नेपाली समाजमा सखर नचिन्ने र यसको गुण थाहा कमै होलान्!
परम्परागत गुलियो वस्तु सखर बजारमा डल्ला वा ढिक्काको रूपमा पाइन्छ। कतिपयलाई यस्तो ढिक्का फुटाएर प्रयोग गर्न झन्झटिलो लाग्न सक्छ।
यही समस्या अन्त्य गर्न तत्व फार्म्सले धूलो सखर बजारमा ल्याएको छ। तत्वका संस्थापक हिमांशु त्रिपाठीले यसलाई 'ज्यागरी पाउडर' नाम दिएका छन्। सखरलाई अंग्रेजीमा 'ज्यागरी' भनिन्छ।
'ज्यागरी पाउडर हाल सात स्वादमा उपलब्ध छ। बिहान चियादेखि सुत्नुअघि पिउने दूधमा हालेर खान उपयोगी छ,' उनले भने।
तत्वले बनाउने सात स्वादमध्ये 'ओरिजिनल ज्यागरी पाउडर' सादा हुन्छ। चिया मसला मिसाएर 'मसला टी ज्यागरी पाउडर' र अदुवा मिसाएर 'जिन्जर ज्यागरी पाउडर' बनाइएको छ। त्यस्तै दालचिनी हालेको 'सिनामन ज्यागरी पाउडर', केसर हालेको 'स्याफ्रोन ज्यागरी पाउडर', मरिच हालेको 'ब्ल्याक पेपर ज्यागरी पाउडर' र बेसार मिसाएको 'टर्मरिक ज्यागरी पाउडर' उपलब्ध छ।
'यिनमा कुनै पनि किसिमको रसायन मिसाइएको छैन। घरमा चिनीको साटो सखर प्रयोग गर्दा हुन्छ,' हिमांशुले भने।
उखुको रस पकाएर बनाइने सखर दूध, तातोपानी, चिया वा यस्तै पेयमा राखेर खान लाभदायी मानिन्छ। दही, रोटी, घरमा बनाइने गुलियो परिकार र मिठाइमा पनि हाल्न सकिन्छ।
तत्व फार्म्स खुलेको दुई वर्ष भयो। धूलो सखर बजारमा आउन थालेको भने दुई महिना मात्र भएको छ।
हिमांशु कोरोनाको समयमा सखर व्यवसायमा छिरेका हुन्।
नवलपरासी, प्रतापपुरका उनी काठमाडौंमा हुर्के, पढे। थप पढाइका लागि उनी स्पेन गएका थिए। त्यहाँ मनोविज्ञान विषय पढे। नेपाल आएका बेला उनले पस्मिनाको सल लिएर गएका थिए। त्यो सल साथीहरूले खुब मन पराए। आफ्ना लागि पनि मगाइदिन आग्रह गरे।
यो देखेर उनलाई पस्मिना बजारप्रति रूचि जाग्यो। त्यहाँको बजार अध्ययन गर्दा पस्मिना व्यापार राम्रो हुने देखे।
'नेपालबाट पस्मिना ल्याएर स्पेनका ठूला व्यापारीलाई बेच्न थालेँ। यसबाट नगद आम्दानी भयो। व्यवसायको अनुभव पनि भयो,' उनले भने, 'एक वर्ष परामर्शको काम पनि गरेँ।'
त्यही समय कोरोना फैलियो। स्पेनमा पनि अवस्था निकै कठिन भयो। हिमांशु सन् २०२० मार्चमा नेपाल फर्किए। यहीँबाट अनलाइन कक्षा लिएर पढे।
हिमांशुलाई केही व्यवसाय गर्न मन थियो। आफ्नो गृहजिल्ला नवलपरासीमा उखुखेती हुन्छ भन्ने थाहा पाएका थिए। उनले त्यही उखुबाट सखर बनाएर व्यवसाय गर्ने सोचे।
२०७९ सालको सुरूमै उनले तत्व फार्म्स दर्ता गराए। उनीसँग केही पैसा थियो, केही बैंकबाट ऋण लिए। अनि नवलपरासीको आफ्नै जग्गामा उद्योग खेले। हाल उद्योगमा ४० जना प्रत्यक्ष रोजगारीमा छन्। उखु क्रसिङको समयमा दैनिक १५० जनासम्मले काम गर्छन्।
'केही पैसा आफूसँग थियो। पैसा बैंकबाट ऋण लिएर १६ करोड लगानी गरेँ,' उनले भने, 'सरकारले तोकेको मूल्यमा स्थानीय किसानसँग उखु किनेर सखर बनाउन थालेँ।'
ढिक्का सखरसँगै थोरै परिमाणमा चिनी पनि बनाएर उनले बजार पुर्याए। बिक्रीमा समस्या भएन। व्यापारीहरू उद्योगमै पुग्न थाले।
यसपछि हिमांशुले आफ्नो उत्पादनमा नयाँपन दिने विचार गरे।
सखर चिनीको विकल्प हुन सक्ने उनलाई थाहा थियो। तर ढिक्का सखर प्रयोग गर्न झन्झटिलो हुन्छ। भारतमा धूलो सखर बिक्छ भन्ने उनले थाहा पाएका थिए। धूलो सखरलाई विभिन्न स्वादमा बजार पठाउने निधो गरे।
'धूलो सखर बेच्ने योजना त पहिल्यै थियो। विभिन्न स्वाद हाल्ने आइडिया चाहिँ पछि फुरेको हो,' उनले भने, 'ग्राहकले मनपराएका छन्। माग बढिरहेको छ। अझै चार वटा स्वाद थप्ने तयारी छ।'
आफूले बेच्ने सखरको गुणस्तरमा उनी ग्यारेन्टी दिन्छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सर्टिफिकेट दिएकाे छ र गुणस्तर जाँच्न उनको आफ्नै प्रयोगशाला पनि छ।
'ग्राहकले मिसावटको चिन्ता लिनु पर्दैन। गुणस्तरमा ग्यारेन्टी दिन्छौं,' उनले भने।
हिमांशु धूलो सखर निर्यातको पनि तयारी गर्दैछन्। भारतबाट प्रमाणपत्र लिने तयारी गरेको उनले बताए।
सखर पाउडर हाल ३०० ग्राम र ६०० ग्राम तौलमा पाइन्छ। स्वाद र तौलअुनसार मूल्य १५० रूपैयाँदेखि ७९० रूपैयाँसम्म छ।
चाँडै ५० ग्राम, सय ग्राम र एक किलोको प्याकेट ल्याउने तयारी छ। त्यस्तै व्यवसायीका लागि २० किलो र ५० किलोको प्याकेट बनाउने योजना छ।
तत्व फार्म्सको सखर देशभरका एक हजारभन्दा बढी किराना पसलहरूमा पाइन्छ। अनलाइन बजार 'दराज' बाट पनि किन्न सकिन्छ।