जेठको तेस्रो साता भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी गरिँदैछ।
नेपाल पोल्ट्री महासंघ र अल इन्डिया पोल्ट्री इक्युपमेन्ट मेनेफेक्चर एसोसिएसनले भरतपुर प्रदर्शनी केन्द्रमा प्रदर्शनी गर्न लागेका हुन्।
महासंघका अध्यक्ष गुणचन्द्र विष्टले खस्किएको पोल्ट्री व्यवसायमा जागरण ल्याउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको बताए।
पोल्ट्री क्षेत्रमा आएका अत्याधुनिक यन्त्र, उपकरण, औषधिलगायतको विषयमा जानकारी आदानप्रदान गर्ने र लगानीका लागि प्रेरित गर्ने उद्देश्य प्रदर्शनीको रहेको उनले बताए।
‘अहिले देशका अधिकांश उद्योग, व्यवसाय चौपट भएका छन्। पोल्ट्री व्यवसाय झनै बर्बाद भइसकेको छ,’ विष्टले भने, ‘खस्कदो व्यवसायलाई उकास्ने, उद्योगी, व्यवसायीको मनोबल बढाउने र नयाँ लगानीका लागि प्रेरित गर्ने उद्देश्य राखेर प्रदर्शनी गर्न लागेका छौं।’
जेठ १८, १९ र २० गते गरिने प्रदर्शनीमा १५ देशका प्रदर्शक तथा दर्शकहरु उपस्थित हुने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रियरुपमा पोल्ट्री क्षेत्रका विज्ञहरुलाई ल्याएर पोल्ट्री पाठशाला सञ्चालन गर्ने महासंघले जनाएको छ।
महासंघका अध्यक्ष विष्टकाअनुसार नेपालमा संसारमा प्रयोगमा आएका पोल्ट्रीसम्बन्धी अत्याधुनिक यन्त्र, उपकरणको प्रयोग असाध्यै न्यून छ। केहीले अत्याधुनिक प्रविधि प्रयोगमा ल्याएपनि अधिकांश पुरानै प्रविधिमा चलेको उनी बताउँछन्।
‘उहाँहरुलाई विश्वमा कस्ता प्रविधि प्रयोग भइरहेका छन् भन्ने विषयमा जानकारी दिन खोजिएको छ। अबका दिनमा सामान्य तरिकाबाट यो व्यवसाय चलाउन कठिन छ,’ उनले भने।
पोल्ट्री महासंघकाअनुसार नेपालमा रहेका ३५० ह्याचरीमध्ये २०० बढी बन्द भइसकेका छन्। बाँकी रहेकाले पनि ५० प्रतिशतभन्दा कम उत्पादन गरिरहेका छन्। कोरोना महामारीपछि ह्याचरीसँगै धेरै पोल्ट्री व्यवसाय बन्द भएको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताए।
बिगतमा प्रतिहप्ता ४५ लाख वटा बोइलर चल्ला उत्पादन हुने गरेकोमा अचेल प्रतिहप्ता २० लाख चल्लामात्रै उत्पादन हुने गरेको छ। लेयर्स चल्ला हप्तामा २ लाखवटा उत्पादन हुने गरेकोमा अचेल ३०–४० हजारवटामात्रै उत्पादन हुने गरेको छ।
बजारमा चहलपहल घट्नु, युवाको विदेश पलायन, विकास, निर्माणका काममा कमी, बैंकिङ प्रकृयामा असहजतालगायतका कारण पोल्ट्रीको व्यवसायमा गिरावट आएको अध्यक्ष विष्टले बताए।
चितवनमा २०४६ सालबाट व्यवसायिकरुपमा कुखुरा पालन व्यवसाय सुरु भएको मानिन्छ। बिगतमा परम्परागतरुपमा कुखुरा पाल्ने गरिन्थ्यो। चितवनको पोल्ट्री व्यवसाय व्यवसायिक बन्दै गएपछि यहाँका उत्पादनको खपत देशभर हुन थाल्यो। चितवनलाई पोल्ट्री व्यवसायको केन्द्र भन्न थालियो।
अध्यक्ष विष्ट त्यो पहिचानलाई कायम राख्दै पोल्ट्री क्षेत्रलाई आत्मनिर्भर बनाइराख्न सरकारले नीतिगत तहबाट सघाउनुपर्ने बताउँछन्।