सरकारले एकैपटक सुनको भन्सार दर आधा घटाएपछि स्थानीय बजारमा सुनको मूल्य एकैदिन उच्च गिरावट आएको छ।
आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १५ हजार नौ सय रूपैयाँले घटेको छ।
गत बिहीबारको मन्त्रिपरिषद् बैठकबाट सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो।
बजेट घोषणा गरेको ६ महिनापछि सरकारले घटायो सुनको भन्सारदर
यस्तो निर्णय कार्यान्वयनको लागि आइतबार सर्कुलर भएसँगै सोमबारको बजारमा यसको प्रभाव देखिएको हो।
सामान्यत राजस्व दरहरू बजेट सार्वजनिक गर्ने दिन मात्रै फेरबदल गरिने गरेको छ। यो पटक बजेट घोषणा गरेको ६ महिनापछि सुनको भन्सारदर घटाइको हो। साउनदेखि सुरू हुने आर्थिक वर्षको लागि जेठ १५ मा नै बजेट सार्वजनिक गरिन्छ। परिवर्तन गरिएका भन्सारदरहरू सोही दिनबाट नै कार्यान्वयनमा आउँछ।
किन आर्थिक वर्षको बीचमा भन्सारदर घटाइयो? भन्सार घटाइएको कारण मात्रै यति धेरै मूल्य घटेको हो कि अन्तर्राष्ट्रिय बजारमा पनि थप मूल्य घटेको छ? भन्सार घटाउनु अघि सुनको व्यापारमा कस्तो प्रभाव परेको थियो? अब कस्तो प्रभाव पर्ने अनुमान गरिएको छ त?
पहिले भन्सार घटाएको कारण सुनको मूल्य कति घट्यो त्यो हेरौं:
स्थानीय बजारमा आइतबार एक तोला सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँ कायम गरएको थियो।
सोमबार भने प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भएको छ।
नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा हरेक दिन बिहान साढे १० बजे कायम भएको प्रतिऔंस सुनको मूल्य, भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर तय गरिने गरिन्छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबार भन्सारदर २० प्रतिशत जोडेर मूल्य निकालेको थियो। सोमबार भने १० प्रतिशत जोडेर निकाल्यो संघका उपाध्यक्ष धर्मसुन्दर बज्रचार्यकाअनुसार भन्सारको कारण सोमबार सुनको मूल्यमा प्रतितोला करिब १३ हजार रूपैयाँ घटेको छ भने अन्तर्राष्ट्रिय बजार मूल्य घटेको कारणले पनि प्रतितोला करिब दुई हजार नौ सय मूल्य घटेको छ।
सोमबारमात्रै सुनको मूल्य प्रतिऔंश ४५ डलर घटेको छ। त्यसकारण सोमबार यति धेरै मूल्य घट्नुको कारण भन्सारदर नै घटेकोले हो।
के कारण घटाइयो भन्सारदर?
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार अवैधानिक (भन्सार छलेर ल्याइने) सुनको कारोबार बढेको तर वैधानिक सुनको कारोबार न्यून भएकोले भन्सारदर घटाइएको हो।
यसको मूल कारण भने नेपाल भारतको भन्सार महसुलमा भएको अन्तर नै भएको व्यवसायीहरूको भनाइ छ। विगतमा भारतको तुलनामा नेपालमा भन्सार केही कम थियो। तर, आर्थिक वर्ष २०७९/८० देखि नेपाल भारतमा समान भन्सारदर (१५ प्रतिशत) कायम गरिएको थियो।
चालु वर्षको बजेटमा भने नेपालले भन्सार बढाएर २० प्रतिशत पुर्यायो भने भारतले घटाएर ६ प्रतिशतमा झार्यो।
नेपाल र भारतले छुट्टाछुट्टै समयमा बजेट ल्याउने गर्छन्। विगतमा भारतको पहिले र नेपालको पछि बजेट आउने गरेको थियो। सधैं माघ महिनामा बजेट ल्याउने गरेको भारतले निर्वाचनको कारण चालु आर्थिक वर्षको लागि यो पटक भने अन्तरिम बजेट ल्याएको थियो।
त्यसपछि २०८१ असारमा भने पूर्ण बजेट ल्याएको थियो। पूर्ण बजेटमा भारत सरकारले सुनको भन्सार दर घटाएपछि यहाँभन्दा भारतमा सुन सस्तो भइरहेको थियो।
व्यवसायीहरूले भारतको बजेटपछि खुला सिमानाको फाइदा उठाएर नेपालीले भारतीय बजारबाट कारोबार गर्न थाले।
वैधानिक सुनको आयात घट्यो। चाडपर्वको समयमा दैनिक ४० केजी र औसत समयमा २० केजी सुनको कारोबार हुने गरेको थियो।
तर, पछिल्लो चार महिनामा भने वैधानिक सुनको कारोबार औसतमा दुई केजी मात्रै भएको छ। यसो हुँदा सरकारको राजस्व पनि घट्ने र वैधानिक सुनको कारोबार गर्ने व्यवसायी पनि समस्यामा पर्ने भएपछि व्यवसायीको आग्रह र बजार अनुगमपछि भन्सार घटाइएको अर्थका अधिकारीले बताएका छन्।
अब कस्तो प्रभाव पर्छ?
सुनचाँदी व्यवसायी तेजरत्न शाक्य अब सुनको कारोबार बढ्ने प्रतिक्रिया दिन्छन्। भन्सार घटाउनुअघि (अहिलेको मूल्यमा) नेपाल भारतबीच एक तोला सुन बराबर करिब २२ हजार मूल्य अन्तर थियो। अब भने करिब पाँच हजार मूल्य अन्तर छ।
यो पनि ढिक्का सुनमा मात्रै हो। गहनामा भारतले जिएसटी (गुड एण्ड सर्भिस ट्याक्स) लगाउने भएको कारण करिब उस्तै मूल्य हुन आउँछ। यो हुँदा वैधानिक सुनको कारोबार बढ्ने अनुमान गरिएको छ।
तिहारको समयमा दैनिक ५० केजी सुनको बिक्री भएको प्रतिक्रिया व्यापारीहरूले दिँदा बैंकहरूले भने सुन नै बेच्न सकेका थिएनन्। तिहारलाई लक्षित गरेर ल्याइएको ३२ केजी सुन आयात रहेकोमा यस्तो सुन बिक्री नभएको बैंकरहरूको गुनासो थियो। नेपालमा सुनको आयात बैंकहरूले गर्ने गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्रचार्यले पनि भन्सार घटाएपछि व्यापार बढ्ने अपेक्षा राखेको बताए।
'हामीले यति धेरै भन्सार दर अन्तर भयो समायोजन गर्नैपर्छ भनेका थियौं। पछि सरकारलाई पनि अप्ठ्यारो पर्यो, राजस्वमा पनि असर पुग्यो, अहिले बल्ल सरकारले रियलाइजेसन गरेको छ, यसले व्यापारमा पुनः सुधार आउने र वैधानिक कारोबार गर्ने व्यापारीलाई प्रोत्साहन पुग्छ,' शाक्यले भने।
सुनको वैधानिक आयात दिनको दुई किलो मात्रै, एक वर्षमा प्रतितोला ५० हजार मूल्य बढ्यो