महिला उद्यमीका कथा
कहिलेकाहीँ सानै आइडिया र परीक्षण पनि व्यवसाय भइदिन्छ। यसकै एक दृष्टान्त हुन् काठमाडौंकी ४७ वर्षीया वसुन्धरा श्रेष्ठ।
हाल उनी छोराछोरी साना हुँदा तिनलाई खुवाउन बनाएको परिकारको व्यवसायी भएकी छन्।
उनी 'इन्द्रेणी घरेलु उद्योग' खोलेर घरेलु स्वादको पिनट बटर, चिया मसला र विभिन्न थरीका अचार बजार पुर्याउँदै छिन्।
उनका परिकारको ब्रान्ड नाम हो 'टेस्ट मी'।
'हामी घरकै तरिकाले, आफैंले खाने जसरी परिकार बनाउँछौं। घरेलु स्वाद हुन्छ,' वसुन्धराले भनिन्।
टेस्ट मी ब्रान्ड अन्तर्गत हाल पिनट बटर, चिया मसला, कागती अचार र टिमुर छोप पाइन्छ। अर्डरअनुसार चिकेन (कुखुराको मासु), मटन (खसीको मासु) र अन्य अचार पनि बन्छ।
वसुन्धराका अनुसार उनले यो उद्योग साढे एक लाख रूपैयाँ प्रारम्भिक लगानीमा उद्योग सुरू गरेकी हुन्।
टेस्ट मीको मुख्य परिकार भने पिनट बटर हो। यो बदाम र सखरबाट बन्छ।
'मैले छोराछोरीलाई खुवाउन १५ वर्षअघि नै पिनट बटर बनाउन थालेकी हुँ। त्यही सीप व्यवसायका रूपमा अघि बढाएँ,' उनले भनिन्।
रोटी, पाउरोटीमा हालेर वा यसै पनि खाना मिल्ने भएकाले पिनट बटर सबै उमेरका व्यक्तिका लागि उपयुक्त हुने उनी बताउँछिन्।
'पिनट बटरमा भिटामिन डी र क्याल्सियम धेरै हुन्छ। विशेषगरी बालबालिकाका निम्ति राम्रो हुन्छ,' उनले भनिन्, 'बदामको परिकार निकै पोषिलो र अडिलो हुन्छ।'
उनी सुस्वास्थ्य वृद्धिका लागि पिनट बटर खानुपर्छ भन्ने सन्देश फैलाउन खाद्य मेलाहरूमा सहभागी पनि हुन्छिन्। ग्राहकहरूले पिनट बटर निकै मन पराएको उनले बताइन्।
वसुन्धरा कहिलेकाहीँ ट्रेकिङ र हाइकिङ जान्छिन्। यसरी जाँदा उनी पिनट बटर बोकेर हिँड्छिन्। पर्याप्त ऊर्जा दिने भएकाले बाटामा खाना यो भरपर्दो हुन्छ।
उनले पिनट बटरको व्यवसाय गत साउनमा दरबारमार्गमा लाग्ने 'रैथाने हाटबजार' बाट सुरू गरेकी हुन्। रैथाने हाटबजार घरेलु उत्पादन र कृषि उपज बेच्ने बजार हो।
पहिलो पटक त्यही बजारमा बीस किलो पिनट बटर लिएर गएर उनले आफ्नो व्यापार सुरू गरिन्। बजारमा बटर रूचाइएला कि नरूचाइला भन्ने अन्योलमा थिइन् उनी।
'धेरैलाई पिनट बटर थाहै रहेनछ। मैले हाटबजारमा लगेर स्वाद चखाउँदै धेरैलाई बुझाउने अवसर पाएँ,' उनले भनिन्, 'चाख्ने जति सबैलाई मनपर्यो। त्यही बजारमा एकै दिन दस किलो बिक्यो।'
यसपछि उनको हौसला बढ्यो। बजारको भरपूर सम्भावना ठम्याइन्। यसैअनुसार अघि बढिन्।
बटरको व्यापार बढ्दै गएपछि उनले अचार र चिया मसला थपिन्।
दरबारमार्गको साप्ताहिक हाटबजार उनी गइरहन्छिन्। टेस्ट मीको पिनट बटर अहिले काठमाडौंको बजारमा सीमित छ। चाँडै काठमाडौं उपत्यका र गाउँघरमा पनि पिनट बटर पुर्याउने योजना उनको छ।
'सहरमा त बदाम किन्ने मात्र हो। गाउँघरमा त उत्पादन नै हुन्छ,' वसुन्धराले भनिन्, 'पिनट बटर बनाउने तरिका सिकाउन र खानुको फाइदा बुझाउन सकियो भने दूरदराजका बालबालिका र महिलाको पोषण राम्रो हुन्छ। बिहान र बेलुका एकएक चम्चा खाँदा पुग्छ।'
हाल उनी सातामा २५ किलोसम्म पिनट बटर बनाउँछिन्। माग बढ्दा उत्पादन बढ्छ।
उनी भुटेको बदाम पिसेर बनाइएको पिठोमा सख्खर हालेर पिनट बटर बनाउँछिन्। चिया मसला बनाउन अदुवा, अलैंची, ल्वाङ इत्यादि प्रयोग हुन्छ। छोप बनाउने टिमुर रसुवा र जुम्लाबाट मगाउँछिन्।
परिकार तयार गर्ने सबै काम वसुन्धरास्थित आफ्नै घरमा गर्छिन्।
टेस्ट मीको चिया मसला र टिमुर छोप विदेश पनि पुगेको छ। अहिले अमेरिका र जापान जान्छ। अरू देशमा पनि पठाउने प्रयासमा वसुन्धरा लागिपरेकी छन्।
व्यावसायिक भान्सामा वसुन्धरालाई सासूआमाले सघाउँछिन्। दुई जना सहयोगी पनि छन्।
'कागतीको अचार सासूआमाकै रेसिपी हो। अचार बनाउन उहाँ सिपालु हुनुहुन्छ,' वसुन्धराले भनिन्, 'परिवारमा सबै जनाको साथ र सहयोग भएकाले घरबाटै काम भइरहेको छ।'
तीन सय ग्राम पिनट बटरको मूल्य २९० रूपैयाँ तोकिएको छ। योभन्दा बढी तौलको प्याक अर्डरमा मात्र हुन्छ।
त्यस्तै टिमुर छोप १५० ग्रामको २३० रूपैयाँ पर्छ। कागतीको अचार तीन सय ग्रामको १५० रूपैयाँ र चिया मसला ५० ग्रामको १८० रूपैयाँ पर्छ।
अहिले उनी टेस्ट मी ब्रान्डिङमा केन्द्रित छन्।
खासमा वसुन्धरा पेसाले इन्टेरियर डिजाइनर हुन्। सानो उमेरमै डिजाइन र डेकोरेसनमा उनको रूचि थियो। २५ वर्षअघि दिल्ली र लन्डनमा इन्टेरियर डिजाइनको कोर्स गरिन्। यसपछि उनको बिहे भयो। उनले करिअर पनि सुरू गरिन्।
वसन्धराले पहिलो व्यावसायिक डिजाइन आफ्ना श्रीमानको कार्यालयमै गरिन्। हालसम्म दर्जनौं संघसंस्थाका कार्यालयको इन्टेरियर डिजाइन उनले गरिसकेकी छन्। अहिले पनि यो काम जारी छ।
'म धेरैजसो त डिजाइनमै व्यस्त हुन्छु। बिहान-बेलुका र फुर्सदको समय टेस्ट मीलाई दिएकी छु,' उनले भनिन्, 'अब समय बढाउँदै बजार विस्तारको तयारी गरिरहेकी छु।'