केही अनुभव, केही फरक धारणा र अठोट भयो भने व्यवसायमा सफलता हासिल हुन्छ। यही मान्यताले हस्पिटालिटी व्यवसायमा अघि बढेका छन् नवलपरासीका सुदर्शन पौडेल।
देश–विदेशको अनुभव बटुलेका सुदर्शन काठमाडौंस्थित 'लभी गार्डेन' का सञ्चालक हुन्। चार वर्षदेखि उनले लभी गार्डेन, लभी रेसिडेन्स र लेकाली भोज थकाली चलाइरहेका छन्।
केही महिनायता उनी सेकुवाको परिकार पस्किँदै छन्। विशेष गरी मांसाहार गर्नेहरूलाई लक्षित गर्दै उनले 'जिग्री सेकुवा' नामको रेस्टुरेन्ट खोलेका हुन्।
'जिग्री भनेको गहिरो मित्रता भएको साथी हो। साथमा पैसा नहुँदा पनि आत्मीय साथीहरू जिग्री बन्छन्,' उनी भन्छन्, 'जिग्रीहरू मिलेर खाने ठाउँ हो यो।'
यहाँ पोर्क, मटन, चिकेनका साथै आलु, लसुन र सागको सेकुवा पाइन्छ।
सुदर्शनका अनुसार यहाँका सेकुवामध्ये 'मोले–पोलेको' सबभन्दा धेरै रूचाइएको छ। विभिन्न मरमसला राखेर मासु मोल्ने र आगोमा पोल्ने भएकाले यसको नाम 'मोले–पोलेको' भएको हो। यसलाई मेनुमै 'जिग्रीको मनपर्ने परिकार' लेखिएको छ।
यहाँ खसीको भुटन र बोकाको मासुको ग्रेभी पनि पाइन्छ।
जिग्री सेकुवाको अर्को विशेषता 'जिग्रीसँग प्लाटर' हो। यसमा माछा, छोयला, म्याजिक आलु, खसीको भुटन हुन्छ।
त्यस्तै 'जिग्रीको फेभरेट' मा कुरकुरे शैलीमा तारेर बनाएको म्याजिक आलु परिकार छ। चटपट, मसरूम छोयला, साँधेको मकै, मुस्ताङ आलु, चिकेन दिवाना, टिमुरे चिकेन, हाँसको छोयला लगायतका परिकार पनि बन्छन्।
'जिग्रीहरूले धेरै रूचाएको परिकार चिकेन दिवाना पनि हो। हाम्रै अर्गानिक मरमसला राखेर बनाइन्छ। यो जिग्री सेकुवामा मात्र पाइने विशेष परिकार हो,' सुदर्शनले भने।
देशका धेरै ठाउँ पुगेर उनले यी परिकारको जानकारी लिएका हुन्। उनी विभिन्न ठाउँको विशेष परिकार खास स्वादको बनाएर ग्राहकका लागि पस्किरहेका छन्।
सेकुवासँगै 'राइस बल' पनि पाइन्छ। खाइपिई गरेर फेरि घर गएर भात खानु नपरोस् भनेर राइस बल व्यवस्था गरिएको हो।
जिग्री सेकुवा गत वैशाखमा काठमाडौंको बुढानीलकण्ठमा सुरू भएको थियो। त्यसयताको आठ महिनामा ६ ठाउँमा सेवा सुरू भएको छ।
सुदर्शनका अनुसार आर्थिक मन्दीले जिग्री सेकुवा जन्माएको हो।
'थोरै कर्मचारीले चलाउन सक्ने सानो व्यवसायका रूपमा जिग्री सेकुवा आएको हो,' उनले भने, 'जिग्रीको अवधारणा नै संकटसँग जुध्ने भन्ने हो।'
कोरोनाले होटल व्यवसाय सुस्ताएको थियो। देश आर्थिक संकटमा जाँदैछ भनेर दिनहुँ कुरा हुन्थ्यो। त्यही बेला थोरै खर्चमा खान पाइने रेस्टुरेन्ट कसरी चलाउने भन्ने सोचे।
'कम खर्चमा टन्न खान पाइने ठाउँ खोजिरहेका ग्राहकका लागि जिग्री सेकुवा ल्याउने सोच आयो,' उनले भने।
निकै लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा रहे पनि सुदर्शन आफू भने सेकुवा खाँदैन थिए। तैपनि सेकुवाका पारखीका लागि सेवा दिने सोचे। अनेक ठाउँमा पुगेर बनाउने तरिका र स्वादबारे खोज गरे। पोर्क, मटन, चिकेन सेकुवा खाए। ठाउँठाउँका खासखास परिकार खोजी गरे। सागको सेकुवा पनि चाखे।
एक महिना घुम्दा गाउँघरका छाप्रोमा पाइने सेकुवाको स्वाद उनको जिब्रोमा झुन्डियो। ठाउँअनुसार सेकुवाको स्वाद पनि फरकफरक पाए। आफूलाई खुब स्वादिलो लागेको सेकुवा बनाउने तरिका बुझे। मसला तयार गर्ने विधि पनि सोधे।
'केही दिन त दिनभर सेकुवा खाएँ। बनाउने तरिका पनि सोधेँ। जिब्रोमा स्वाद बोकेर फर्केँ,' उनले भने।
अनि आफैंले सेकुवा बनाएर आफ्ना केही जिग्रीहरूलाई खुवाए। उनीहरूले मन पराएपछि बीसवटा परिकार तय गरे। तिनको नाम जुराएर मेनु पनि बनाए। त्यो बेलासम्म उपयुक्त ठाउँ भने भेटिएको थिएन।
ठाउँ खोजीमा घुम्दै गर्दा रामु शर्मा र विजय महर्जनसँग भेट भयो। रामु उनका बाल्यकालदेखिका जिग्री थिए। विजयसँग कामको सिलसिलामा कतारमा चिनजान भएको थियो। तीन जनाको भेट बाक्लियो। रामु र विजय बुढानीलकण्ठमा रेस्टुरेन्ट चलाउँदै थिए तर व्यवसाय सन्तोषजनक थिएन।
'दुई जिग्रीहरू त रेस्टुरेन्ट बन्द गरेर फेरि विदेश जाने पो सोचिरहेका रहेछन्। मैले मेरो आइडिया सुनाएँ,' सुदर्शनले भने, 'दुवैले मन पराए। त्यही रेस्टुरेन्टमा जिग्री सेकुवा चलाउन अघि सरे।'
सुदर्शन जिग्री सेकुवा आफैं सुरू गर्न चाहन्थे। तर आफ्नै जिग्रीहरूले हामीलाई देऊ भनेपछि टार्न सकेनन्। उनले तयार गरेको मेनुसहित रामु र विजयले जिग्री सेकुवा सुरू गरे।
त्यसको ब्रान्ड भने सुदर्शनले आफ्नै स्वामित्वमा राखे। फ्रेन्चाइज दिन पाउने अधिकार उनको भयो।
छोटो समयमै जिग्री सेकुवा धेरैको रोजाइमा पर्यो। विदेशबाट फर्किएका युवाले ललितपुरको झम्सिखेलमा फ्रेन्चाइज चलाएका छन्। कपनमा सुदर्शन आफैंले चलाउँछन्। यसमा उनको ८० प्रतिशत लगानी छ। जोरपाटीमा पनि फ्रेन्चाइज सुरू भएको छ। शान्तिनगरमा पनि खुल्दै छ।
नाम अनुसारको खाना र सेवाका कारण जिग्री सेकुवा रोजाइमा परेको उनको भनाइ छ।
सुदर्शन आफ्ना रेस्टुरेन्टको व्यवस्थापनमा तल्लीन रहन्छन्। १४ वर्षयता हस्पिटालिटीमा रमेका र जमेका छन्।
उनी बाल्यकालदेखि नै होटलप्रति आकर्षित थिए। उनका एक जना आफन्त होटल चलाउँथे। उनी त्यहाँ गइरहन्थे। होटलले गर्ने सेवा र सत्कार उनलाई मनपर्थ्यो।
एसएलसी दिएर १७ वर्षअघि उनी काठमाडौं आए। होटल म्यानेजमेन्ट विषयमा स्नातक पूरा गरे। पढाइकै सिलसिलामा केही होटलमा काम गरे। पछि उनी पूर्ण रूपमा काममा लागे। रोजगारीका लागि सन् २०११ मा दुबई पुगे। त्यहाँ एक वर्ष काम गरेपछि कतार गए। कतार एयरवेजको कफी सपमा अवसर पाए।
काम गर्दै पढ्ने तयारी गरे। 'मास्टर्स इन इन्टरनेसनल हस्पिटालिटी' विषय पढ्न पाँच वर्षका लागि अस्ट्रेलिया गए। काम गर्दै पढ्ने क्रममा त्यहाँको 'र्याडिसन ब्लु' होटलमा म्यानेजर तहसम्म पुगे।
काम र कमाइ दुवै राम्रो थियो। उतै बस्ने विचारले पिआर (स्थायी बसोवास अनुमति) पाउन आवेदन गरे। तर एकाएक उनको विचार बदलियो। केही लगानीका साथ मेहनत गरेँ भने विदेशी भूमिमा भन्दा राम्रो स्वदेशमै हुन्छ, स्वदेशमै इज्जत हुन्छ भन्ने सोचे।
त्यही सोचले उनी पिआरको आवेदन फिर्ता लिएर सन् २०१९ नोभेम्बरमा नेपाल फर्के। कोरोना चलेकै समयमा उनले 'लभी गार्डेन' सुरू गरे। चार रोपनी क्षेत्रफल भएको होटल परिसरमा प्राकृतिक बगैंचा बनाए। आवासको सुविधा थपे।
उनका अनुसार लभी गार्डेन स्वदेशी र विदेशी पाहुनाले निकै रूचाएका छन्। उनले चलाएको लेकाली भोज थकालीमा नेपाली खानाका अनेक परिकार पाइन्छन्।
हस्पिटालिटी क्षेत्रमा विदेशबाट फर्केकाहरूलाई सहयोग गर्ने चाहना छ उनको। त्यसैले आफ्ना रेस्टुरेन्टलाई लोकप्रिय ब्रान्ड बनाउन कम्मर कसेर लागेका छन्।
'स्वादिलो खाना, चुस्त व्यवस्थापन र निष्ठावान कर्मचारी हुनुपर्छ,' सुदर्शनले भने, 'आत्मीय सेवा र सफा वातावरण हुनुपर्छ। मूल्य पनि उचित हुनुपर्छ। पार्किङको पनि महत्त्व हुन्छ। यी सबै कुरा ध्यानमा राखे रेस्टुरेन्ट चल्छ।'
तस्बिरहरूः नवीनबाबु गुरूङ/सेतोपाटी