कोका–कोलाले नेपालमा सञ्चालन भएको ५०औं वर्ष मनाएको छ।
कम्पनीले एक विशेष कार्यक्रम गरी आफ्नो सञ्चालनको ५०औं वार्षिकोत्सव मनाएको हो।
सन् १९७३ मा नेपालमा प्रवेश गरेदेखि नै कोका–कोला नेपाली समुदायको एक अभिन्न अंग बन्न पुगेको थियो।
पारिवारिक जमघटदेखि राष्ट्रिय स्तरका कार्यक्रमसम्म कोका–कोलाले अविस्मरणीय सम्झनाहरू बनाएको कम्पनीको भनाइ छ।
काठमाडौं र चितवन गरी कोका–कोलाको नेपालमा दुईवटा उत्पादन कारखाना रहेका छन्। देशभर १ लाखभन्दा बढी रिटेलर आउटलेटहरू भएको कोका–कोलाले एक हजारभन्दा बढी कामदारहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको छ भने पाँच हजारभन्दा बढी मानिसहरू प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन्।
बोटलर्स नेपालका अध्यक्ष एन एन सिंहले भने, 'लजिस्टिक र संस्थागत संरचना पूर्ण रुपमा विकास नभएकाले ५० वर्षअघि नेपालमा पहिलो अमेरिकी कम्पनी भित्र्याउनु नै एक चुनौती थियो। हालसम्म आइपुग्दा कोका–कोलाले विभिन्न साझेदारसँग बलियो सञ्जाल बनाउन सफल भएको छ।'
'कोका–कोलाको उद्देश्य भनेको सारा नेपालीलाई ताजापन महसुस गराउने र समाजमा सकारात्मक प्रभाव पार्ने हो। कोका–कोलालाई माया गर्नुहुने सम्पूर्ण नेपाली ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाहरुलाई हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौँ।' उनले थपे।
५० औं वार्षिकोत्सवको उपलक्ष्यमा कोका–कोलाले 'कोका–कोला फिफ्टी इयर्स क्विज टाइम' नामक डिजिटल क्विज प्रतियोगिता पनि सञ्चालन गर्दैछ जहाँ ग्राहकहरूले विभिन्न प्रश्नको जवाफ दिएर लक्की ड्रमार्फत् आकर्षक उपहारहरू जित्ने मौका पाउन सक्नेछन्। खल्ती एप खोलेर यस क्विजमा सहभागी हुन सकिनेछ।
कोका–कोला नेपाल र भुटानकी हेड चन्द्रिका कालियाले भनिन्, 'हाम्रा लोकप्रिय ब्रान्डहरूप्रति नेपालीहरूले देखाउनुभएको मायाले हामी अत्यन्तै प्रभावित भएका छौँ। कोका–कोला कम्पनी नेपालको हितप्रति प्रतिबद्ध रहेको छ र हामी यस कम्पनीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिनुभएका कर्मचारी एवम् समुदायको जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धतालाई जारी राख्नेछौँ।'
कोका–कोलाले नेपालको सामाजिक तथा आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पारेको छ। २०१५ को भूकम्पको समयमा 'फेरि उठ्ने छ नेपाल' तथा कोभिड–१९ महामारीकाबीच 'स्टप द स्प्रेड' जस्ता प्रभावकारी एवम् सफल अभियानहरू सञ्चालन गरेको थियो।
महिलाहरूलाई उद्यमशीलतासम्बन्धी शिक्षा र तालिम दिने 'सक्षम' कार्यक्रममार्फत् कोका–कोलाले नेपाली समुदायसँगको संलग्नतालाई थप विस्तार गरेको छ।
कोका–कोला र एटेलियर प्लेटफर्मको सहकार्यमा सक्षमले पछिल्लो २ वर्षमा नेपालभर दुई हजारभन्दा बढी महिलालाई सशक्तिकरण गरिसकेको कम्पनीको भनाइ छ।
यस कार्यक्रममा सहभागी महिलाहरूलाई आफ्नो व्यवसाय स्थापना र व्यवस्थापन गर्नुका साथै आर्थिक स्वतन्त्रता प्राप्त गर्न र समुदायको सकारात्मक परिवर्तनमा योगदान दिन सक्षम हुन सहयोग गरेको छ।
साथै कोका–कोलाले ग्लोकल प्रालिसँगको साझेदारीमा 'युथ डाइलग' कार्यक्रम अन्तर्गत नेपालभरका थुप्रै कलेज र विश्वविद्यालयहरूसँग युवाको समग्र विकास तथा सशक्तिकरणमा पहल गरेको बताएको छ।
यस्तै, कोका–कोला फाउन्डेसनले वर्षौंदेखि वाटर एड, डब्ल्यू डब्ल्यू एफ, माइती नेपाल, डब्ल्यू एच आर, क्रिएजन, रोटरी क्लब अफ नागार्जुन, सेन्टर फर इन्टरप्रेन्योरसिप एन्ड इनोभेसन, वुमन फर ह्युमन राइट्स र केयर लगायत नेपालका प्रतिष्ठित अन्तर्राष्ट्रिय र स्थानीय गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै आएको छ। साथै जाजरकोटमा हालै गएको भूकम्पबाट प्रभावित समुदायलाई पनि कोका–कोला फाउन्डेसनले सहयोग गरेको छ।
कोका–कोलाले नेपाली हिम–श्रृंखलाहरूको सरसफाई एवम् संरक्षणमा पनि अटल भूमिका खेलेको छ। विगत ३ वर्षदेखि कोका–कोला फाउन्डेसनले नेपाली सेनाद्वारा सुरू गरिएको माउन्टेन क्लिन–अप क्याम्पेनमा सक्रिय रूपमा सहयोग गर्दै आइरहेको बताएको छ।
नेपालमा कोका–कोला कम्पनीको कोका–कोला लगायत फ्यान्टा, स्प्राइट, किन्ले, र चार्जड् जस्ता पेय पदार्थहरू उपलब्ध छन्।