बाराका रोशन अन्सारी, धनुषाका रणधीर चौधरी, महोत्तरीका नितेश झा र रौतहटका रवि मिश्र मिल्ने साथी हुन्। पेसाले उनीहरू डाक्टर र इञ्जिनियर हुन्। तर एक वर्षदेखि एउटै व्यवसायमा जोडिएका छन्।
उनीहरू अहिले काठमाडौंवासीलाई स्वादिलो परिकार खुवाउने लक्ष्यसहित बिरयानी बनाइरहेका छन्। धोबीखोला करिडोरसँगै खोला किनारमै छ उनीहरूको 'बकेट बिरयानी'।
नामजस्तै यहाँ पाहुनाले मगाएपछि 'बकेट' अर्थात् बाल्टिनमा बिरयानी आइपुग्छ। तर नआत्तिनुस्, घरमा हुने जस्तो पानी हाल्ने ठूलो बाल्टिनमा आउँदैन। खानेकुरा खाने चुट्ट परेको, सानो बाल्टिन आकारको भाँडामा पस्केर दिइन्छ। झट्ट हेर्दा धेरैलाई नौलो पनि लाग्न सक्छ। तर बकेट बिरयानीको विशेषता नै यही हो। बकेटमा मन नलागे प्लेटमा राखेर पनि खान मिल्छ।
'हरेक व्यवसायका फरक विशेषता हुन्छन्। केही न केही त नौलो दिनुपर्छ,' सञ्चालकमध्येका एक रोशन अन्सारीले भने, 'हाम्रो अवधारणा चाहिँ भान्साबाट बाल्टिनमै राखेर हरेक टेबलमा बिरयानी पुर्याउनु हो।'
यहाँ हाल चिकेन र पनीर बिरयानी पाइन्छ। १८ वटा भन्दा बढी प्रकारका मसला राखेर लामो चामलको बिरयानी कसौंडीमा पकाइन्छ। दिनमा सय प्लेट हाराहारी बिक्री हुन्छ।
खाजाका लागि दुई सय रूपैयाँमा तीन सय ग्राम बिरयानी पाइन्छ। खानाका लागि चार सय ग्राम पाइन्छ जसको तीन सय रूपैयाँ पर्छ। यहाँ खाजाभन्दा पनि खानाका लागि बिरयानी बढी रूचाइएको रोशन बताउँछन्।
ठूलो मात्रामा आउने मागअनुसार, विभिन्न संघसंस्थाको कार्यक्रमहरूका लागि पनि उनीहरू बिरयानी तयार गर्छन्।
'हामी मुख्यगरी कार्यालयहरू लक्षित छौं। खाना नखानेहरूका लागि खाजाको प्याकेज छ,' रोशनले भने।
मानिसहरूले अचेल अनलाइनमार्फत पनि खानेकुरा अर्डर गर्छन्। बकेट बिरयानीमा पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट माग आउँछ। यसका लागि डेलिभरी कम्पनीहरूसँग सहकार्य गरेका छन्।
बकेट बिरयानीको स्वाद अन्त पाइनेभन्दा भिन्न रहेको पनि रोशन बताउँछन्।
'बिरयानी मीठो बनाउने भनेकै मसलाले हो। अन्त पाइनेभन्दा फरक मसला प्रयोग गरेकाले यहाँको स्वाद फरक छ,' रोशनले भने, 'छोटो समयमा धेरैले रूचाएका छन्।'
काठमाडौंबाहिरका यी चार साथी अहिले काठमाडौंवासीलाई बिरयानी खुवाउन लागिपरेका छन्। उनीहरूले पाँच जनालाई रोजगारी पनि दिएका छन्।
बकेट बिरयानीका सञ्चालकमध्ये नितेश डाक्टर हुन् भने रोशन एरोनटिकल इञ्जिनियर, रणधीर र रवि सिभिल इञ्जिनियर हुन्। उनीहरू चारै जना विभिन्न संघसंस्थामा काम गर्छन्। बिहान र बेलुकीको समयमा भेट्छन्। व्यवसायबारे छलफल गर्छन्।
'सुरूमा कामै छाडेर पनि बिरयानीलाई समय दिइयो। बिस्तारै चल्न थालेपछि हामी सबै आआफ्नो काममा फर्कियौं,' नितेशले भने, 'अनुभवी सेफ र कर्मचारी हुनुहुन्छ। हामी फुर्सदमा मात्र समय दिन्छौं।'
बकेट बिरयानीको अवधारणा भने रोशनको हो। बारा घर भएका उनलाई सानैदेखि बिरयानी खुबै मनपर्थ्यो। आमाले कुकरमा पकाएको बिरयानी खाएर हुर्केका उनलाई घर हुन्जेल बाहिर बिरयानी पाइन्छ कि पाइँदैन भन्ने पनि थाहा थिएन।
परिवारको सपनाअनुसार उनी एरोनटिकल इञ्जिनियर पढ्न सन् २०१५ मा भारतको बैंगलोर पुगे। त्यहाँ उनका केही साथी बने जो रेस्टुरेन्टमा काम गर्थे। एक दिन साथीकै निम्तोमा रेस्टुरेन्टमा खान गएका थिए। त्यहाँको मेनुमा बिरयानी देखे।
आमाले बनाएको बिरयानी नखाएको धेरै भइसकेको थियो। त्यसैले मगाए। तर त्यो बिरयानी उनको घरमा पाक्नेभन्दा फरक थियो। मरमसला पुगेको, लामो चामलबाट बनेको।
'घरको बिरयानीमा त्यति धेरै मसला हुँदैन थियो,' उनले भने, 'बिरयानी भनेको यो चाहिँ हो भन्ने महसुस भयो।'
बैंगलोरमा उनी हरेक आइतबार बाहिर खान्थे। रोजाइ बिरयानी नै भयो। बैंगलोरकै विभिन्न रेस्टुरेन्ट र भारतका अरू सहर पुगेर पनि उनले बिरयानी चाखे।
पढाइ सकेर चार वर्षपछि उनी स्वदेश फर्किए। बैंगलोर छाडे पनि बिरयानीको स्वाद जिब्रोमा बसिरह्यो। कहिलेकाहीँ घरमै बनाएर खाए। केही समयपछि उनी काठमाडौं आए। परिवारको चाहना सरकारी जागिर खाओस् भन्ने थियो। उनी लोक सेवा तयारीमा लागे।
कोरोना फैलिएपछि भने रोशनको योजना बदलियो। उनी बुद्ध एयरलाइन्समा एरोनटिकल इञ्जिनियरका रूपमा काम गर्न थाले।
जागिरे दैनिकीबाट फुर्सद मिल्दा काठमाडौंमै रहेका साथीहरू रणधीर, नितेश र रविसँग भेटघाट भइरहन्थ्यो। चिया गफमा व्यवसायको योजना पनि बन्थ्यो।
'साथीहरू रेस्टुरेन्ट वा कफी सप खोल्ने कुरा गर्थे। मलाई भने त्यसमा खास आइडिया थिएन। हुन्छ पनि भन्न नसक्ने, हुँदैन पनि भन्न नसक्ने अवस्था थियो मेरो,' रोशनले भने।
हरेक चिया गफमा फरक व्यवसायको कुरा हुन्थ्यो। त्यस्तैमा एक दिन रोशनले बिरयानीको आइडिया ल्याए। अरू तीन साथीहरूले खोजबिन गरे। काठमाडौंमा बिरयानी रूचाइँदै गएको थाहा पाए।
'तर राम्रो बिरयानी कम्तीमा पाँच सय रूपैयाँ प्लेट पर्ने रहेछ। त्यसैले कम मूल्यमा वास्तविक स्वादको बिरयानी दिने योजना बनायौं। हामी सबैको कुरा मिल्यो,' उनले भने।
तर अरूको भन्दा फरक चाहिँ के दिने त?
धेरै सोचेपछि बाल्टिनमा बिरयानी पस्केर दिने सोच आयो। त्यहीअनुसार नाम बकेट बिरयानी राखे। चार जना मिलेर १२ लाख रूपैयाँ लगानी गरे। एकपटकमा १८ जना बसेर खान मिल्ने ठाउँ खोजे। भारतबाट एक अनुभवी सेफ ल्याए। अनि २०७९ पुसमा बकेट बिरयानी सुरू भयो।
सुरूआती महिनाबाटै ग्राहकले बिरयानी रूचाएको अर्का सञ्चालक नितेश बताउँछन्।
'सुरूमै सोचेभन्दा राम्रो भयो। बसेर खाने ठाउँ नै भएन,' उनले भने, 'तीन महिनापछि बस्ने ठाउँ बढायौं। अहिले ५० जनाभन्दा बढीले एकैपटक बसेर खान मिल्छ।'
बकेट बिरयानीका सञ्चालकहरूका अनुसार धेरैले यसको फ्रेन्चाइज पनि मागिरहेका छन्। तर उनीहरू तत्काल दिने सोचमा छैनन्।
'बरू धेरै स्वादको बिरयानी मात्र पाइने ठूलो रेस्टुरेन्ट खोल्ने सोच छ,' उनीहरू भन्छन्।
तस्बिरहरूः नवीनबाबु गुरूङ/सेतोपाटी