पेट्रोल अन्वेषणका लागि ड्रिलिङको काम सुरू भएको छ।
चार दिन अघिदेखि ड्रिलिङ गर्न सुरू गरिएको खानी तथा भूगर्भ विभागअन्तर्गत पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश कुमार नापितले जानकारी दिए।
'ड्रिलिङ गर्न थालेको चार दिन भयो,' उनले भने, 'अहिलेसम्म ५० मिटर ड्रिलिङ गरियो।'
परियोजना प्रमुख दिनेशका अनुसार ड्रिलिङ सकिनलाई चारदेखि ६ महिना लाग्नेछ।
'हाम्रो लक्ष्य त चार महिनामा सक्ने हो,' उनले भने, 'केही समस्या पर्यो भने ६ महिना लाग्छ।'
ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ। ड्रिलिङका लागि आवश्यक सबै सामान ड्रिलिङ गर्ने ठाउँसम्म लगिसकिएको नापितले जानकारी दिए।
हाल चिनियाँ र नेपाली गरी ६० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छ। त्यसका साथै निरीक्षणका लागि विभागका कर्मचारी पनि ड्रिलिङ स्थलमा पुगेका छन्।
परियोजना क्षेत्रको सुरक्षाको लागि सशस्त्र प्रहरी खटिएका छन्।
यो परियोजना चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरू भएको हो। दैलेखको पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो। सम्झौताअनुसार काम नभएपछि पुनः समयावधि थपिएको हो।
सुरूआतमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको थियो। तर कोभिडका कारण सम्झौताअनुसार काम हुन सकेन। पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए।
यहाँ चार सय वर्ग किलोमिटर क्षेत्रफलमा पेट्रोलियम पदार्थ हुनसक्ने अनुमान छ। त्यसमध्ये पनि सबभन्दा बढी पेट्रोलियम पदार्थ हुने तीन ठाउँ पत्ता लागिसकेको छ। यी तीनमध्ये पनि बढी सम्भावित एक ठाउँ छ।
त्यहाँ चार किलोमिटर गहिरोसम्म ड्रिलिङ गर्ने काम कोरोना महामारीका कारण रोकिएको थियो। अहिले त्यसैलाई निरन्तरता दिइएको हो।
छिट्टै ड्रिलिङ सकिए पेट्रोलियम पदार्थको मात्रा थाहा पाउन सकिन्छ। ड्रिलिङ गर्दा पनि पेट्रोलियम पदार्थको भण्डार भेटिएन भने काम अघि बढ्दैन र अहिलेसम्मको सबै मेहनत खेर जान्छ।
उत्पादन कम हुने र खर्च बढी लाग्ने अवस्थामा पनि उत्पादन गरिँदैन। नेपालमै पेट्रोलियम पदार्थ उत्पादन गर्दा अहिलेको बजार मूल्यभन्दा सस्तो भए मात्रै त्यो फाइदाजनक हुनेछ।
'ड्रिल गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ,' परियोजना प्रमुख दिनेशले भने, 'खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुन्छ। त्यसपछि मात्रै उत्पादन गर्ने कि नगर्ने भन्ने निर्णय हुन्छ। भण्डार ठूलो रहेछ भने मात्रै उत्पादन हुन्छ।'
तेल उत्पादन भने भूगर्भ विभागले गर्दैन। विभागले पेट्रोलियम पदार्थको मात्रा मात्र पत्ता लगाउने हो। सरकारले कुनै अन्य कम्पनी वा संस्थालाई उत्पादनको जिम्मेवारी दिनेछ।
नेपाल सरकार, खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेको संयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको छ। लामो समयदेखि खोलाको पानीमा तेलजस्तो चिल्लो पदार्थ तैरिएको भेटिएपछि त्यो तेल हुनसक्ने भन्दै अनुसन्धान थालिएको हो।
पेट्रोलियम पदार्थको अन्वेषणका लागि यो नेपालमा भएको पहिलो अध्ययन भने होइन। यसअघि २०४५ सालमा मोरङको बाहुनीमा पेट्रोल खानी खोजी गरिएको थियो। त्यति बेला सेल ट्राइटा कम्पनीले साढे तीन किलोमिटर गहिराइसम्म खन्दा पनि पेट्रोलियम पदार्थ नभेटिएपछि खोजी बन्द भएको थियो।
विश्वभरी नै पेट्रोलियम पदार्थ भएको अनुमान गरिएको थोरै ठाउँमा मात्रै भेटिने गरेको छ। अनुमानित ठाउँमा १० प्रतिशत मात्रै पेट्रोलियम पदार्थ पाइएको अन्तर्राष्ट्रिय अनुभव छन्। परियोजना प्रमुख दिनेश पनि विश्वभरी नै अनुमान गरिएका ८ देखि १० प्रतिशत ठाउँमा मात्रै पेट्रोलियम पदार्थ पाइने बताउँछन्।
दैलेखमा तेल भेटिनेमा भने उनी आशावादी छन्।
भारतको आसाम र पाकिस्तानका केही क्षेत्रमा तेल भेटिएको बताउँदै दिनेशले उस्तै भौगर्भिक संरचना भएकाले नेपालको दैलेखमा पनि तेलको ठूलै भण्डार हुन सक्ने बताउँछन्। नेपालको चुरे तथा तराईको सीमा क्षेत्रमा तेलको भण्डार बढी हुन सक्ने उनको अनुमान छ।
'पानीमा पेट्रोलियम पदार्थ तैरिरहेको अवस्थामा भेटिएको थियो। आगोको ज्वाला पनि प्राकृतिक रूपमै बलिरहेको थियो। त्यसैले त्यहाँ पेट्रोलियम पदार्थ भएको पुष्टि हुन्छ,' उनले भने, 'त्यहाँको चट्टानको संरचना हेर्दा पनि पेट्रोलियम पदार्थ भएको अनुमान लगाउन सकिन्छ।'
उनका अनुसार चट्टानबीचमा पर्ने चापले मात्रै पेट्रोलियम पदार्थ बन्छ। विशेषगरी पेट्रोलियम पदार्थ पृथ्वीको सतहमा रहेका सुक्ष्म वनस्पति तथा जीवहरू जमिनमुनि पुरिएर बन्ने हो। जमिनमुनि चाप वा दबाब र लामो समयसम्म हुने रासायनिक प्रतिक्रियाले वनस्पति र जीवहरू पत्रे चट्टानमा परिणत हुन्छन्।
पत्रे चट्टानमा संकलित जैविक पदार्थ ९० देखि १७५ डिग्री सेल्सियस तापक्रम र उच्च दबाबका कारण लाखौं वर्षपछि जैविक र रासायनिक प्रतिक्रियाका कारण पेट्रोलियम पदार्थमा परिणत हुन्छ। नेपाल पनि त्यो सम्भावना रहेकाले पेट्रोलियम पदार्थ पाइने अनुमान बढेको उनको भनाइ छ।