोटो छापिन्थ्यो। म पढाइमा औसत थिएँ तर मेरो डिजाइनको फोटो पत्रिकामा छापिँदा आफै छक्क पर्थेँ,' विश्वले सम्झिए।
त्यति बेलासम्म उनले फेसन डिजाइनिङलाई गम्भीर रूपमा भने लिएका थिएनन्। यो उनको रूचि मात्र थियो। उनका बुबा र दाइ व्यवसायमा आबद्ध थिए। आफू पनि कपडाको व्यापार गर्छु भन्ने उनको सोच थियो।
'कलेजको हरेक र्याम्प शोको खबरमा मेरै डिजाइनको पहिरनको फोटो छापिएपछि मेरो मन अन्त गएन,' उनले भने।
र्याम्प शोमा उनले डिजाइन गरेका लुगा उत्कृष्ट भएपछि केही कम्पनीले उनलाई कामका लागि बोलाए। उनले पढाइ र सिकाइलाई सँगै अघि बढाए।
कलेज सकिएलगत्तै उनले आफ्नै कम्पनी खोले – विश्वज क्रिएसन।
उनले सो कम्पनी जम्मा पाँच वटा मेसिन राखेर सुरू गरेका थिए। एक वर्षभित्रै पाँच सय वटा मेसिनबाट काम हुन थाल्यो। उनको व्यस्तता बढ्दै गयो।
'मैले डिजाइन गरेका लुगा ग्राहकले एकदमै रूचाए। दस पिस लुगा मगाउँछु भनेर आउने ग्राहकले ५० पिससम्म मगाउँथे,' उनले भने।
उनको फेसन यात्रा अझै फराकिलो हुँदै गयो। २०६८ सालमा उनले आफ्नै नाममा ब्रान्ड ल्याए। सोल्टी होटलमा 'विश्व गौतम सोलो शो' गरेर आफ्ना डिजाइनको प्रदर्शन गरे।
यसपछि उनी मिडिया र कलाकारसँग जोडिए। उनको व्यवसाय अझ ठूलो बजारमा प्रवेश गर्दै थियो।
२०७२ सालको भुइँचालोमा उनलाई निकै नोक्सान भयो। मेसिनहरू सहित कम्पनीका भौतिक संरचना सबै ध्वस्त भए।
तर उनले आफ्नौ हौसला अझ बलियो बनाए। केही समयपछि अमेरिकामा फेसनमै स्नातकोत्तर पढ्ने सोच बनाए र गए।
पढाइ पूरा गरेपछि उनले आफ्नो कामलाई निरन्तरता दिए। हाल अमेरिकामै उनको 'विश्व गौतम' स्टोर छ। स्टोरमा नेपाली र अमेरिकी दुवै ग्राहकका लुगा पाइने उनले बताए।
'नेपाल होस् वा अमेरिकामा बस्ने नेपालीहरू, अहिले सबैजसोले परम्परागत लुगा नै खोज्छन्,' उनले भने, 'अमेरिकनहरू पनि हातले बुट्टा भरेका लुगा मनपराउँछन्।'
उनको स्टोरमा ३ सय ५० अमेरिकी डलरदेखि १० हजार डलरसम्मका लुगा पाइन्छ। दस हजार डलर पर्ने लुगा वर्षमा १० देखि २० वटा बन्छन्। पाँच हजार डलरका भने प्रायः बनिरहेका हुन्छन् जुन भनेको बेहुला-बेहुलीका लुगा हुन्।
विश्व यो काममा आफू एकदमै सन्तुष्ट भएको बताउँछन्। आफ्नो मेहनत र पसिनाको मोल अहिले पाइरहेको उनले बताए।
'फेसन डिजाइनिङ पेसा देख्दा सजिलो भए पनि दिनरात भन्न पाइँदैन। धेरै दुःख गरियो। तर त्यति नगरेको भए यो सफलता पाउने थिइनँ,' उनले भने।
बजारमा फेसन ट्रेन्ड ल्याउन डिजाइनरको पनि उत्तिकै भूमिका हुने उनी बताउँछन्। कपडाको रङमा कस्तो परिवर्तन ल्याउने, मेकअपसँग कसरी सुहाउँदो बनाउने भनेर मेकअप आर्टिस्ट र फेसन डिजाइनरबीच कुरा भइरहने उनले बताए।
'म लुगाको डिजाइन र गुणस्तर दुवै बढाउँदै लैजान लागि परेको छु,' विश्वले भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी