अधिकांश व्यावसायिक कम्पनीहरू आफ्नो हिसाबकिताबका लागि ट्याली वा माइक्रोसफ्ट एक्सेल प्रयोग गर्छन्। अहिले बजारमा लेखाको विशेष सेवा दिने सफ्टवेयर कम्पनीहरू पनि चलेका छन्। तिनैमध्ये एक हो 'टिग'।
टिग बिआइसी (बिजनेस इन क्लाउड) टेक्नोलोजीको उत्पादन हो। यसले सेवाग्राहीलाई सदस्यता ढाँचामा सेवा दिने गरेको छ।
ट्याली र एक्सेलको विकल्पमा टिग निकै सहज हुने कम्पनीका एक सञ्चालक प्रार्थना साखः बताउँछिन्। सिक्न पनि धेरै कम समय लाग्ने उनले बताइन्।
'अकाउन्टिङ सफ्टवेयर टिग जम्मा बीस मिनेटमा सिक्न सकिन्छ,' प्रार्थनाले भनिन्, 'जबकि ट्याली र एक्सेल सिक्न कम्तीमा दुई महिना लाग्छ।'
उनका अनुसार लेखासम्बन्धी पढाइको पृष्ठभूमि नभएका व्यक्तिले पनि टिग प्रयोग गरेर आफ्नो अकाउन्ट मिलाउन सक्छन्। यसबाट आन्तरिक राजस्व विभागमा बुझाउनुपर्ने ढाँचाको रिपोर्ट तयार पार्न सकिन्छ। घरै बसेर कुनै झन्झटबिना अफ्नो कम्पनी वा व्यवसायको अद्यावधिक पोर्टफोलियो हेर्न सकिन्छ।
टिग एप आइफोन र एनड्रोइड फोन दुवै प्लेटफर्ममा उपलब्ध छ। यो एप प्रयोग गर्न चाहनेले सुरूमा आफ्नो कम्पनीको प्रोफाइल बनाउनुपर्छ। त्यसका लागि प्रोफाइल सेटअप गर्नुपर्छ।
प्रोफाइल सेटअप गर्न कम्प्युटर नै चाहिन्छ। मोबाइल फोनको स्क्रिन सानो हुने र विवरण भर्दा त्रुटि भए सच्याउन समस्या हुने भएकाले ल्यापटप वा डेस्कटप कम्प्युटर अनिवार्य गरिएको हो।
प्रोफाइल सेटअप गर्दा टिगमा केही विवरण दर्ता गराउनुपर्छ। विवरण उपयुक्त ठहरिएमा टिगका कर्मचारीले फोनमार्फत सम्पर्क गरेर प्रयोगका लागि स्वीकृति दिन्छन्। स्वीकृति पाएको व्यक्ति वा कम्पनी टिगको प्रयोगकर्ता हुन्छ। प्रयोगकर्ताले सुरूको १५ दिन निःशुल्क सेवा पाउँछ।
टिग सिक्न कम्पनीले 'ट्युटोरियल' भिडिओ उपलब्ध गराउँछ। कुनै कुरा प्रस्ट नभए वा थप जानकारी चाहिए टिगका कर्मचारीले सहयोग गर्छन्।
पन्ध्र दिनको निःशुल्क प्रयोगबाट सेवा चित्त बुझे टिगको वार्षिक सदस्यता लिन सकिन्छ। हाल सदस्यताको वार्षिक शुल्क २० हजार रूपैयाँ छ। यसबाहेक अलग अलग सेवा दिने, फरक फरक मूल्यका १८ वटा प्याकेज छन्।
प्रार्थनाका अनुसार सबै प्याकेजमा असीमित भण्डारण क्षमता उपलब्ध छ।
'झट्ट सुन्दा साना व्यवसायी र उद्यमीलाई २० हजार रूपैयाँ बढी लाग्न सक्छ। तर एक वर्षमा जति रकम अकाउन्टिङका लागि खर्च हुन्छ, त्यसको तुलनामा सस्तो पर्छ,' उनले भनिन्, 'टिगबाट ५० भन्दा बढी ढाँचामा रिपोर्ट तयार पार्न सकिन्छ। सफ्टवेयरमा भरेको विवरणअनुसार रिपोर्ट तयार हुने हो। प्रयोगकर्ताले छुट्टै रिपोर्ट बनाइराख्नु पर्दैन। आन्तरिक राजस्व विभागमा बुझाउनुपर्ने ढाँचामै रिपोर्ट तयार हुन्छ।'
टिग विद्युतीय बिजक सम्बन्धी कार्यविधि, २०७४ (चौथो संशोधन) का सबै आवश्यकताहरू अनुरूप भएको उनको भनाइ छ।
कतिपयलाई कम्पनीको आर्थिक विवरण टिग सञ्चाकलहरूको पहुँचमा पुग्ने र असुरक्षित हुने आशंका छ।
डेटा सुरक्षाबारे प्रार्थनाले भनिन्, 'डराउनै पर्दैन। टिगमा अपलोड हुने सबै डेटा इन्क्रिप्टेड हुन्छ। हेर्न, चोरी हुन वा परिवर्तन हुनबाट जोगाउन डेटा इन्क्रिप्सन प्रणाली छ। यो प्रणाली सुरक्षित मानिएको छ।'
टिग आइएसओ प्रमाणित कम्पनी हो। यो प्रमाणले पनि प्रयोगकर्ता सदस्यहरूलाई कम्पनीप्रति विश्वास गर्ने आधार दिएको उनको भनाइ छ।
टिग अकाउन्टिङ सफ्टवेयर क्लाउडमा आधारित छ। क्लाउडमा भएपछि इन्टरनेटको पहुँच भएको संसारको जुनसुकै कुनामा बसेर चलाउन मिल्छ।
'अकाउन्टिङ सफ्टवेयर भनेपछि कार्यालय गएर डेस्कटपमा सेट गर्नुपर्ने हुन्थ्यो। सफ्टवेयरमा केही समस्या भयो कार्यालयमै पुगेर बनाउनुपर्थ्यो,' क्लाउडबारे प्रस्ट पार्दै प्रार्थनाले भनिन्, 'क्लाउडमा आधारित भएपछि प्रयोगकर्ताले जहाँबाट पनि चलाउन सक्नुहुन्छ। सफ्टवेयरको समस्या छिट्टै समाधान हुन्छ, कार्यालयकै कम्प्युटरमा पुग्न जरूरी हुँदैन।'
टिग एकैपटक धेरै जनाले चलाउन पनि मिल्छ। तर इन्टरनेट भने अनिवार्य हुन्छ। प्रयोगकर्ताहरूले अफलाइन अर्थात् इन्टरनेट नभए पनि चलाउन मिल्ने बनाउन माग गरेका छन्। यस विषयमा छलफल भइरहेको उनले बताइन्।
हालसम्म टिगमा आबद्ध व्यावसायिक कम्पनीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका छन्। नेपालमा दर्ता भएका कम्पनीले मात्रै टिग चलाउन सक्छन्।
प्रार्थनाका अनुसार सन् २०२८ सम्ममा विदेशमा दर्ता भएका कम्पनीलाई पनि सेवा दिने लक्ष्य छ।
'अहिले नेपालमा प्रयोग हुने ढाँचामा रिपोर्ट तयार हुन्छ। भविष्यमा अन्य ढाँचा पनि समावेश गर्नेछौं,' उनले भनिन्, 'अबको पाँच वर्षमा टिगलाई अन्तर्राष्ट्रिय बनाउने लक्ष्य छ। मुख्य गरी दक्षिण एसियाका तीन वटा देशमा विस्तार गर्ने योजना छ।'
व्यवसायको हिसाब व्यवस्थित बनाउने सफ्टवेयर टिगले हाल टिग अकाउन्टिङ, टिग रेस्ट्रो र टिग रिटेल गरी तीन किसिमले सेवा दिएको छ। सुरूआत भने टिग अकाउन्टिङबाट भएको हो। बिआइसी टेक्नोलोजी अन्तर्गतको टिग सन् २०२१ को अन्त्यतिर सार्वजनिक गरिएको हो।
सुरूका दिनमा कम्पनीलाई बजार पाउन मुस्किल भएको थियो। व्यवसायीहरूलाई यसले काम गर्ने तरिका, विशेषता र डेटा सुरक्षा लगायत विषय बुझाउन निकै समय लाग्यो। बिस्तारै परीक्षण प्रयोग गर्दै जाँदा व्यवसायीहरूले भरोसा गर्न थाले। एक व्यवसायीले अर्कोलाई टिग चलाउन सल्लाह दिए।
करिब दुई वर्षमा टिगमा १५ सय व्यावसायिक कम्पनीहरू आबद्ध भएका छन्। ट्रेडिङ, थोक बजार, सेवा व्यवसाय, सूचना प्रविधि र उत्पादन क्षेत्रका कम्पनीहरू प्रयोगकर्ता भएको प्रार्थनाले जानकारी दिइन्।
विभिन्न क्षेत्रका व्यवसायी टिगमा आबद्ध हुँदा उनीहरूका प्राथमिकता र आवश्यकता फरक–फरक हुने नै भए। सोहीअनुसार दुई महिनाअघि टिग रेस्ट्रो र टिग रिटेल सार्वजनिक भएका हुन्।
'रेस्टुरेन्ट र रिटेल व्यवसायीले प्रत्येक दिन हिसाब इन्ट्री गर्नुपर्ने हुन्छ। रेस्टुरेन्ट र क्याफेहरूमा अर्डर र टेबल व्यवस्थापनमा पनि टिग प्रयोग गर्न सकिन्छ। टिग रिटेलबाट पसलका विभिन्न शाखाको हिसाब मिलाउन सहज हुन्छ,' प्रार्थना भन्छिन्, 'प्रयोगकर्ताको सजिलोका लागि टिग रेस्ट्रो र टिग रिटेल ल्याएका हौं। यसमा राम्रो प्रतिक्रिया पाएका छौं।'
टिग अकाउन्टिङ सफ्टवेयरले सन् २०२२ को आइसिटी अवार्डमा 'पिपल्स च्वाइस अवार्ड' पाएको छ।
सोही वर्षको क्यान इन्फोटेकमा 'उत्कृष्ट स्टार्टअप' उपाधि हासिल गरेको थियो।
टिग व्यवस्थापन र सञ्चालन सम्हाल्न प्रार्थनासहित १४ जनाको टिम छ। सफ्टवेयर विकास गर्ने टिम अलग्गै छ।
पछिल्लो समय बजारमा अकाउन्टिङ सफ्टवेयर कम्पनीको संख्या बढ्दो छ।नेपाली युवा उद्यमी मञ्च, काठमाडौंकी अध्यक्ष समेत रहेकी प्रार्थनाले यसलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट हेरेकी छन्।
'व्यवसायको क्षेत्रमा उच्च प्रविधिको प्रवेश राम्रो हो। यसले व्यवसायीको काम सहज बनाउँछ। कम्पनी धेरै हुँदा प्रयोगकर्ताले आवश्यकता र बजेटअनुसार छनौट गर्न पाउनुहुन्छ। कतिपय कम्पनी व्यापार गर्ने सोचले बजार प्रवेश गर्छन्। यस्तोमा प्रयोगकर्ताहरू ठगिने सम्भावना हुन्छ। सफ्टवेयर कम्पनी बन्द भइदियो भने व्यवसायीहरू मर्कामा पर्छन्। यो नकारात्मक पाटो हो,' उनले भनिन्।
यस्तो नकारात्मक प्रभाव पर्न नदिन सफ्टवेयर विकास गर्ने कम्पनी र सेवा लिने व्यवसायी दुवै सचेत रहनुपर्ने उनको भनाइ छ।
(टिग एपको वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्)