मासुका परिकार मन पराउनेका लागि आजकाल सहरका रेस्टुरेन्टमा थरीथरीका मेनु छन्। तिनले अनेक स्वादका परिकार पस्केर पारखीहरूलाई आकर्षित गरिरहेका छन्।
काठमाडौंको लाजिम्पाटमा यस्तै एउटा रेस्टुरेन्ट छ जहाँ विभिन्न स्वादमा 'चिकेन विङ्स' अर्थात् 'कुखुराको पखेटा' का परिकार खान पाइन्छ।
यो रेस्टुरेन्ट काठमाडौंका नवीन रिसाल र उनकी पत्नी विनिताले चलाएका हुन्।
रेस्टुरेन्टको नाम हो 'वर्ल्ड अफ विङ्स्' — छोटकरीमा 'वाउ'।
'हामी कुखुराको मासु तारेर विभिन्न स्वादमा पस्किन्छौं,' नवीनले भने, 'यी परिकारको स्वाद वर्ल्ड अफ विङ्सको आफ्नै हो। हाम्रा परिकार धेरैले रूचाउनुभएको छ।'
वाउमा चिकेन विङ्सको क्लासिक, क्रिस्पी, एसियन जिङ, अलफ्रेडो, अरेन्ज चिकेन लगायत २१ थरीका परिकार बन्छन्। तन्दुरी, चटपटे, छोइला, टिमुरे र मेंगो अकबरे जस्ता मौलिक परिकार पनि पाइन्छ। यी परिकारले नेपालीपन झल्काउने नवीनको भनाइ छ। ममः, चाउमिन, पिज्जा, मासुका ग्रील परिकार पनि पाइन्छ।
वाउको विशेषता चाहिँ चिकेन विङ्स नै हो।
'धेरै जसो रेस्टुरेन्टमा विङ्स पाइन्छ तर स्पाइसीमा एक-दुई परिकार मात्र हुन्छ,' उनले भने, 'मासुप्रेमीका लागि हामीले विङ्सका अनेक परिकार पाइने रेस्टुरेन्ट बनाएका हौं।'
पढाइका हिसाबले नवीन इन्भाइरोंमेन्टल इञ्जिनियर हुन्। तर परिकारका रेसिपी बनाउन पनि खप्पीस छन्। वाउका सबै परिकारका रेसिपी नवीन आफैंले तयार गरेका हुन्।
सुरूमा उनलाई रेस्टुरेन्ट र खानाका परिकारको ज्ञान थिएन। तैपनि आफैं अघि सरेर रेसिपी तयार पारेका हुन्।
'अरूले दिइसकेको स्वाद यहाँ ल्याएको छैन। नयाँ र आफ्नो मौलिक स्वाद दिने प्रयास गरेका छौं,' उनको दाबी छ।
रेस्टुरेन्टमा गाउँले शैलीको चुल्हो छ जहाँ दाउराको आगोमा सेकुवा तयार हुन्छ। यहाँ १५० जना अटाउने सभाहल पनि छ। पार्किङको सुविधा पर्याप्त छ।
नवीनले वर्ल्ड अफ विङ्सको अवधारणा भने अमेरिकाबाट लिएका हुन्।
सन् २००४ मा उनी अमेरिका पुगेका थिए। काठमाडौंकी विनिता श्रेष्ठ पनि पढाइकै लागि अमेरिका गएकी थिइन्। दुबै जनाले स्तानकोत्तर तहको पढाइ पूरा गरे। त्यसपछि बिहे गरे।
बिहेपछि नवीनले गुजाराका लागि रेस्टुरेन्टमा काम थाले। त्यही कामले खानाका परिकारमा रूचि जगायो।
नवीनका अनुसार काठमाडौंमा हुँदा उनलाई आफ्नो घरमै पनि किचनमा काम गर्न मन लाग्थ्यो। कुनै नयाँ परिकार बनाएर खुवाउन अघि सर्थे। अमेरिकाले काम सिकायो।
'घरको किचनमा काम गर्दा म भविष्यमा होटल खोल्छु कि जस्तो पनि लाग्थ्यो,' प्रशन्न मुद्रामा उनले भने, 'अमेरिकामा काम गरेपछि मलाई पनि रेस्टुरेन्ट चलाउने विचार आएको थियो।'
पछि उनले रेस्टुरेन्टको काम छाडे, आफ्नो पढाइअनुसारको जागिरे भए। केमिकल कम्पनी 'डुपन्ट' मा सात वर्ष काम गरे। राम्रो कम्पनीको जागिर पनि राम्रै थियो। अमेरिकामा जीवन पनि राम्ररी चलेको थियो।
तर नवीनले त्यहाँको अति व्यस्त दिनचर्या त्यागेर स्वदेश फर्किने र आफ्नै व्यवसाय गर्ने विचार गरे।
'अमेरिकाको ग्रीनकार्ड, घर, गाडी र सब थोक भए पनि त्यहाँको जिन्दगी जिउन पुग्यो भन्ने महसुस हुन थाल्यो,' उनले भने, 'स्वदेश फर्किने अठोट गरेँ तर दिनको टुंगो थिएन।'
पढाइ र कामको सिलसिलामा अमेरिका बसेको १८ वर्ष भएको थियो।
यसपछि बल्ल दिन जुर्यो।
श्रीमती विनिता र दुई छोरालाई आफ्नो मनको कुरा सुनाए। विनितालाई भने सुरूमा अलमल थियो।
'अमेरिकामा सुरूका वर्ष संघर्षमै बिते। बल्ल केही राम्रो गर्ने बेला हुँदैछ भन्ने लागेको थियो,' विनिताले भनिन्, 'विभिन्न कारणले तत्काल नेपाल फर्किने कि नफर्किने भन्ने अन्योल थियो।'
नवीनले आफ्नो अठोट बदल्न सकेनन्। अन्ततः विनिता सहमत भइन्।
अनि सन् २०२२ मा उनीहरू स्वदेश फर्के।
नेपाल आइपुग्दासम्म पनि कामको कुनै टुंगो थिएन। कोरोनाको धङधङी बाँकी थियो। व्यवसाय सुरू गरिहाल्ने आँट भएन। बरू दुबै जनाले शिक्षण पेसामा लाग्ने विचार गरे।
अन्योलकै बीच नवीन आफ्ना पुराना साथीहरू भेट्न थाले। उनीहरूसँग सल्लाह लिए। उनका केही साथीहरू लाजिम्पाटमा व्यापारिक मार्ट खोल्ने योजनामा रहेछन्।
नवीनले बरू रेस्टुरेन्ट चलाऔं भनेर प्रस्ताव राखे। साथीहरू सहमत भइहाले। ६ जनाको टिम बनाएर रेस्टुरेन्ट खोले।
'शिक्षण पेसा विकल्पमा मात्र सोचेको थिएँ, मन त व्यवसायमै थियो,' नवीनले भने।
करिब एक वर्षअघि उनीहरूले 'द गजिबो ग्रील' नाम राखेर रेस्टुरेन्ट खोले। सोचेअनुसार व्यापार भने भएन। एक वर्ष नहुँदै नवीनलाई जिम्मा लगाएर साथीहरू बाहिरिए।
एक्लै भएपछि रिसाल दम्पतीलाई अन्योल भयो — रेस्टुरेन्ट चलाउनु कि छाड्नु!
नवीन अमेरिकामा सहज जीवन छाडेर आएका थिए, त्यसैले हिम्मत छाडेनन्।
दम्पतीले सल्लाह गरेर त्यही रेस्टुरेन्ट अलि फरक शैलीमा चलाउने निधो गरे।
'केही लगानी डुबिसकेको थियो तर जसरी पनि रेस्टुरेन्ट चलाउनु नै थियो,' नवीनले भने, 'अब केही नयाँ दिनुपर्छ, नाम पनि त्यसै अनुसारको हुनुपर्छ भन्ने सल्लाह भयो।'
उनीहरूले रेस्टुरेन्टको सजावट फेरे। परिसरमा हरियाली बढाए।
त्यही सिलसिलामा नवीनले अमेरिकाको चर्चित 'बफलो वाइल्ड विङ्स' नामको रेस्टुरेन्ट सम्झे। त्यहाँ कुखुराका पखेटा र मासुका करिब २५ परिकार देखेका र खाएका थिए।
नेपालमा भने उनले त्यो शैलीको रेस्टुरेन्ट देखेका थिएनन्। त्यसैले मासुकै परिकारको विशेष मेनु बनाए पक्कै ग्राहकको रोजाइमै पर्छ भन्ने लाग्यो। त्यसपछि रेस्टुरेन्टको नाम वर्ल्ड अफ विङ्स् (वाउ) राखे। चिकेन विङ्सलाई नेपाली परिकार बनाउन कम्मर कसेर अघि बढे।
एक महिनामा २१ वटा परिकारको मेनु तयार भयो।
दुई महिनायता नयाँ शैलीमा चलिरहेको यो रेस्टुरेन्टमा अब नवीन र विनिता नयाँ परिकार थप्ने तयारीमा छन्। नवीन रेस्टुरेन्टको किचन सम्हाल्छन्। व्यवस्थापनको पाटो विनिताको जिम्मामा छ।
रिसाल दम्पतीका साथ वाउमा अहिले दस जना कर्मचारीले काम गरिरहेका छन्।
वाउलाई विभिन्न स्वादमा मासुका परिकार पाइने गन्तव्य र ब्रान्ड बनाउने उनीहरूको लक्ष्य छ। भविष्यमा कुखुरा फार्म चलाउने वा राम्रो फार्मसँग सहकार्य गर्ने योजना पनि बनाएका छन्।
'अध्यापनमै लागेको भए पनि सन्तुष्टि त मिल्थ्यो होला तर अहिले आफ्नै ब्रान्ड बनाउने लक्ष्यका साथ रेस्टुरेन्ट चलाइरहेका छौं,' उनीहरू भन्छन्, 'अहिले दुबै जना खुसी छौं।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी