चौकी भन्ने बित्तिक्कै तपाईं के सम्झिनु हुन्छ?
प्रहरी चौकी वा स्वास्थ्य चौकी याद आउला।
हामी भने यहाँ 'चिया चौकी' को कुरा गर्दैछौं। यो चिया चौकी काठमाडौंको कोटेश्वरनजिकै नरेफाँटमा छ। यहाँ भेला हुन्छन् चिया पारखीहरू।
चिया चौकी गत वर्ष असारमा खुलेको हो। यसका सञ्चालक हुन् तीस वर्षमुनि उमेरका चार युवा; हरिहर थापा, अनिश अधिकारी, मुकेश यादव र प्रशन्न गौतम। हरिहरले बिबिएस पढेका छन्। अनिश र मुकेश सिए हुन्। प्रशन्न आइटी इञ्जिनियर हुन्।
यसको नाम चिया चौकी राख्नुको कारण खुलाउँदै हरिहरले भने, 'चिया पसल खोल्ने भनेर सटर खोजिसक्दा पनि नाम जुरेको थिएन। नजिकै प्रहरी चौकी देखेपछि दिमागमा चिया चौकी नाम फुर्यो। चारै जनालाई मन पर्यो।'
उनका अनुसार एक वर्ष नहुँदै आसपासमा चिया चौकी प्रख्यात भएको छ। स्थानीय मानिसहरू कसैलाई बाटो देखाउनुपर्दा पहिले 'पुलिस/प्रहरी चौकी' भन्थे। आजकाल 'चिया चौकी' भन्न थालेका छन्।
'स्थानीयहरूमा चिया चौकी फेमस (प्रख्यात) भइसक्यो, थाहा नपाउने कोही छैन,' उनले खुसी हुँदै सुनाए।
किशोर उमेरदेखि सार्वजनिक सेवाबाट निवृत्त मानिसहरूसम्म बसेर चिया पिउने, आपसमा भेट र गफ गर्ने थलो बनेको छ चिया चौकी।
चिया पिइरहेका एक जना अधबैंसेले अर्का एक जनालाई देखाउँदै भने, 'हाम्रो भेट साह्रै पातलो थियो। चिया चौकीले भेट बाक्लो बनाइदिएको छ।'
हरिहर, अनिश, मुकेश र प्रशन्नको यो पहिलो साझेदारी होइन, तेस्रो हो। यसअघि साझेदारीमा अकाउन्टिङ फर्म र माछापालन गरिसकेका छन्।
उनीहरूले केही पैसा लगानी गरी अर्को व्यवसाय गर्ने योजना बनाएका थिए। एउटा रेस्टुरेन्टको फ्रेन्चाइज लिने सम्भावना देखे। तर त्यो धेरै ठाउँमा खुलेकाले हात हालेनन्। बरू अलिक कम लगानी पर्ने कामबारे सोचे।
सम्भावना खोजी गर्दै जाँदा चिया पसल चलाउनु उपयुक्त ठाने। काठमाडौंमा नाम चलेका चिया पसल चहारे। फरक तरिकाले चलाउन सके राम्रो हुने बुझे।
'हामी चिया पकाउन धेरै जान्ने भएर पसल खोलेको होइन। धेरैले गरेको काम केही आकर्षक र फरक तरिकाले गर्न खोजेको मात्र हो,' अनिशले भने।
चिया पसल खोल्ने निधो भएपछि उनीहरू उपयुक्त ठाउँ खोज्न थाले। यो काम सजिलो हुँदैन। फेरि काठमाडौंमा चिया पसल नभएको ठाउँ कहाँ पाउनु! उनीहरू मानिसको आवतजावत बाक्लो हुने ठाउँको खोजीमा थिए।
खोज्दै जाँदा वरिपरि कलेज र बाक्लो बस्ती भएको नरेफाँट उचित ठाने। नभन्दै एउटा व्यावसायिक भवनमा सटर पनि पाए।
साझेदारीका दुई व्यवसायबाट केही पैसा जम्मा भएको थियो। त्यहीँबाट आएको पन्ध्र लाख रूपैयाँ लगानी गरे।
'यो पैसा हाम्रा अघिल्ला साझेदार व्यवसायबाट भएको संयुक्त कमाइको हो,' अनिशले भने।
एक महिनामा पसलको तयारी पूरा भयो। केही समय उनीहरूले आफै खटेर काम गरे। एक जना सहयोगी पनि राखे।
चार जनामध्ये अनिश चियाका पारखी हुन्। उनलाई आफैले पकाएको चिया खुब मनपर्छ। उनैले चियाको स्वादमा केही नवीनता दिए। पहिलो दिन नै अपेक्षाभन्दा पनि बढी व्यापार भयो।
'पहिलो दिनमै १३ हजार रूपैयाँको व्यापार भयो। हामीले त्यति धेरै होला भन्ने सोचेकै थिएनौं,' उनले भने।
उनीहरूले प्रचारप्रसारका लागि उल्लेख्य खास काम केही गरेनन्। 'चिया चौकी' लेखेको डिजिटल बोर्ड राखेका थिए, त्यही हेरेर ग्राहक आए।
अहिले चिया चौकी बिहान ६ बजेदेखि राति ९ बजेसम्म खुला हुन्छ। एक पटकमा ६० जनासम्मले सेवा पाउन सक्छन्। कहिलेकाहीँ ग्राहकको भिडले भ्याइनभ्याइ हुने अनिश बताउँछन्। उनीहरूलाई सहयोग गर्ने पाँच जना कर्मचारी छन्। कर्मचारी सबै महिला छन्।
यहाँबाट दैनिक कम्तीमा तीन सय कप चिया बिक्छ। खाजा बेच्ने उद्देश्य नभए पनि ग्राहकले माग गरेपछि राखेका छन्। अनेक स्वादका चियासँगै कफी पनि पाइन्छ। यहाँको 'स्पेसल मसला चिया' धेरैको रोजाइमा परेको उनीहरू बताउँछन्।
उपयुक्त ठाउँ र राम्रो सेवाका कारण छोटो समयमै चिया चौकी राम्रो चलेको उनीहरूको बुझाइ छ। आजकाल विद्यार्थी, साथीहरू र सेवानिवृत्त व्यक्तिहरू चिया-कफी पिउन उपयुक्त ठाउँको खोजीमा हुन्छन्। सफा र केही समय बिताउन अनुकूल भएकाले चिया चौकी रोजाइमा परेको छ।
'चिया चौकीले हामीलाई धेरै सजिलो बनाइदिएको छ। अब त हाम्रो चिया खाने ठाउँ यही नै हो,' चिया चौकीमा भेटिएका नजिकैको कलेजका एक विद्यार्थीले भने।
यो क्षेत्रमा पहिले चिया पसल थोरै थिए। अहिले सटरैपिछे खुलेका छन्। तर चिया चौकीको व्यापार बढ्दो नै छ।
'हामी सस्तोमा स्वादिलो चिया खुवाउँछौं। ग्राहकले थोरै पैसामा चिया पिउँदै समय बिताउने ठाउँ पाउँछन्,' अनिशले भने।
करिब दस महिनाको अनुभवले चिया चौकीका साझेदारहरूलाई उत्साहित बनाएको छ। सुरूआती अपेक्षाभन्दा आम्दानी राम्रो छ। ग्राहक बढ्दै गएकाले अन्य दुई ठाउँमा पनि चिया चौकी विस्तार गर्ने योजनामा उनीहरू छन्।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी