काठमाडौंको बौद्धमा पहेँलो गुम्बा छ। यो गुम्बा स्थापनापछि बौद्ध धर्म दर्शन अध्ययनका लागि यहाँ 'रङजुङ येसे इन्स्टिच्युट' स्थापना भयो। यहाँ तिब्बती बुद्धिजम तथा नेपाली र बौद्ध संस्कृति आधुनिकताका साथ पढाइ हुन्छ। यो इन्स्टिच्युट काठमाडौं विश्वविद्यालयसँग आबद्ध छ।
इन्स्टिच्युटको वेबसाइटमा उल्लेख भएअनुसार यहाँ बुद्धिस्ट आर्टमा स्नातक, स्नातकोत्तरको पढाइ र विद्यावारिधिको शोध हुन्छ। विभिन्न देशबाट हरेक वर्ष करिब दुई सय विद्यार्थी भर्ना हुन्छन्। हाल यहाँ २४ मुलुकका पाँच सय विद्यार्थी छन्।
यिनै विद्यार्थीका लागि यहाँ २०७६ सालमा क्यान्टिन खुलेको थियो।
पहेँलो गुम्बाका प्रमुख बौद्ध धर्म गुरू चोकी निमा रेम्पोचेको अवधारणामा खुलेको क्यान्टिन बिहान-बेलुका मात्र चल्थ्यो।
यही क्यान्टिन अचेल दिउँसो पनि चल्छ। दिउँसो चल्ने क्यान्टिन बदलिएर 'उत्पला क्याफे' बनेको छ।
'इन्स्टिच्युटका विद्यार्थीहरूलाई बाहिरको खान खाँदा समस्या देखियो। अनि गुरूको चाहनाअनुसार स्वस्थकर खाना खुवाउन आफ्नै क्यान्टिन खोलिएको थियो,' उत्पला क्याफेका प्रबन्ध निर्देशक दीपक बोहराले भने, 'बिहान–बेलुका मात्र चल्ने त्यही क्यान्टिन दिनभर चलाउन उत्पला क्याफे बनाइएको हो।'
क्यान्टिन सुरू भएलगत्तै कोरोना महामारीले लकडाउन भएको थियो। विदेशी विद्यार्थीहरू अलपत्र परे। त्यस बेला उत्पलाले थुप्रै विदेशी र स्वदेशी विद्यार्थीहरूलाई निःशुल्क खाना खुवायो।
'धेरैले उत्पलालाई निःशुल्क खाना खुवाउने ठाउँ भनेर पनि चिन्नुभयो,' दीपकले भने, 'लकडाउन खुकुलो हुँदै गएपछि उत्पला धेरैको रोजाइमा पर्यो।'
बौद्ध घुम्ने विभिन्न देशका पर्यटकहरू उत्पला क्याफे पुग्छन्। बौद्ध स्तुपनजिक भएकाले पनि पर्यटकको रोजाइमा परेको अनुमान दिपकको छ। अहिले यही क्याफेमा 'पोयट आइडल' कार्यक्रम पनि चलिरहेको छ।
'राम्रो वातावरणमा अर्गानिक र विभिन्न प्रकारका शाकाहार परिकार पाइनु उत्पला क्याफेको खास विशेषता हो,' उनले भने।
बौद्ध स्तुपबाट पाँच मिनेट पैदल हिँडेर पुगिन्छ उत्पला क्याफे। सात रोपनी क्षेत्रफलमा फैलिएको क्याफेमा एक पटकमा दुई सय जनासम्म अटाउन सक्छन्। पार्किङ पर्याप्त छ। बस्नका लागि काठका कुर्सी छन्। खाली जमिनमा ढुंगा बिछ्याइएको छ। झिलिमिली र हरियालीले क्याफे सजाइएको छ।
हाल क्याफेमा मात्र सेफसहित १८ जना काम गर्छन्।
शान्त वातावरणका साथै गुणस्तरीय र स्वस्थकर परिकार यहाँको विशेषता भएको दिपक बताउँछन्।
'यहाँको वातावरणसँगै अर्को मुख्य आकर्षण भेज (शाकाहार) परिकार नै हो,' उनले भने।
ननभेज (मासुका परिकार) मन पराउनेका लागि धेरै रेस्टुरेन्ट भए पनि शाकाहारीका लागि थोरै छन्। शाकाहार मात्र पाइने त झनै थोरै छन्। यस कारण पनि उत्पला क्याफे शाकाहारीहरूको रोजाइमा परेको उनले बताए।
फलफूल र जुसका साथै यहाँ नेपाली, अरेबिक, अमेरिकी, इन्डियन, थाई, चाइनिज, मेक्सिकन परिकार पाइन्छ। शुक्रबार र शनिबार इन्डियन र नेपाली परिकार पाक्छ। अन्य दिन मेनुअनुसार पाइन्छ।
नेपाली खाना सेट आगन्तुकहरूको रोजाइमा परेको छ। तिब्बती 'थेन्दोक' पनि धेरैले रूचाएका छन्। थेन्दोक एक प्रकारको सुप हो जो मैदामा मुला र गाजर राखेर बनाइन्छ। चिसो मौसममा थेन्दोक धेरै चल्ने गरेको दिपकले बताए।
क्याफेमा आलु टिक्की, पनीर टिका, ट्वाक्क मकै, च्याउ छोयला र चिल्ली पनि पाक्छ। यी परिकार प्रायः मसलेदार हुन्छन्।
आलु चिप्स चिल्ली, आलु भाले, आलुदम रोटी, पास्ता, बिरयानी, सोयाबिन छोयला, काउली छोयला, पपकर्न लगायत परिकार पनि बन्छ।
'छोयला मासुको मात्र हुँदैन। भेजमा पनि छोयलाजस्तै परिकार तयार हुन्छ। ग्राहकहरूले सबै परिकार रूचाउनुभएको छ,' उनले भने।
उत्पलाले बेकरी पनि चलाएको छ। बेकरीको ठाउँ अलग्गै छ। जन्मदिन, वार्षिकोत्सव लगायत अनेक उत्सव मनाउनेहरूका लागि उत्पला बेक हाउसमै केक बन्छ।
'हामीले अर्गानिक र ताजा परिकारमा जोड दिएका छौं,' दिपकले भने।
उत्पला परिसरमा हरेक शनिबार बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म बौद्ध फार्मर मार्केट नाममा बजार पनि लाग्छ। 'नेपालमा बनेको' अवधारणा अनुसार नेपाली कृषि उत्पादन तथा परिकार प्रवर्द्धन गर्नु यो मार्केटको उद्देश्य हो।
मार्केटमा नयाँ उद्यमी र उत्पादकहरूले सशुल्क स्टल राख्न पाउँछन्। हाल ५० वटासम्म स्टल हुने गरेका छन्। स्टलमा सोलुखुम्बू, हुम्ला, जुम्ला लगायत जिल्लाबाट पनि कृषकहरू आइपुग्ने उनले बताए। मार्केटमा नेपाली किसानको जिम्बू, खुर्सानी, बेसार लगायत व्यापार निकै राम्रो छ।
'गृहिणीहरूले बनाएको अचार र चकलेट पनि राम्रो चलिरहेको छ,' उनले भने, 'यो मार्केट कृषि वस्तु अवलोकन र किनबेच गर्ने राम्रो थलो बनेको छ। यहीँबाट कतिपय युवा व्यवसायी भएका छन्।'
यहाँ उत्पला नर्सरी पनि छ। नर्सरीमा विभिन्न थरीका फूलका र फलका बिरूवा छन्। यी बिरूवा बिक्रीका लागि राखिन्छन्। क्याफेमा हुने कार्यक्रममा उत्पला नसरीकै फूलले सजावट गर्ने गरिएको छ। यहाँ क्याफेबाट निस्किने फोहोर जम्मा गरेर बनाइएको मल प्रयोग हुन्छ।
त्यस्तै उनीहरूले बौद्धमा २० जना पाहुना अटाउने उत्पला गेस्ट हाउस पनि चलाएका छन्।
यसबाहेक उत्पला हस्पिटालिटी एकेडेमी पनि सञ्चालनमा छ। एकेडेमीले वेटर, कुक, बेकरी कला लगायत तालिम दिन्छ। तालिम सकेपछि रोजगारीको अवसर पनि पाउने दिपकले बताए।
उनका अनुसार उत्पलाको सबै क्षेत्रमा कुल ४२ जनाले रोजगारी पाएका छन्।
'एउटा क्यान्टिन यसरी पर्यटकको रोजाइमा पर्ला र लोकप्रिय बन्ला भनेर सोचेकै थिएनौं,' दिपकले भने, 'विद्यार्थीलाई खाना खुवाउन खोलेको क्यान्टिन क्याफे बन्यो। अहिले उत्पलाको मासिक व्यापार एक करोड रूपैयाँसम्मको छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी